तीन वायुसेवाको उडान बन्द, ६ वटा जहाज ग्राउण्डेड

  २०७३ भदौ ६ गते ८:१४     विकासन्युज

काठमाडौं, ६ भदौ । नेपालका चल्तीका तीन वटा वायुसेवाको उडान बन्द भएको छ । दुईवटा वायुसेवाको उडान संचालन अनुमति (एओसी) खारेज भएको छ भने एउटा वायुसेवाको एओसी भएर पनि जहाज नहुँदा उडान हुन सकेको छैन ।|

नियमति उडानको आन्तरिक वायुसेवा सिम्रिक एयरलाइन्ससँग उडानयोग्य चारवटा जहाज भएपनि एओसी नवीकरण नभएको कारण एक सातादेखि उडान बन्द छ । सिंगल इन्जिनका अन्य दुईवटा वायुसेवा मकालु एयर र एयर काष्टमण्डपको पनि उडान संचालन हुन सकेको छैन । यी दुई सिंगल इन्जिनका दुबै वायुसेवाको एकएक जहाज दुर्घटना भएपछि बाँकी जहाज ग्राउण्डेड भएका हुन् ।
simrik-airlines

नियमति उडानको सिम्रिक एयरलाइन्सले १५ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट उडान इजाजतपत्र (लाइसेन्स) नवीकरण नगराएका कारण गत साउन ३१ गते आइतबारदेखि उडान बन्द छ । यो वायुसेवाको १५  महिनासम्म अनुमति नवीकरण नभएपछि चलिरहेकै वायुसेवा भएपनि अनुमति खारेजीमा पुगेको हो ।

पर्यटन मन्त्रालयका सचिव प्रेमकुमार राईले मन्त्रालयले दिएको चार वर्षको अनुमतिपत्रलाई सिम्रिकले १५ महिनाको समय दिदाँसम्म नवीकरण गरेन । चार वर्षे इजाजतको म्याद सकिएको एक वर्षसम्म नवीकरण नभए स्वतः खारेजीमा जाने नियम रहेको उनले बताए । सिम्रिकलाई पछिल्लो पटक तीन महिनाको समय दिइसकेको र सो समयमा पनि अनुमति नवीकरण नगरेका कारण स्वतः खारेजमा गएको तर्क राईले संचार माध्यमार्फत दिएका छन् ।

सिम्रिकले भने भूकम्प र नाकाबन्दीका कारण समयमा नै नवीकरण गर्न नभ्याएको र मानवीय त्रुटिका कारण नवीकरण फेल हुँदा उडान नै बन्द गर्नुपरेको बताएको छ । यो वायुसेवाले पर्यटन सचिव स्तरबाट आवश्यक पहल नभएका कारण एक पटककालागि भन्दै मन्त्रिपरिषद्सम्म नै आफ्नो इजाजत नवीकरणको फाइल अगाडि बढाउन लगाएको छ ।

एयरलाइन्सको अनुमति खारेजी प्रकृयामा गएकोले र पर्यटन मन्त्री नियुक्त नभएकोले पनि सिम्रिकको काम पर्यटन मन्त्रालयबाट हुन नसकेको मन्त्रालय स्रोतको भनाइ । मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्रीपरिषद्ले मात्रै लाइसेन्स नविकरण गर्न सक्छ, अन्यथा सिम्रिक एयरले नयाँ वायुसेवाकै प्रकृयामा नयाँ अनुमति लिनुपर्छ । नयाँ वायुसेवाको लाइसेन्स लिनु पर्दा २० करोड रुपैयाँको चुक्ता पूँजी, २० लाख रुपैयाँ बैंक ग्यारेन्टी, १० हजार निवेदन शुल्क, हरेक उडान रुटको लागि ३० हजार रुपैयाँसहित आवेदन दिनुपर्ने पनि मन्त्रालयको भनाई छ ।

समस्यामै परेको वायुसेवालाई उद्धार गरेर सिम्रिक सुरु
सिम्रिक एयरलाइन्सका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले घरजग्गाबाट डुब्न लागेको राजेद्र शाक्यको गुण एयरलाइन्सलाई किनेर सिम्रिक एयरलाइन्स बनाएका हुन । चार वर्ष अगाडि घरजग्गा कारोबारबाट आर्थिक समस्यामा परेपछि शाक्यको ऋण स्वाप गरेर (सकारेर)  थापाले गुण एयरलाइन्स लिएका हुन । गुणमा त्यतिबेला दुई वटा वायुसेवा थियो । गुणले घरजग्गा समस्याकै कारण एउटा जहाज बेचेर दुईवटा बाँकी बनाएपछि सिम्रिकले किनेको हो ।

गुणको ७५ प्रतिशत शेयर लिएर संचालन सुरु गरेको सिम्रिकले तीन वर्ष अगाडि मात्रै अग्नि एयरका जहाज पनि संचालन गर्न थालेका हुन । घरजग्गा कारोबारबाटै समस्यामा परेको सुधिर बस्नेतको वायुसेवा अग्नि बन्द भएपछि सिम्रिकले संचालन गरेको हो । अग्निका पाँचवटा जहाज भएपनि सिम्रिकले दुईवटा मात्रै आवश्यक मर्मत गरेर उडाएको थियो । हाल दुईवटै सिम्रिकले आफ्नो बनाइसकेको छ ।

सिम्रिक एयरलाइन्स संचालन गर्नु पहिले थापाको सिम्रिक एयर नामको हेलिकोप्टर कम्पनी रहेको थियो । यो अहिले पनि संचालनमै छ । डेढ दशकदेखि हेलिकोप्टर संचलान गरिररहेका थापाले यो हेलिकोप्टर संचालनको सुरुवात पनि तत्कालिन कर्णाली एयरको हेलिकोप्टर  किनेर उड्डयन क्षेत्रको व्यवसाय सुरु गरेका हुन । कर्णाली एयर आर्थिक समस्यामा परेपछि थापाले नै उद्दार गरेका हुन । हेलिकोप्टर र एयरलाइन्सको सुरुवात नै अरुलाई अप्ठारो पर्दा उद्दार गरेर भएको भएपनि अहिले मानवीय त्रुटि र हेलचेक्राइका कारण थापाको वायुसेवा सिम्रिकको उडान बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

air-kasthamandap1

मकालुसँग जहाज अभाव र काष्टमण्डपको अनुमति रद्द

सिंगल इन्जिनको वायुसेवा मकालुको एउटा जहाज गत साउन २० गते दुर्घटना भएपनि यो वायुसेवासँग एउटा मात्रै जहाज रहेको छ । यो एउटा जहाज पनि प्राविधिक समस्याका कारण बिग्रिएर थन्किएकोले एक महिनादेखि नै उडानमा छैन । काष्टमण्डप एयरको पनि गत फागुनमा एउटा जहाज दुर्घटना परेपछि अर्को एउटा बिग्रिएर थन्किएको थियो । makalu_1काष्टमण्डपको फागुनमा भएको जहाज दुर्घटनाको नेपला नागरिक उड्डयन प्राधिकरणल आवश्यक जाँच गर्दा उडान मापदण्ड पूरा नगरेको पाइएकोले भएको अर्को एउटालाई पनि उड्न निदएको छैन ।
प्राधिकरणका अनुसार प्राधिकरणले यो वायुसेवाको सुरक्षाकै लागि उडान अनुमति रद्द गरेको हो । आवश्यक मापदण्ड पूरा गरेर आएको अवस्थामा उडान अनुमति नवीकरण हुनसक्ने प्राधिकरण स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.