अग्नि मोटो इन्कको सर्भिस सल्लाह तथा प्राविधिक कार्यक्रम सम्पन्न, १९ जनाले लिए प्रशिक्षण
काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्क प्रालिको सर्भिस सल्लाह तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म आयोजना भएको कार्यक्रममा देशभरका १९ जना प्राविधिकहरु सहभागी भएका थिए । महिन्द्र टु ह्वीलरहरुको विक्रीवितरण गर्दै आएको अग्निमोटो इन्क प्रा.लिले नेपालभरका प्राविधिकहरुलाई २ दिनसम्मको प्रशिक्षण दिएको थियोे । प्रशिक्षणमा अर्डर लिने प्रक्रिया, टुल्सहरुको जानकारी, गोस्टो स्कुटरको इन्जिन सम्बन्धी जानकारी दिइएको थियो । त्यस्तै कम्पनीले विभिन्न पार्टहरुको स्टकलाई कसरी व्यवस्थितगर्ने भन्ने कुरा, सर्भिसिङ्गगर्ने प्रक्रिया, कुनकुन समयमा कस्ता कस्ता पार्ट फेर्नु पर्दछ भन्ने जानकारीदेखि लिएर रिपोर्ट जेनेरेटसम्मको प्रशिक्षण दिएको थियो ।
अबदेखि ‘आइएमई पे’ मार्फत विद्युतकाे महसुल तिर्न सकिने
काठमाडौं । विद्युत् महसुल वापतको रकम अबदेखि ‘आइएमई पे’ बाट भुक्तानी गर्न सकिने भएको छ । देश विदेशमा रहेने सबैले यस्तो सेवा मार्फत विद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ । नेपाल विद्युत् प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ । प्राधिकरणले अहिले उपत्यका भित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्तीबाट गर्न शुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।
चन्द्रागिरि हिल्स ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाले उक्त अर्वाड प्रदान गरेको हो । उक्त संस्थाले चन्द्रागिरिले स्थापनाको छोटो समयमै अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस अवार्ड चन्द्रागिरि हिल्सलाई प्रदान गरेको हो । फ्रोस्र्ट एण्ड सुलिभानर सिएनआईले आयोजना गरेको एक कार्यक्रममा चन्द्रागिरि हिल्सको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । चन्द्रागिरि हिल्सलाई सोहि संस्थाले गतवर्ष पनि ‘बेष्ट डेसटिनेशन अवार्ड-२०१६’ ले सम्मानित गरेको थियो । ‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड-२०१७’ को समापनको अवसरमा मङ्गलबार काठमाडौं स्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ । कार्यक्रममा चन्द्रागिरिका अध्यक्ष एवम् संचालक ढकालले चन्द्रागिरि हिल्स लिमिटेडले विश्व ब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा प्राप्त भएको सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको बताएका छन् ।
नेसनल ट्रेडिङका अवकाशप्राप्त कर्मचारीले दिए अख्तियारमा उजुरी
काठमाडौं । सरकारी स्वामित्वको संस्थान नेसनल ट्रेडिङ लिमिटेडमा ९ जना कर्मचारीलाई मात्र ग्रेड थप गरी स्वेच्छिक अवकाश दिएको भन्दै केही कर्मचारीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उक्त उजुरीका आधारमा अख्तियारले मन्त्रालयसँग स्पष्टिकरण माग गरेको छ । स्वेच्छिक अवकास दिईएका कर्मचारीमध्ये ना.अ.व. गिता निरौला लगायत ९ जना कर्मचारीलाई मात्र २ ग्रेड थप गरी स्वेच्छिक अवकास दिएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारले के आधारमा ग्रेड थप गरेको ? भन्दै स्पष्टिकरण सोधेको छ । त्यस्तै स्वेच्छिक अवकासपछि पनि ३६ जना कर्मचारी करारमा लिएको उजुरीमा उल्लेख छ । त्यस्तै गयल हाजिर गरी अन्तै निकायमा काम गरी रहेका ना.