बजार अनुगमन व्यावहारिक बनाउन निजी क्षेत्रको आग्रह

  २०७३ भदौ ७ गते १२:०५     विकासन्युज

काठमाडौं, ७ भदौ । पछिल्लो समय सरकारले गरेको बजार अनुगमन कार्यलाई व्यवस्थित गर्न निजी क्षेत्रले आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सले आज यहाँ आयोजना गरेको अन्तर्कृयामा नेपाल उद्योग वाणिज्य महासङ्घ, चेम्बर, नेपाल उद्योग परिसङ्घलगायतका संस्थाले अनुगमनका नाममा व्यापारीलाई आतङ्कित गराएको आरोप लगाएका थिए ।

Interaction_on_Supplyअनुगमनमा जाने सरकारी अधिकारीको व्यवहार आपत्तिजनक र व्यापारीको अपमान गर्नेतर्फ उत्प्रेरित भएको भन्दै उनीहरुले त्यसलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिएका हुन् ।

व्यवसायीको आग्रहपछि आपूर्ति सचिव श्रीधर आचार्यले सरकारले निजी क्षेत्रलाई कहिले पनि अपमान नगरेको स्पष्ट पार्दै व्यापारका नाममा गलत गर्नेलाई कानुनी दायरामा ल्याउन अनुगमन गरिएको बताए । उनले अपमानजनक व्यवहार गर्ने सरकारी अधिकारीलाई कारबाही गरिनेछ भने ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले भने, “अनुगमनमा जानेले व्यापारीलाई अपराधीजस्तो गर्नु भएन, व्यापारीलाई अपमान गरेर अनुगमन हुँदैन ।” चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले अनुगमनमा जाने सरकारी अधिकारीलाई अनुगमनको पद्धति एवम् नियमका विषयमा प्रष्ट पारेर पठाउन आग्रह गरे ।

खुद्रा व्यवसायी सङ्घका अध्यक्ष पवित्रामान बज्राचार्यले बजार अनुगमनलाई व्यवसायीमैत्री बनाउन आग्रह गरे । अन्तर्कृयामा अन्य सहभागी व्यवसायीले म्याद नाघेका खाद्य सामग्री अलग्गै राख्न पाउनुपर्ने, भण्डारणको समयसीमा तोकिनुपर्ने, अनुगमनका लागि स्थायी संयन्त्र बनाउनुपर्नेलगायतका माग राखेका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.