सरकारले अनिवार्य गरेको बैदेशिक रोजगार बीमामा ठूलो रकम एजेन्टलाई कमिसन, कस्ले खान्छ यस्तो कमिसन ?
काठमाडौं, १२ फागुन । बैदेशिक रोजगारीमा जानेले अनिवार्य रुपमा बीमा गराउनै पर्ने भएपनि यस्तो बीमामा ठूलो परिमाणको रकम एजेन्टलाई कमिसनको रुपमा दिने गरिएको छ । सरकारले बैदेशिक रोजगारीमा जानेलाई अनिवार्य रुपमा बीमा गराउनै पर्ने ब्यवस्था यसअघि नै गरिसकेको छ । बीमा समितिका निर्देशक श्रीमान कार्कीको संयोजकत्वमा गठिन समितिले गरेको अध्ययनले यस्तो बीमा गराएको भन्दै एजेन्ट कमिसनको रुपमा बर्सेनि ३४ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको देखाएको छ । बैदेशिक रोजगार प्रबद्र्धन बोर्डले बिमितलाई दिने सुविधा कसरी बृद्धि गर्न सकिन्छ भनेर अध्ययन समिति गठन गरेको थियो । सो समितिका सदस्यहरुमा नेपाल राष्ट्र बैंकका निर्देशक बासुदेब अधिकारी र वोर्डका संचालक डा. रमेश कोइराला सदस्य छन् । समितिले आफ्नो प्रतिवेदन बोर्डमा बुझाइ सकेको छ । प्रतिवेदनका अनुसार अहिले २० लाख ६० हजार ८ सय ९१ जनाले बैदेशिक रोजगार (म्यादी) बीमा गराएका छन् । यस्तो बीमाबाट ४ अर्ब ७६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । यसमध्ये बीमा कम्पनीहरुले एजेन्ट कमिसनको नाममा ३४ करोड २१ लाख ३२ हजार रुपैयाँ खर्च गरेका छन् । यस्तो परिमाण विगत ३ बर्षको तथ्यांकले देखाएको हो । सरकारले अनिवार्य गरेको बीमामा यति धेरै कमिसन कसले खान्छ भन्नेमा अध्ययन समिति पनि अन्योलमा परेको बोर्ड स्रोतले जानकारी दिएको छ । ‘कानुनी रुपमा एजेन्टले नै कमिसन पाए भन्न सकिन्छ, तर बैदेशिक रोजगारीमा जाने ब्यक्तिसम्म एजेन्टको पहुच कम हुन भएकोले एजेन्ट देखाएर अर्कै कसैले यस्तो कमिसन खाइरहेको पनि हुन सक्छ,’ बोर्डका एक अधिकारीले भने । एजेन्ट कमिसन म्यानपावर कम्पनीका संचालकले खाने गरेको श्रम मन्त्रालयका अधिकारीको अनुमान छ । ‘एजेन्ट कमिसनको नाममा खर्च भएको रकम म्यानपावर कम्पनीको हातमा पुग्ने देखिन्छ, म्यानपावरका कर्मचारीले बीमा गराउनको लागि बीमा कम्पनीसम्म लैजाने गरेको कारण अरुले त्यस्तो कमिसन पाउन सक्ने सम्भवाना नै हुन्न,’ मन्त्रालयका एक अधिकारीले भने । समितिले बोर्डमा बुझाएको प्रतिवेदनमा एजेन्ट कमिसन हटाउन सुझाव दिइएको छ । यस्तो कमिसन हटाएर बीमा शुल्क ४५ प्रतिशत बृद्धि गर्ने हो भने बिमितलाई दिइदै आएको सुविधा दोब्बर गर्न सकिने अध्ययनको ठहर छ ।
किन यति धेरै बढिरहे छ बीमाको सेयरमा आकर्षण ? कहिलेसम्म बढ्छ बजार ?
