२०७३ मंसिर २३ गते १७:४१ विकासन्युज
काठमाडौं, २३ मंसिर । सर्बसाधारणका लागि निष्काशन गरिएको सेयर लिनको लागि निःशुल्क आवेदन बुझाउने यूगको अन्त्य भएको छ । माग १ गतेदेखि साधारण सेयर लिन आवेदन गर्नेले प्रति आवेदन १०० रुपैयाँ र ५० हजार रुपैयाँ भन्दा बढी रकमको सेयर आवेदन बुझाउँदा प्रति आवेदन २५० रुपैयाँ सेवा शुल्क बुझाउनु पर्नेछ ।
धितोपत्र बोर्डले पछिल्लो समय जारी गरेको धितोपत्र दर्ता तथा निष्काशन निर्देशिका २०७३ले उक्त व्यवस्था गरेको छ । आस्वा प्रणाली अनुसार सेयर आवेदन गर्नेले तोकिएको शुल्क बुझाउनु पर्नेछ । बैंकहरुले तोकिएभन्दा कम शुल्क लिन पनि सक्नेछन् ।
यसअघि साधारण सेयर आवदेन बुझाउँदा सेवा शुल्क बुझाउनु पर्ने थिएन । लगानीकर्ता सेयर फारमको लागि प्रति फारम २ रुपैयाँदेखि ५ रुपैयाँसम्म तिर्नुपथ्यो । आवेदन बुझाउँदा सेयर निष्काशन तथा बिक्री प्रबन्धकलाई सेवा शुल्क बुझाउनु पर्ने थिएन । बिक्री प्रबन्धकले सेयर निष्काशन गर्ने कम्पनीसँग निश्चित सेवा शुल्क लिएर काम गर्दै आएका थिए ।
झट्ट सुन्दा आवेदन शुल्क महँगो लागे पनि लगानीकर्ताको लागि यो आस्वा प्रणाली अत्यान्तै लाभदाही भएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की बताउँछन् । ‘आस्वा प्रणाली अनुसार सेयर आवेदन गर्नेले बढीमा १ घण्टामा सबै प्रक्रिया पुरा गरेर आवेदन बुझाउन सक्छ । दिन भर लाईन बस्नु पनि पर्दैन । सेयरको फारम लिन, फारम बुझाउन लाईन बस्नु पर्दैन । सेयर नपरेपछि पैसा फिर्ता लिन, बैंकमा जम्मा गर्न, सेयर लिन बैंक तथा बिक्री प्रबन्धकको कार्यालयमा जानु पनि पर्दैन’ अध्यक्ष कार्की भन्छन्–सेयर आवेदन बुझाउने देखि पैसा फिर्ता लिने सबै प्रक्रिया पुरा गर्दा लगानीकर्ता धेरै समय र श्रम खर्च गर्नुपथ्यो । त्यो दुःख अब हुँदैन ।’
निःशुल्कको युगले दुनियाँबाट विदा लिईसकेको बताउँदै अध्यक्ष कार्कीले भने–नाफा आर्जन गर्ने उदेश्यले सेयरमा लगानी गर्नेले निःशुल्क सेवाको खोजी गर्न नहुने उनले बताए ।
आवेदकले बुझाएको सेवा शुल्कको ८२ प्रतिशत बैंकले लिने, १५ प्रतिशत सेयर निष्काशन तथा बिक्री प्रबन्धकले लिने र तीन प्रतिशत धितोपत्र बोर्डले पाउने व्यवस्था गरिएको धितोपत्र बोर्डका कार्यकारी निर्देशन परिष्ट पौड्यालले बताए । हाल सेयर निष्काशनदेखि नेप्सेमा सूचिकरण गर्नेसम्मको प्रक्रियाले ६ महिना लिने गरेकोमा अस्वा प्रणाली लागू भएपछि २ महिनामा सबै काम गर्न सकिने उनले जनकारी दिए ।
आस्वा प्रणाली कार्यान्वयनको विषयमा सरोकार निकायहरुसँग बोर्डले बिहीबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कार्कीले भने–आस्वा प्रणालीमा भाग लिन धितोपत्र बोर्डले आह्वान गरेकोमा ६ वटा वाणिज्य बैंक र ६ वटा राष्ट्रिय स्तरको विकास बैंकले आवेदन गरिसकेको छन् । माघ १ गतेदेखि आस्वा प्रणाली पूर्ण रुपमा लागू हुन्छ ।
कार्यक्रममा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आस्वा प्रणाली लागु भएपछि एक भन्दा बढी कम्पनीको साधारण सेयर एकै पटक निष्काशन भएको अवस्थामा लगानीकर्तालाई समस्या पर्न सक्ने बताए । एउटा कम्पनीको सेयर आवेदन गर्दा उसका एकाउण्ट लक गरिएको हुन्छ । यो अवस्थामा दोस्रो कम्पनीको सेयर आवेदन गर्नु पर्दा लगानीकर्ता र एकाउण्ट म्यानेज गर्ने बैंक दुबैलाई समस्या आउन सक्ने उनको टिप्पणी छ ।
नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष प्रविणरमण पराजुलीले लगानीकर्तासँग लिएको सेवा शुल्कको १५ प्रतिशत मात्र निष्काशन तथा बिक्री प्रबन्धकलाई छुट्याउनु कम भएको बताउँदै त्यसलाई वृद्धि गर्न आग्रह गरे । साधारण सेयर निष्काशन गर्दा ३४० गुणा बढीसम्म आवदेन परेको उदाहरण पेश गर्दै उनले आवेदन गर्ने समय पनि छोट्याउनु पर्ने बताए । ‘साधारण सेयरको लागि आवदेन समय ५ दिनलाई छोट्याएर ३ दिन बनाउँदा समग्र प्रक्रिया छोटो हुन्छ’ उनले भने ।
अनलाईनबाट सेयर आवदेन खुला गरिसकेपछि डिजिटल सिग्नेचर प्रयोगलाई प्रोत्साहित गर्नु पर्ने उनले बताए । तर बोर्डका अध्यक्ष कार्कीले समग्रमा पूर्वाधारको कमी रहेकोले अहिले डिजिटल सिग्नेचरको प्रयोग नगरिएको बताए । ‘प्रविधिको प्रयोगमा लगानीकर्ता अझै पछाडि छन्, धितोपत्र बोर्ड, सेयर निष्काशन गर्ने कम्पनीहरुको पूर्वाधार पनि प्रयाप्त छैन । त्यसैले अहिले नै डिजिटल सिग्नेचर प्रयोगमा ल्याउने अवस्था छैन’ उनले भने ।
के हाे अास्वा प्रणाली ? लगानीकर्ताले आस्वा प्रणालीबाट लिन सक्ने पाँच फाइदाहरु र यसबाट लाभ लिने तरिका
Copyright © 2025 Bikash Media Pvt. Ltd.