एउटा नाकाबाट ल्याउन एलसी खोलिएको सामान अर्कै नाकाबाट भित्र्याउन पाइने

  २०७३ भदौ ६ गते ६:०९     विकासन्युज

काठमाडौं, ६ भदौ । अबदेखि सामान आयात गर्दा जुन भन्सारवाट पनि ल्याउन पाइने भएको छ । यसअघि एलसी खोल्दा तोकिएको भन्सार नाकाबाट मात्रै सामान भित्र्याउन पाउने ब्यवस्थामा पुनरावलोकन गर्दै यस्तो ब्यवस्था गरिएको हो ।

नेपाल राष्ट्र बैंकले आइतवार निर्देशन जारी गर्दै एउटा भन्सार नाकाबाट सामान भित्र्याउने भनिए पनि सामान आइपुग्दासम्म अर्कै नाकाबाट भित्र्याउनु पर्ने अवस्था आए त्यसो गर्न सकिने ब्यवस्था गरिएको जानकारी दिएको छ ।

गत वर्ष तराई मधेस केन्द्रित केही राजनीतिक दलले वीरगन्ज भन्सार नाकामा अवरोध गरेपछि नाका परिवर्तन (रिरुट) गरेर सामान नेपाल भित्र्याइएको थियो । यसरी भन्सार नाका परिवर्तन गर्न प्रक्रियागत झन्झट भएको कारण यस्तो ब्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसअघि भन्सार नाका परिवर्तन गरेर सामान भित्र्याउन वाणिज्य मन्त्रालय, नेपाल राष्ट्र बैंक र भन्सार कार्यालयमार्फत अर्थ मन्त्रालयको पनि स्वीकृति चाहिन्थ्यो ।

अब भने एलसी खोल्ने बैंकले कागजात हेरेर औचित्यको आधारमा जुन भन्सार नाकाबाट पनि भित्र्याउन पाइने गरी ब्यवस्था मिलाउन सक्ने भएको छ । यस्तो ब्यवस्थाले बाणिज्य विभागको अनावश्यक झन्झट हटेको छ ।

‘प्रत्येक भन्सार बिन्दुबाट सामान आयात गर्दा हुने मालवस्तुको परिमाण र रकम प्रतीतपत्र (एलसी)मा स्पष्ट खुल्ने अवस्थामा सम्बन्धित बैंकहरूबाट मालवस्तुको आयात भए/नभएको अनुगमन गर्ने गरी आयात गरिएका मालवस्तु एकभन्दा बढी भन्सार बिन्दुबाट पैठारी गर्न सकिनेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।

नयाँ व्यवस्थाअनुसार कुनै भन्सार कार्यालयबाट मालवस्तु पैठारी गर्ने गरी एलसी खोलेको, तर कारणवश सो भन्सार कार्यालयको सट्टा अन्य भन्सार कार्यालयबाट पैठारी गर्नुपर्ने अवस्था परे सम्बन्धित आयातकर्ताबाट भन्सार परिवर्तन गर्नुपर्ने औचित्य पुष्टि हुने कागजात लिई एलसी खोलेको बैंकले पैठारी हुने भन्सार नाका संशोधन गरेको प्रमाण पैठारी हुने भन्सार कार्यालयमा पेस गर्नुपर्नेछ ।

यसरी, पैठारी हुने भन्सार बिन्दु परिवर्तनका लागि अन्य निकायको अनुमति वा सिफारिस आवश्यक पर्नेछैन । यस प्रयोजनका लागि एकपटक फाराम जारी भइसकेपछि सोको सक्कल प्रति प्राप्त नभई अर्काे फारम जारी गर्न भने पाइनेछैन ।

अबदेखि पनि पैठारी हुने मालवस्तुका लागि एलसी खोल्दाकै अवस्थामा भन्सार बिन्दु भने उल्लेख गर्नुपर्नेछ । यसअघि पनि यस्तै व्यवस्था थियो । एलसी खोलेर भारतबाट मालसामान आयात गर्दा समेत यस्तो व्यवस्था लागू हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.