काठमाडौं, २८ माघ । सब इन्डिकेटरमा अन्य समुहलाई छोडेर साढे ५ हजार नाघिसकेको बीमा समुहको सयर दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । गत सोमबार पूजी बजारमा भएको अन्तिम कारोवारको दिन बीमा समुह परिसुचक ५ हजार ५ सय ६३ दशमलब ४३ अंकमा पुगेको छ । सो दिन पूजी बजार परिसुचक नेप्से १ हजार २ सय ६४ दशमलब ३३ अंकमा पुगेको थियो । नेपाल स्टक एक्सचेन्जमा २ सय भन्दा बढी कम्पनी सुचिकृत छन् । एक्सचेन्जमा सुचिकृत कम्पनीको संख्या २ दर्जन पनि छैन । बीमा समुहको सेयरमा यति धेरै आकर्षण देखिनुमा प्रमुख ४ कारण रहेको सेयर लगानीकर्ता तथा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक कमलेशकुमार अग्रवाल बताउछन् । बीमा क्षेत्रलाई नियम गर्नको लागि नयाँ बीमा ऐनको मस्यौदा तयार भएको छ । सो मस्यौदामा जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको न्यूनतम चुक्ता पूजी २ अर्ब रुपैयाँभन्दा बढी र निर्जीबन बीमा ब्यवसाय गर्ने कम्पनीहरुको चुक्ता पूजी १ अर्ब रुपैयाँ भन्दा बढी हुने प्रश्ताव मस्यौदामा गरिएको छ । अहिले जीबन बीमा कम्पनीहरुको चुक्ता पूजी ५० करोड र निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पूजी २५ करोड रुपैयाँ हुनुपर्ने ब्यवस्था छ । प्रश्तावित ऐनको मस्यौदामा कम्तिमा पनि अहिलेको भन्दा ४ गुणाले पूजी बृद्धिको प्रश्ताव गरिएको लगानीकर्ताको आकर्षण बढेको अग्रवालले बताए । ‘पूजी बृद्धिको योजनाले हकप्रद सेयर पाउने आशामा लगानीकर्ता बढी आकर्षित भएका हुन सक्छन्, अहिलेको भन्दा ४ गुणाले पूजी बृद्धि गर्ने हो भने एक बराबर चारको दरमा हकप्रद पाइने सम्भावना भएकोले लगानीकर्ताको आकर्षण बढेको हो,’ अग्रवालले भने । अन्य क्षत्रमा भन्दा बीमा क्षेत्रमा बढी डिभिडेन्ड पाइने भएकोले पनि लगानीकर्ताको आकर्षण बीमा क्षेत्रमा बढेको उनको भनाइ छ । ‘म आफै संचालक रहेको नेपाल लाइफले विगत २ बर्षदेखि निरन्तर प्रत्येक बर्ष ६० प्रतिशतका दरले बोनस सेयर दिइरहेको छ, अन्य कम्पनीहरुले पनि बोनस सेयरलाई प्राथमिकतामा राखेका कारण लगानीकर्ता आकर्षित भएका हुन्’ अग्रवालको विश्लेषण छ । तेस्रो कारणमा उनले बीमा ब्यवसायको बजार विस्तार भएकोलाई लिए । ‘भूकम्पको कारणले बीमा ब्यबसायको बजार विस्तार भयो, बजार विस्तार हुदा कारोवार बढ्ने र नाफा बृद्धि हुने अनुमानमा लगानीकर्ताले बढी विश्वास गरेका हुन सक्छन्,’ अग्रवालको भनाइ छ । चौथो कारणमा अहिले विजनेस साइकल नै बीमाको सेयरमा आइपुगेको उनको विश्लेषण छ । लगानीकर्ताले कुनै समय बैंकिङ, कुनै समय जलविद्युत, कुनै समय होटल, कुनै समय अन्य उत्पादनशील क्षेत्रमा जस्तै कुनै समय बीमा क्षेत्रमा बढी लगानी केन्द्रीत गर्ने गरेको उनको अनुभव छ । अहिले सर्वसाधारणले बढी विश्वास बीमा क्षेत्रलाई