अस्तव्यस्त कलंकी चोक स्वरूप फेरिँदै, कलंकी चोकमा १६ मिटरको सबवे बन्दै

  २०७३ कार्तिक ७ गते ८:२५     विकासन्युज

काठमाडौं, ७, कात्तिक । राजधानी भित्रिने र बाहिरिने मुख्य प्रवेशद्वार कलंकीले चाँडै आफ्नो स्वरूप फेर्ने भएको छ । विनाअवरोध काम अघि बढे कलंकी चोकले अबको डेढ वर्षभित्र रूप फेर्नेछ ।

विनाअवरोध सवारीसाधन आवागमन गर्न सक्नेछन् । यात्रुले घन्टौँ ट्राफिक जामको समस्या झेल्नुपर्ने छैन । यसका लागि सडक विभाग निर्माण कार्यमा जुटिसकेको छ।

चिनियाँ सरकारको सहयोगमा विभागले कलंकी चोकको रूप फेर्न लागेको हो । सडक विभागले कलंकी चोकको निर्माण कार्यमा चिनियाँ ठेकेदार कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपलाई जिम्मेवारी दिएको छ ।

ठेकेदार कम्पनीको आग्रहपछि विभागले कलंकीस्थित ओभरहेड ब्रिज हटाइसकेको छ । कलंकी चोकलाई अत्याधुनिक बनाउन आसपास रहेका संरचनासमेत हटाइसकिएको छ ।kalanlki-road

काठमाडौं चक्रपथ विकास आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाका अनुसार अबको केही वर्षभित्रै कलंकी चोक नयाँ बन्नेछ । ‘कलंकी चोकले डेढ वर्षभित्रै स्वरूप फेर्नेछ ।

कलंकी चोकलाई अत्याधुनिक बनाइनेछ । उपत्यका प्रवेश गर्ने सवारीसाधन विनाअवरोध आउजाउ गर्न सक्नेछन् । चक्रपथ परिक्रमा गर्ने सवारीसाधन पनि अवरोधविनै चल्न सक्नेछन्,’ उनले भने ।

चोकमा १६ मिटरको सब–वे
थानकोटबाट कालिमाटीतर्फआउने र जाने यातायात साधनका लागि कलंकी चोकमा १६ मिटर फराकिलो सडक हुनेछ । र, त्यसको ठीक तल १६ मिटर लामो सब–वे हुनेछ ।

जसबाट बल्खुबाट स्वयम्भूतर्फ आउने र जाने गाडी वारपार हुनेछन् । सब–वेको अन्डरपास भने आठ सय ४० मिटर लामो हुनेछ। खसीबजार पुलबाट अन्डरपासमा छिरेका गाडी बाफल पुलमा निस्कनेछन्। अन्डरपास र सुरुङ चार लेनको हुनेछ । यो बाटोबाट सीधै रिङरोडमा अघि बढ्ने गाडी मात्र गुड्नेछन् ।

खसीबजार पुलबाट सुरु हुने अन्डरपासबाहेक दायाँबायाँबाट भने अहिलेको जस्तै स्लोपमा समानान्तर सडक बाफल पुलसम्म पुग्नेछन् । खसीबजारतिरको दायाँ स्लोपबाट कालिमाटीतर्फ गाडी आउ(जाउ गर्नेछन् भने बायाँ स्लोपबाट थानकोटतर्फ आउ(जाउ गर्नेछन् । त्यस्तै, स्वयम्भूतर्फको बायाँ स्लोपका गाडी कालिमाटीतर्फआउ(जाउ गर्नेछन् भने दायाँ स्लोपबाट थानकोटतर्फ आउ(जाउ गर्नेछन् । प्रत्येक लेन चार मिटर चौडा हुनेछन् ।

कुन सडकमा कसरी सवारीसाधन गुडाउने ?
नागढुंगाबाट स्वयम्भूतर्फ जाने सवारीसाधन विनाअवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् ।

नागढुंगाबाट बल्खुतर्फ जाने सावरीसाधन विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् ।

त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारीसाधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् ।

त्रिपुरेश्वरबाट बल्खु जाने सवारीसाधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन् । बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन् । नयाँ पत्रिकामा दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.