निलम्बित कार्की अझैं अख्तियार चलाउँदै, प्रमुख आयुक्तसरह नियमित गतिविधि गर्दै

  २०७३ कार्तिक ६ गते ७:२८     विकासन्युज

काठमाडौं ६, कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले टंगालस्थित कार्यालय परिसरबाटै अख्तियार सञ्चालन गरेको भेटिएको छ । आयोग मुख्यालयसँगै रहेको परिसरबाटै कार्कीले प्रमुख आयुक्तले झैं नियमित गतिविधि गरिरहेका छन् ।

कार्कीले शुक्रबार कर्मचारीको विदेश भ्रमणसम्बन्धी निर्णय गरेको स्रोतले बतायो । निलम्बन हुनुअघिको मिति राखेर कार्कीले कर्मचारीहरू कोरिया पठाउने सूची स्वीकृत गरेका हुन् । फाइल लिएर अख्तियारका सहसचिव बेगेन्द्र शर्मा पौडेल कार्कीको निवास पुगेका थिए ।

कार्कीको कार्यकक्ष र सचिवालयमा रहेका महत्त्वपूर्ण फाइल र प्रमाणका कागजात निवासमा पुर्‍याइएको स्रोतले बतायो । अधिकांश ठूला, संवेदनशील र महत्त्वपूर्ण मुद्दाका अनुसन्धान अधिकृतले सोझै प्रमुख आयुक्त कार्कीलाई ब्रिफिङ गर्थे ।lok-man

‘प्रमुखको निजी सचिवालयमा अहिले खासै कुनै कागजात छैन,’ स्रोतले भन्यो, ‘सबै ओसारेर निवासमा पुर्‍याइएको छ ।’

कार्कीविरुद्ध महाअभियोग प्रस्ताव संसद्मा दर्ता भएपछि पनि आलोचक र विरोधीमाथि निगरानी र गोप्यताको जासुसी गर्न प्रयोग भएको टिम झनै सक्रिय भएको स्रोतले बतायो । स्रोतका अनुसार यसबीचमा कतिपयको फोनको ‘कल डिटेल’ हेर्ने र म्यासेजका विवरण तान्ने काम भइरहेको छ । यस्ता विवरण टंगाल परिसरस्थित कार्कीकै निवासमा पुर्‍याइन्छ ।

शुक्रबार आयोग कार्यालय खुल्नासाथ कान्तिपुर संवाददातालाई सूचना दिएको भन्दै सोधपुछ भइरहेको थियो । गोप्य ढंगले कान्तिपुरको सम्पर्कमा आएका एक उपसचिवले सामान्य भलाकुसारी गरेकै कारण आफूमाथि अप्ठेरो परेको बताए ।

कार्कीसँग निकट रहेर काम गरेका आयुक्त राजनारायण पाठकले आयोगभित्रका गतिविधिबारे उनलाई भेटेर जानकारी गराइरहेका छन् । कार्कीले नियमित काम कारबाही नगरे पनि आयोगका सुरक्षाकर्मी, उनीप्रति बफादार सचिवालयका कर्मचारी छन् ।

उनले विशेषज्ञका रूपमा नियुक्त गरेका केही व्यक्तिले हरेक महाशाखाको निगरानी गरिरहेको स्रोतले जनाएको छ । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.