गरेका कारण लगानी बढेर सेयर मूल्य बृद्धि भएको अग्रवालले बताए । अझै केही समयमा बीमा समुहको परिसुचक बृद्धि नै हुने उनको अनुमान छ । बीमा समितिले तोके अनुसारको पूजी नपुर्याउदासम्म कम्पनीहरुले नगद लाभांश बाढ्न नपाउने निर्देशन समितिले दिइसकेको छ । बोनस सेयर प्रदान गर्ने कम्पनीमा लगानीकर्ताको आकर्षण बढी हुने देखाएको छ । तर समितिले नयाँ बीमा कम्पनीको अनुमति दिएको अवस्थामा बीमाको सेयर मूल्य कम हुन सक्ने अग्रवालले बताए । समितिले नयाँ कम्पनीको लागि अनुमति नदिए पनि केही कम्पनीले अनुमतिको लागि निवेदन दिइसकेका छन् । गत सोमवार भएको कारोवारमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार ३ सय ६०, एभरेष्ट इन्स्योरेन्स कम्पनीको ९ सय ९०, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको ६ सय ४०, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको ७ सय ७० र लाइफ इन्स्योरेन्स कम्पनीको ३ हजार ५ सय रुपैयाँ प्रतिकित्ताका दरमा सेयर कारोवार भएको थियो । यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको ६ सय ८०, नेसन लाइफ इन्स्योरेन्सको २ हजार ६ सय ४५, नेको इन्स्योरेन्स कम्पनीको ९ सय ८७, नेपाल इन्स्योरेन्सको ६ सय ८०, नेपाल लाइफको ३ हजार २ सय ३५, एनएलजी इन्स्योरेन्सको ९ सय ६० र प्रिमियर इन्स्योरेन्स कम्पनीको १ हजार १ सय २८ रुपैयाँ प्रतिकित्ताको दरमा सेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार सो दिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १ हजार ६ सय ४०, प्रुडेन्सियल इन्स्योरेन्सको ७ सय ७५, सगरमाथा इन्स्योरेन्सको १ हजार १ सय ३५, शिखर इन्स्योरेन्सको १ हजार ७ सय ५, सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १ हजार १ सय ९० र सूर्या लाइफ इन्स्योरेन्सको ७ सय ९१ रुपैयाँ प्रतिकित्ताको दरमा सेयर कारोवार भएको छ ।
प्रभु इन्स्योरेन्सले नाफाबाट पुँजी बढाउँदै लैजान्छ-सन्चित बज्राचार्य
सन्चित बज्राचार्य, प्रमुख कार्यकारी अधिकृत, प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु इन्स्योरेन्स लिमिटेडले माघ १ देखि लागु हुनेगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा सन्चित बज्राचार्य नियुक्त गरेको छ । बज्राचार्यले विगत ११ महिनादेखि सोही कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्दै आउनु भएको थियो । उहाँ विगत आठ वर्षदेखि सोही कम्पनीमा आवद्ध हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमबीए, आईक्याटबाट एकाउण्ट टेक्निसियन डिग्री गर्नुभएका बज्राचार्यले सरकारी, गैरसरकारी संस्थाहरुमा काम गर्दै ४० वर्षको उमेरमा बीमा कम्पनीको व्यवस्थापकीय नेतृत्व समाल्नु भएको छ । उहाँको कार्य योजना के छ ? प्रस्तुत छ उहाँसँग गरिएको विकास वहस । [divider] प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समाल्नु भएको छ, नयाँ योजना के छन् ? कुनै पनि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको मुख्य जिम्मेवारी भएको कम्पनीको व्यवसाय विस्तार गर्ने हो । सेवा सुविधालाई छिटोछरितो बनाउनु पर्यो । सेवाको गुणस्तर वृद्धि हुनुपर्यो । कम्पनीको कम्प्लाईन्स पार्ट राम्रो हुनुपर्यो । कमी कमजोरी सुधार गर्दै जानुपर्यो । र, लगानीकर्तालाई अधिकतम प्रतिफल दिन प्रयास गर्नुपर्यो । त्यसबाहेक सर्वसाधारणमा बीमाको महत्व बुझाउने, बीमा गर्ने संस्कारमा वृद्धि ल्याउने, बीमा क्षेत्रमा स्वच्छ प्रतिस्प्रर्धाको अभ्यास गर्ने मेरो योजना छन् । प्रभु इन्स्योरेन्स कम्पनीको वित्तीय अवस्था कस्तो छ ? कम्पनीको वित्तीय अवस्था राम्रो छ । असोज मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक भईसकेको छ । पुस मसान्तसम्मको वित्तीय विवरण तयार भईरकेको छैन । यद्यमी व्यापार विस्तार र नाफा निरन्तर वृद्धि गर्न सफल भईरहेको छौं । नाकाबन्दी, तराई बन्दको असर बीमा क्षेत्रमा कस्तो परेको छ ? गत बैशाखमा भूकम्पले धेरै जनधनको क्षति भयो । बीमा कम्पनीहरुलाई त्यसको प्रत्यक्ष नकारात्मक असर पर्यो । चालु आर्थिक वर्षको शुरुमा बीमा गर्ने क्रम बढ्दै थियो । फेरी नाकाबन्दी, तराई बन्दले यो क्षेत्र सुस्ताएको छ । यद्यपी चालु अर्थिक वर्षको पुस मसान्तसम्मको व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नै भएको छ । भूकम्पपछि बीमा गर्नेको क्रम बढेको हो ? विनासकारी भूकम्पले झण्डै ९ हजार मासिनको ज्यान गयो । करिव ७ खर्ब बराबरको आर्थिक नोक्सानी भयो । एउटै प्राकृतिक विपत्तिले यतिधेरै जनधनको क्षति पुर्याएको संम्भवत नेपालको इतिकासमा सबैभन्दा ठूलो घट्ना हुनुपर्छ । यो साह्रै दुःखद क्षण हो । यस घट्नाले हामी सबैलाई पाठ सिकाएको छ । बीमा कम्पनीहरुको लागि पनि महत्वपूर्ण सिकाई भएको छ । सर्वसाधारणमा व्यक्तिको, सम्पत्तिको बीमा गर्नु पर्ने रहेछ भन्ने सन्देश गएको छ । तर मलाई आश्चर्य के लागि रहेको छ अझै सर्वसाधारणले स्वतस्फूर्त बीमा गर्ने तत्परता देखाएको छैनन् । बीमा बजारको विस्तार उत्साप्रद भने छैन । एक करोड रुपैयाँ लगानी गरेर घर बनाउनेले बैंकबाट ५० लाख रुपैयाँ कर्जा लिएको छ भने ५० लाख रुपैयाँको मात्र बीमा गरेको र क्षति भएपछि बीमा कम्पनीले अण्डर इन्स्योरेन्सको नाममा १५ लाख रुपैयाँ पनि भुक्तानी नगरेको समस्या देखियो । भूकम्पपछि