अ.व. कमल रेग्मीलाई कार्यालयमा हाजिर गराई २३० दिन गयल कट्टी सहित ९६१ दिन सेवा अवधिमा घटाई स्वेच्छिक अवकास दिइएको उजुरीमा उल्लेख छ । उल्लेखित उजुरी सम्बन्धित स्पष्टिकरण सहित पेश गर्न मन्त्रालयलाई अख्तियारले पत्राचार गरेको छ । नेसनल ट्रेडिङले गत असारमा आफ्ना कर्मचारीहरूलाई बिदावारी गरेको थियो । घाटा चुलिएपछि जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको थियो । आयस्रोत नभएपछि लिमिटेडको नोक्सानी बर्सेनि बढ्दै गएको थियो । नेसनलको घाटा १ अर्ब ३४ करोड रुपैयाँ छ । घाटाका कारण कर्मचारीहरूले ५ महिनादेखि तलब पाएका थिएनन् । उपदान र सञ्चय कोष करिब ४ वर्षदेखि नपाएको लिमिटेडले जनाएको छ । अवकाशका दिनका लागि चाहिने रकम जुटाउन लिमिटेडले टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा बिक्री गरिसकेको छ । तलब सुविधा नपाएपछि गत वर्ष चैत ११ गते बसेको साधारणसभाले जग्गा बिक्री गरेर अवकाश हुने निर्णय गरेको थियो । सोहीअनुसार १८ गते मन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयबाट स्वीकृति भएपछि थप अनुमतिका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको थियो । अर्थको अनुमतिसँगै जग्गा बिक्रीको फाइल मन्त्रिपरिषद्मा पेस गरिएको थियो । मन्त्रिपरिषद्बाट पनि स्वीकृत भएपछि टेकुमा रहेको नेसनलको जग्गा आयल निगमले किनेको छ । हाल नेसनलसँग धनगढी दुई बिघा, विराटनगरमा चार, वीरगन्जमा पाँच, दाङमा दुई, नेपालगन्जमा दुई र कञ्चनपुरमा पनि एक बिघा जग्गा छ । भद्रकालीमा पनि २५ रोपनी १५ आना जग्गा छ ।
हुवावेले नेपाली बजारमा भित्र्यायो ४ वटा क्यामरा भएको नोवा आई टू, मूल्य ३३ हजार ९ सय रुपैयाँ
काठमाडौं । हुवावेले बहुप्रतिक्षित नयाँ फोन नोवा आई टू नेपाली बजारमा भित्र्याएको छ । हुवावेले बुधबार नोवा आई टू सार्वजनिक गरेको हो ।यसको बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ रहेको छ । यसै सातादेखि नेपाली बजारमा उपलब्ध हुन गइरहेको नोभा २ आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजिएस गोल्ड गरी दुई वटा कलरहरुमा उपलब्ध छ । गत अक्टोबरमा भारतमा सार्वजनिक भएको थियो । यो स्मार्टफोनको ब्याट्री क्षमता ३३४० एमएच रहेको छ । यो मोबाइलको ५.५० ईञ्चको स्क्रिन साइज रहेको छ । कम्पनीका अनुसार यसको रिजोलूशन १०८०*२१६० पिक्सल रहेको छ । यो स्मार्टफोन १.७ गीगाहर्ज अक्टा(कोर प्रोसेसरको हाइसिलिकन किरिन ६५९ मोडलमा आधारित छ । यसको आन्तरिक स्टोरेज ६४ जिबिको छ भने ४ जिबिको र्याम रहेको छ । यसको स्टोरेजलाई २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ । १६ मेगापिक्सलको रियर क्यामरा रहेको यो मोबाइलको फ्रन्ट क्यामरा ९सेल्फि क्यामरा० १३ मेगापिक्सलको रहेको छ । यो एन्ड्रोइन ७.० भर्सनको अपरेटिङ सिस्टमबाट सञ्चालित छ । १५६.२०*७५*७.५० (लम्बाई, चौडाई र मोटाई) नापको यो मोबाइलको तौल १६४ ग्राम रहेको छ । कम्पनीले मूल्यबारे भने खुलाएको छैन । हुवावे एक चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हो । हुवावे विश्वकै तेस्रो ठुलो मोबाइल कम्पनी हो ।
ज्योति विकास बैंकको भरतपुर शाखा स्थानान्तरण
