२०७१ पुष १६ गते १३:४० विकासन्युज
१६ पुस । कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले बैंकहरूलाई कृषि ऋणमा रुचि नभएको बताएका छन् । बुधबार बसेको समिति बैठकमा सभापति थापाले आफूले परिचय नखुलाई विभिन्न बैंकमा कृषि ऋणका लागि पहल गर्दा कुनै पनि बैंकले चासो नदेखाएको उनले बताए ।
किसानलाई ६ प्रतिशत ब्याजमा सरल तरिकाले ऋण दिनु भनेर नेपाल राष्ट्र बैंकले करिब ६ महिनाअघि वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो । सो निर्देशनअनुसार बैंकहरूले ऋण दिन्छन् कि दिँदैनन् भनेर थापा आफैंले केही बैंकमा आफ्नो परिचय नखुलाई जानकारी लिए ।
कृषिमन्त्री हरिप्रसाद पराजुली, गभर्नर डा.युवराज खतिवडा, अर्थ मन्त्रालयका सहसचिवहरूसमेत सहभागी बैठकमा सभासद्हरूको भनाइ थियो, गगन थापाजस्ताले कृषि ऋण पाउँदैनन् भने अरुले कसरी पाउँछन् ? त्यसपछि मात्रै कृषि ऋण सम्बन्धमा नेपाल राष्ट्र बैंकले दिएको निर्देशन वाणिज्य बैंकहरूले पालना नगरेको खुलासा भएको थियो ।
बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले कृषि ऋण सम्बन्धमा वाणिज्य बैंकहरूलाई निर्देशिका जारी गरेको दाबी गर्दै भने, ‘राष्ट्र बैंकका निर्देशन कानुनसरह हुन्छन, वाणिज्य बैंकहरूले पालना गर्नैपर्छ ।’ तर उनले राष्ट्र बैंकको निर्देशन पालना नगर्ने वाणिज्य बैंकहरूमाथि कारबाही हुन्छ कि हुँदैन भन्ने विषयमा केही कुरा खोलेनन् ।
समिति बैठकमा उपस्थित अर्थ मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले पनि कृषि कर्जा कार्यविधिअनुसार वाणिज्य बैंकहरूले ऋण प्रवाह नगरेको बताएका थिए । उनले कार्यविधि बनेको पाँच महिना १६ दिन भइसक्दा पनि बैंकहरूले किसानलाई ऋण नदिएको बताए ।
तर बैंकर्स संघका उपाध्यक्ष रत्नराज बज्राचार्यले कृषि कर्जासम्बन्धी कार्यविधि बैंकहरूले प्राप्त नगरेको बताए । उनले कार्यविधि अहिले संशोधनका क्रममा रहेको र कृषि ऋणमा यसो गर भनेर राष्ट्र बैंकले निर्देशन दिइ नसकेकाले आफूहरू ऋण दिने विषयमा अलमलमा परेको बताए । ‘तर ऋण नै नदिएको चाहिँ होइन,’ बज्राचार्यले भने, ‘हामीले धेरै किसानलाई कर्जा दिएका छौं ।’ ६ प्रतिशत ब्याजमा ऋण दिने काम भने बैंकहरूबाट नभएको उनले बताए । आफूहरूलाई किसानलाई ऋण दिँदा ६ प्रतिशत मात्रै ब्याजदर निर्धारण गर्नु भन्ने औपाचारिक निर्देशन राष्ट्र बैंकबाट नआएको उनले बताए ।
त्यसपछि राष्ट्र बैंकका गभर्नर खतिवडाले बज्राचार्यको दाबीको तत्काल खण्डन गरे । कृषि कर्जासम्बन्धी कार्यविधि आएको ५ महिना भइसकेको र बैंकहरूलाई धेरै पटक निर्देशन दिइएको उनले दावी गरे । ‘राष्ट्र बैंकका निर्देशन कानुनसरह हुन्छन्, बैंकले पालना गर्नुपर्छ,’ उनले भने, ‘हामीले बैंकहरूलाई धेरैपटक निर्देशन दिइसकेका छौं, अहिले आएर निर्देशन छैन भन्नु गलत हो ।’ उनले राष्ट्र बैंकको निर्देशन पालना नगरे कानुनबमोजिम दण्ड जरिवाना हुने भन्दै सचेत हुन बैंकर्सहरूलाई आग्रह गरे ।
संशोधित कार्यविधिअनुसार २१ देखि ५० वर्षसम्मका कृषकहरूले कृषि कर्जा पाउनेछन् भने अबदेखि बाण्ँिज्य बैंकहरूले पनि कृषिका लागि कर्जा दिनुपर्नेछ ।न्युजभित्ता
Copyright © 2025 Bikash Media Pvt. Ltd.