अण्डर इन्स्योरेन्स गर्ने अभ्यास रोकियो कि जारी छ ? वास्तवमा अग्नि बीमा र भूकम्प बीमा बैंकमा निर्भर हुनगयो । त्यसको परिणाम अण्डर भ्यालुमा बीमा गरिए । भूकम्पपछि घर भत्केकाहरुले नविकरण गर्ने कुरा भएन । तर घरमा क्षति नभएका, कम क्षति भएका मानिसहरुले बीमा नविकरण गराउँदा पूर्ण भ्यालुको बीमा गराउन थालेका छन् । नयाँ बीमा गर्नेहरुले पनि फूल भ्यालुमा बीमा गर्न थालेका छन् । अब बीमा बजारको विस्तार कसरी होला ? विगतका वर्षहरुमा पनि बीमा बजारको विस्तार सामान्य गतिमा भईरहेको हो । चालु आर्थिक वर्षको वृद्धि पनि विगतमा भन्दा केही बढी छ । तर उच्चदरको वृद्धि भएन । नाकाबन्दी र तराई बन्द नभएको भए विस्तारको दर दोब्बर, तेब्बर हुने अनुमान गरिएको थियो । गत वर्ष १० प्रतिशतले व्यवसाय विस्तार गर्नेले यो वर्ष २०/३० प्रतिशतले विस्तार गर्न सक्थे । त्यो स्तरको वृद्धि देखिएको छैन । यद्यपी समय बाँकी छ । चालु आर्थिक वर्षको अझै पाँच महिना बाँकी छ । प्रभु इन्स्योरेन्समा भूकम्पको क्षतिबाफत कति दावी भएको थियो र कति भुक्तानी भयो ? संख्यात्मक रुपमा करिव ११ सय वटा दावी परेका थिए । यो दावीको करिव ७० प्रतिशत भुक्तानी गरिसकेका छौं । रकमका आधारमा ५० करोडभन्दा माथिको दावी हुने देखिन्छ । हामीले अहिलेसम्म ३२ करोड रुपैयाँ दावी भुक्तानी भएको छ । भूकम्प गएको नौ महिना वितिसक्यो । यो अवधिमा तपाईकै कम्पनीले दावी रकमको आधारमा करिव ४० प्रतिशत र संख्याको आधारमा ३० प्रतिशत भुक्तानी गर्न बाँकी देखियो, यति धेरै भूकम्प पीडित ग्राहकमाथि दावी भुक्तानी गर्न ढिला भएन ? यति ठूलो विपत्तीपछि पनि हामी निरन्तर काम गरिरहेका छौं । भूकम्प गएपछि बीमा कम्पनीहरु शनिवार, सार्वजनिक विदाको दिन समेत खुलेका छन् र हामीले एक दिन पनि आराम नगरि काम गरिरहेका छौं । सर्भेयरहरु खटिरहेका छन् । ठूलो रकमका बीमा दावी भएका केसहरुमा पुर्नबीमा कम्पनीबाट आएका सर्भेयरहरुले पनि अध्ययन गरिरहेका छन् । केही केसमा बीमितहरुले आवश्यक कागजपत्र पेश नगर्दा भुक्तानी ढिला भएको छ । केही केसहरु जटिल पनि छन् । त्यसैले ढिला हुन गएको हो । प्रक्रिया पुरा भएको दावीमा भुक्तानी रोकेका छैनौं । सर्भेयर प्रतिवेदन पनि तयार हुने हो र अनिवार्य पेश गर्नु पर्ने कागजपत्र ग्राहकले उपलब्ध गराउने हो भने कम्पनीले आगामी दुई महिनाभित्र सबै दावीको भुक्तानी गर्नेछौं । भूकम्पबाट बीमा क्षेत्रले के सिक्यो ? बीमा नगर्नेले केही पनि पाएका छैनन् । बीमा गर्ने सबैले क्षतिपूर्ति पाईरहेका छन् । फूल इन्स्योरेन्स गर्नेले सन्तोषजनक रकम पाएका छन्, अन्डर भ्यालुको बीमा गर्नेले कम पाएका छन् । त्यसकारण