स्थिर नीति र ८०/२० को एलटीभी अनुपात मिलाउन अर्थमन्त्रीलाई नाइमाको सुझाव

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सरकारसँग अटोमोबाइल क्षेत्रलाई विलासिताको साटो आवश्यकताको क्षेत्रका रूपमा मान्यता दिन माग गरेको छ ।  अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको नाइमाको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्दै यस्तो सुझाव प्रस्तुत गरेको हो।  प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. वाग्लेलाई भेट्दै अटोमोबाइल क्षेत्रका लागि स्थिर र पूर्वानुमानयोग्य नीतिगत वातावरण बनाउन आग्रह गरेको छ । भेटका क्रममा नाइमाले ८०/२० को कर्जा-मूल्य अनुपात कायम गरी वित्तीय पहुँचलाई सहज बनाउन माग गरेको छ । यस्तै, भन्सार जाँचपास भइसकेपछि पनि अडिट तहमा फरक व्याख्याका कारण बेरुजु देखिने प्रवृत्तिले व्यवसायमा अनिश्चितता बढेको गुनासो, विद्युतीय (ईभी) र हाइब्रिड सवारीको स्पष्ट वर्गीकरण गरी सबै प्रविधिमा समान कर व्यवहार हुनुपर्नेमा जोड, ‘मेक इन नेपाल’ अभियान अन्तर्गत एसेम्बलिङ उद्योगको प्रवद्र्धनका लागि दीर्घकालीन नीतिको आवश्यकता सुझाव ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले नाइमाका सुझावहरू सान्दर्भिक रहेको र आगामी नीति, कार्यक्रम तथा बजेटमा यी विषयहरूलाई यथासम्भव समेट्ने आश्वासन दिए ।  यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालसँगको भेटमा मन्त्री सुनिल लम्सालले देशको अर्थतन्त्र, रोजगारी र गतिशीलतामा अटोमोबाइल क्षेत्रले पुर्‍याएको योगदानको प्रशंसा गरे ।  मन्त्री लम्सालले भने, ‘यस क्षेत्रबाट उठ्ने कर राजस्वको निश्चित अंश पुनः यही क्षेत्रकै विकास र सुधारमा लगानी गर्ने नीतिगत व्यवस्था गर्न सरकार सकारात्मक छ । ’ उनले समस्या समाधानका लागि ठोस बुँदाहरूमा मन्त्रालयसँग निरन्तर परामर्श र सहकार्य गर्न नाइमालाई आग्रह गरे ।  भेटका क्रममा नाइमाले भन्सार प्रक्रियाको सरलीकरण, सवारी परीक्षण सुविधा, यातायात ऐनको पुनरावलोकन, डिजिटल एकीकरण, सडक सुरक्षा र प्रदूषण नियन्त्रण जस्ता विषयमा पनि आफ्ना स्पष्ट धारणा राखेको छ ।

अटोमोवाइल क्षेत्रका समस्या र नीतिगत सुधारबारे अर्थमन्त्रीसँग नाडाको छलफल

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी नेपालको अटोमोवाइल क्षेत्रको वर्तमान अवस्था तथा नीतिगत सुधारका विषयमा छलफल गरेको छ । सोमबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्रीसँग भेटवार्ता गर्दै अटोमोवाइल क्षेत्रलाई सुदृढ बनाउन सरकारबाट आवश्यक नयाँ नीति तथा नियम आउने अपेक्षा व्यक्त गरेको थियो । अध्यक्ष उप्रेतीले सरकारको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै अटोमोवाइल क्षेत्रको विकासले सरकारी राजस्व वृद्धि र रोजगारी सिर्जनामा समेत सकारात्मक योगदान पुग्ने बताए । भेटका क्रममा अर्थमन्त्री वाग्लेले सरकार राजस्व संकलन कसरी बढाउने भन्ने विषयमा अध्ययनरत रहेको जानकारी दिँदै राजस्व वृद्धि हुनेगरी करको दर घटाउने, राजस्वको दायरा विस्तार गर्ने तथा निजी क्षेत्रमैत्री नीति ल्याउने तयारी भइरहेको बताए । उनले अनियमितता नियन्त्रण, सडक पूर्वाधारमा ठूलो लगानी तथा आगामी बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गरिने पनि उल्लेख गरे । छलफलका क्रममा अध्यक्ष उप्रेतीले अटोमोवाइल उद्योग प्रवर्द्धनका लागि आयातित कच्चा पदार्थमा सहुलियत आवश्यक रहेको बताए । हाल सि.के.डी. प्रणालीलाई सहज भए पनि स्वदेशी उद्योगहरू सञ्चालनमा कठिनाइ भइरहेको उनको भनाइ थियो । नेपालमै टायर–ट्युब, ब्याट्री, लुब्रिकेन्ट र हेल्मेट उत्पादन भइरहे पनि गुणस्तर परीक्षण गर्ने सरकारी संयन्त्र अभावका कारण व्यवसायीहरूले समस्या भोग्नुपरेको उनले उल्लेख गरे । साथै अटोमोवाइल उत्पादनका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्दै नाडाको तर्फबाट ३६ बुँदे लिखित सुझावसमेत पेश गरिएको जानकारी दिए । कार्यक्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनेन्ट उद्योगको ठूलो सम्भावना रहेको बताए । विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानीमैत्री नीति आवश्यक रहेको उल्लेख गर्दै विद्युतीय सवारी साधनको प्रवर्द्धनका लागि स्पष्ट नीति आवश्यक भएको धारणा राखे । भारतमा जीएसटी घटेसँगै चोरी निकासी बढेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने आवश्यकता पनि उनले औंल्याए । त्यसैगरी नाडाका उपाध्यक्ष विक्रम सिंघानियाले नेपाली उद्योगलाई सरकारी प्रोत्साहन आवश्यक रहेको बताए । छलफलमा नाडाका उपाध्यक्षद्वय अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणि पाठक लगायतको उपस्थिति रहेको थियो ।   

सुर्खेतमा महिन्द्राका दुई नयाँ इलेक्ट्रिक एसयूभी ‘बीई६’ र ‘एक्सईभी ९ई’ सार्वजनिक

काठमाडौं । महिन्द्रा अटोमोबाइल्सको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले सुर्खेत तथा आसपासका क्षेत्रीय बजारलाई लक्षित गर्दै अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयूभी ‘बीई६’ र ‘एक्सईभी ९ई’ सार्वजनिक गरेको छ । वीरेन्द्रनगर–१२, पदमपुरस्थित महिन्द्रा शोरुममा विशेष क्षेत्रीय सार्वजनिकीकरण समारोह आयोजना गरी यी गाडी सार्वजनिक गरिएका हुन् । समारोहमा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षबिक्रम खड्का, अग्नि ग्रुपका ईभी प्रोडक्ट हेड सुरज राजवंशी, महिन्द्रा एण्ड महिन्द्रा इण्डियाका कन्ट्री म्यानेजर महेश ठकुरी, अग्नि ग्रुपका पिकअप प्रोडक्ट हेड रोशन श्रेष्ठ, एसयूभी म्यानेजर गोकुल खरेल, सुर्खेत शाखाका शोरुम म्यानेजर जयसिंह साउन तथा अन्य अतिथि र ग्राहकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कम्पनीका अनुसार ‘बीई६’ को प्रारम्भिक मूल्य ५७ लाख रुपैयाँ तोकिएको छ भने ‘एक्सईभी ९ई’ को मूल्य ६९ लाख रुपैयाँदेखि सुरु हुने जनाइएको छ ।