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखा कार्यालय पारस बसपार्क भरतपुरबाट हाकिमचोकमा स्थानान्तरण भएको छ । बुधबार बैंकद्धारा आयोजित एक कार्यक्रममा उक्त शाखाको स्थानान्तरण गरी औपचारिक रुपमा नँया स्थानबाट कारोबार संचालनमा ल्याइएको छ । उक्त शाखाको शुभारम्भ बैंकका संचलकहरु छत्रमान श्रेष्ठ, धु्रव कोइराला र जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका हुन् । उक्त बैंकले यही कात्तिक २७ र २८ गते मकवानपुर जिल्लाको बागमती गाउँपालिका फापरबारी र हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको थियो । हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सेञ्चुरी बैंकले ल्यायो थप तीन आधुनिक सेवा, नोक्सानी तथा नगद चोरी न्यूनिकरण गर्ने
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा थप तीन वटा आधुनिक सेवा (टेक्नो बेसड) सेवाहरु ल्याएको छ । बैंकले “मल्टी करेन्सी कार्ड”, “इन्डो-नेपाल इजी रेमिट” र “मोबाइल एप्स” गरी थप तीन सेवाको शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच उक्त तीन सेवाको शुभारम्भ गरेका हुन् । बैंकले भारतको एक्सिस बैंकको सहकार्यमा नेपालमा नै पहिलो पटक “मल्टी करेन्सी कार्ड”को शुरुवात गरेको हो । जसअन्तर्गत ग्राहकले विदेश जादाँ विश्वका १६ देशमा ती देशहरुको मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्नेछन् । यसबाट नगद विदेशी मुद्रा अभाग झेलिरहेका ग्राहकहरुलाई केही राहत मिल्ने र अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकले जनाएको छ । यसैगरी, बैंकले एक्सिस बैंककै सहकार्यमा “इन्डो नेपाल इजी रेमिट” को शुरुवात गरेको छ । यो सेवाबाट भारतमा रहेका नेपालीहरुले एक्सिस् बैंकका ३,५०० शाखा कार्यालयहरुबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसले बैंकको ग्राहक संख्यामा वृद्धि हुन गई बैंकको शाख अभिवृद्धि हुने बैंकको अपेक्षा रहेको छ । साथै, बैंकले मोबाइल बैंकिङको नाममा “मोबाइल एप्स” को शुरुवात गरेको छ । यसबाट ग्राहकहरुले आफ्नो मोबाईलबाट रकम भुक्तानी ट्रान्सफर तथा यूटिलिटी बिलका साथै बैंकमा आवद्ध विभिन्न भेन्डरहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
मंसिर अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास, चीनले कालोपत्र गरिदिने
काठमाडौैं । मंसिर महिनाको अन्तिम साता बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको शिलान्यास हुने भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीले मंसिरको अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास गर्ने कार्यतालिका तयार भएको बताएका हुन् । ‘अहिले निर्वाचनको आचार संहिता लागेको छ, ठुला आयोजना शिलान्यास गर्न मिल्दैन, निर्वाचन सकिए लगत्तै म आफ्नै हातले शिलान्यास गर्नेछु’, मन्त्री गिरीले बुधबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा भने । बाहिरी चक्रपथ विकास आयोजनाले शिलान्यास भएको २ बर्षभित्रै जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर सडकलाई पाइलट प्रोजेक्टका रुपमा निर्माण गर्न लागिएको हो । यसको अनमानित लागत ६ अर्ब रहेको छ । ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।