बीमा आफ्नै लागि रहेछ भन्ने सन्देश बीमितलाई गएको छ । बीमकले पनि ठूला विपत्ती आउन सक्छ, त्यस्तो वेलामा ग्राहकहरुलाई छिटो छरितो सेवा दिन सक्ने तयारी अवस्थामा बस्नु पर्ने रहेछ भन्ने सिकाई भएको छ । साथै, अग्नी र भूकम्प बीमामा बैकसँग मात्र निर्भर हुनु गल्ती भएछ भन्ने बजारको सिकाई छ । भूकम्प पछि पनि बीमा व्यवसाय विस्तार उल्लेख्य रुपमा वृद्धि नहुनुमा बीमा कम्पनीहरुको दिने सेवामा विविधता कमी, नविनताको कमी, बजारीकरणको लागि गरिएको कमजोर प्रयास दोषी होइन ? बीमा व्यवसाय विस्तार न्यूनस्तमा हुनुमा धेरै कारणहरु छन् । गरिबी मुख्य कारण हो । कुल ग्राहस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषिको छ । ६५ प्रतिशतभन्दा बढी मानिसहरु कृषि व्यवसायमा आश्रित छन् । उनीहरुलाई बीमा सेवा दिने प्रयास भरखरै शुरु भएको छ । गाउँस्तरमा बीमाको बारेमा जनचेतना फैलाउन सकिएको छैन । बाली तथा पशुपन्छी बीमाको प्रिमियममा सरकारले दिने अनुदान सहयोगबारे उचित जानकारी, बीमा गर्दा हुने लाभका बारेमा साधारण कृषक अझै बेखवर छन् । कृषकहरुले वृहत रुपमा बाली तथा पशुको बीमा गर्ने अभ्यास नहुँदासम्म बीमा कम्पनीहरुले पनि यो क्षेत्रबाट लाभ लिन सक्ने देखिदैन । यतिबेला बाली तथा पशुधनको बीमा गरेर कुनै पनि कम्पनीले नाफा कमाएका छन् भन्ने मलाई लाग्दैन । अहिले नाफा नभए पनि भविष्यमा राम्रो होला भन्ने आशामा बीमा कम्पनीहरुले यो क्षेत्रमा काम गरिरहेका छन् । बीमाबारेमा जनचेतना कमी ठूलो समस्या हो भनेर पहिचाहन भएको वर्षौ भयो, समाधानतर्फ प्रयास किन भएन ? बीमाको महत्व बुझाउने प्रयास सबैतिरबाट भएका छन् । सञ्चार माध्यमहरुले पनि बीमाको विषयलाई स्थान दिएका छन् । बीमा कम्पनीहरुले पनि आफ्ना सेवाबारे आमसञ्चारको माध्यमबाट लैजाने काम गरेको छन् । एजेन्टहरुले निकै मिहेनत गरिरहेका छन् । बीमा समितिले पनि प्रचार प्रसारको काम गरिरहेको छ । तर सबैले दिने सन्देश सहरी क्षेत्रमा सीमित छन् । ग्रामिण तहमा पुगेन । बीमा गर्नुपर्छ भन्ने जानकारी भएर पनि बीमा नगर्ने संस्कार अर्को ठूलो समस्या हो । सामाथ्र्य भएका, बीमाबारे जानकारी भएका मानिसहरु पनि बीमा गर्दैनन् । घर बनाउने बेलामा २ प्रतिशत व्याज बढी तिरेर ऋण लिन तयार हुने, व्याजमा वर्षमा लाख तिर्न तयार हुने मान्छे बीमा गर्दा वर्षमा हजार रुपैयाँ तिर्न तयार हुँदैन । यो पनि ठूलो समस्या हो । ५० लाख रुपैयाँ खर्च गरेर घर बनाउँदा बीमा शुल्क करिव ५ हजार रुपैयाँ लाग्छ । त्यो पनि तिर्न मानिस तयार हुँदैन । बुझाईमा नै समस्या भयो । बीमा कम्पनीहरुले पनि यसमा प्रो एक्टिभ रोल खेल्न नसकेका हुन् नि, होइन ? बीमा कम्पनीहरु सेवा बेच्न बसेका हुन् । उनीहरुको बढीभन्दा बढी मानिसलाई आफ्नो सेवा पुर्याउन चाहान्छन् । बीमा कम्पनीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नु छ । भएका ग्राहकले नछोडुन्, नयाँ ग्राहक ल्याउन सकियोस् भन्ने चाहाना सबै कम्पनीको हुन्छ । बीमा व्यवसाय एजेन्टबाट हुने भएकाले एजेन्टहरु घरदैलोमा पुगेका हुन्छन् । बीमा बुझेका मान्छे बीमा कम्पनीमा आएर बीमा गरिदिनुहोस् भन्छन्, नबुझेका मान्छेलाई बुझाउन गाह्रो छ । पछिल्लो समयमा फेक क्लेम बढेको भन्ने सुन्नमा आएको छ, बास्तविकता के हो ? प्रक्रिया पुरा गरेर, प्रमाण जुटाएर आएका दावीलाई फेक वा फर्ड क्लेम भनेर हामीले भन्न मिल्दैन । केही ग्राहकहरु घट्ना भएपछि पनि प्रक्रिया पुरा गर्न, आवश्यक कागजपत्र जुटाउन नसकिरहेको पाईन्छ । केही ग्राहकको नियत अलि खराव हुन्छ । हुँदै नभएको क्षतिमा दावी गर्ने गरेको पाइन्छ । तराई बन्दको क्रममा केही सवारीमा सवारी मालिकले आफैले आगो लगाएको खबर पनि आए । तर सबुत प्रमाण जुटाएर कसैले ल्याउँछ भने बीमा कम्पनीले त्यसलाई झुटो हो भनेर प्रमाणीत गर्न सक्दैन । प्रभु इन्स्योरेन्सका सेयरधनीले आगामी आर्थिक वर्षमा कस्तो प्रतिफल पाउँलान् ? बीमा कम्पनीले भविष्यमा दिने लाभांशबारे अनुमान गर्नु नै गलत हुन्छ । भविष्यमा के कस्तो घट्ना घट्छ, त्यसको असर बीमा कम्पनीलाई कति पर्छ भनेर अनुमान गर्न गाह्रो छ । कम्पनीको व्यस्थापनले पक्कै पनि व्यवसाय विस्तार गर्न चाहान्छ र नाफा वृद्धि गर्न चाहान्छ । यस कम्पनीले विगतका वर्षहरुमा पनि १०/१५ प्रतिशत लाभांश दिएको छ । विगतमा भन्दा बढी लाभांश दिने लक्ष्यका साथ काम गरिरहेका छौं । गत वर्ष भूकम्पले ठूलो क्षति पुर्यायो । त्यतिधेरै क्षति हुँदा पनि पुस मसान्तसम्म साधारणसभा गर्ने प्रभुसहित तीन वटै निर्जीवन बीमा कम्पनीले १२ प्रतिशतभन्दा बढी लाभांश दिए । यसको बीमा कम्पनीको सेयरमा लगानी गर्नु सुरक्षीत लगानी हो ? यो जटिल प्रश्न हो । निर्जीवन बीमा कम्पनीमा गरिएको लगानी उच्च जोखिमपूर्ण हुन्छ । गत वर्ष भूकम्पले सबैभन्दा बढी नोक्सान निर्जीवन कम्पनीमा पुर्याएको हो र पनि पुस मसान्तसम्म साधारणसभा गर्ने सबै कम्पनीले राम्रो डेविडेन्ट दिए । त्यसो भन्दैमा यो क्षेत्रमा जोखिम हुँदैन भन्ने होइन । बीमा कम्पनीहरुको सेयर मूल्य किन बढीरहेको छ ? तपाईले भनेजस्तै गत वर्ष ठूलो क्षति बेहोरेको अवस्थामा पनि बीमा कम्पनीहरुले लाभांश दिए, भविष्यामा किन नदेलान् भन्ने विश्वास लगानीकर्तामा पलाएको पनि होला । साथै पुँजी वृद्धिको लागि नयाँ ऐनमा प्रस्ताव गरिएकोले बोनस सेयर पाइन्छ भन्ने पनि हो ।