यसरी ई–मनीले विस्थापन गर्दैछ नोट कारोबार

  २०७१ पुष २० गते १२:५७     विकासन्युज

२० पुस । पछिल्लो समयमा मुद्राको परिभाषा बदलिएको छ । भुक्तानीका लागि सरकारी अधिकारीको आधिकारिक हस्ताक्षर, स्पेसिफिकेसन र सरकारी ग्यारेन्टी उल्लेख गरिएको नोट चाहिन छाडेको छ । मुद्राको डिजिटल प्रयोगले सबै प्रकारका भुक्तानीमा नोट नभए पनि हुने अवस्था सिर्जना भएको छ ।
अहिले टेलिकम सेवा प्रदायक सबै कम्पनीको बिल भुक्तानी कार्डबाटै गर्न सकिन्छ । पैसा तिर्नका लागि लाइनमा बसिरहनुपर्ने बाध्यता छैन । त्यस्तै पानी, बिजुली, सरकारी कर, जरिवाना र महसुलहरू पनि आफ्नो खाताबाट तिर्नुपर्ने व्यक्ति तथा संस्था र निकायको खातामा सार्न सकिने भएको छ ।
प्रविधिको विकास र प्रयोगले होटल रेस्टुरेन्टको विल, हवाईजहाजको टिकट खरिद र सपिङ मलहरूमा हुने खरिदको भुक्तानी पनि कार्डबाटै हुन थालेको छ । यस्तै, मोबाइलबाट रकम ट्रान्सफर गर्न मिल्ने प्रविधिका कारण यसैबाट कसैलाई सापटी दिन र फिर्ता लिन पनि सकिने अवस्था सिर्जना भएको छ ।
प्रविधिको प्रयोगले कागजी नोटको प्रयोग कम हुने भए पनि नेपालको ग्रामीण क्षेत्रमा अझै यस्तो सुविधा पु¥याउन नसकिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता मनमोहनकुमार श्रेष्ठको भनाइ छ । सहरी क्षेत्रमा भने कागजी नोटको प्रयोग कम हुँदै गएको उनले बताए ।
‘सहरी क्षेत्रमा नोटको प्रयोग कम हुदै गएको तथ्यांकले पनि देखाएको छ,’ श्रेष्ठ भन्छन्, तर ग्रामीण क्षेत्रमा बैंकिङ सुविधा र पूर्वाधारको कमीका कारण अपेक्षाकृत सुधार हुन सकेको छैन । ग्रामीण क्षेत्रमा बैकिङ सुविधा बढाउन र अत्याधुनिक प्रविधि स्थापित गराउन नेपाल राष्ट्र बैंकले विभिन्न सुविधासमेत दिएर बैंक तथा वित्तीय संस्थाहरूलाई प्रोत्साहन दिइरहेको उनको भनाइ छ ।
धेरैले आजकाल खल्तीमा पैसा बोकेर हिँड्न छाडेका छन् । नगद खल्तीमा बोकेर हिँड्दा हराउने चिन्ता र लुटिने डरले सताइरहने भएकाले विकल्पको रूपमा प्रविधियुक्त बैकिङ उपकरण प्रयोग गर्न थालिएको हो । आफूलाई पैसा चाहिने ठाउँकै नजिकको बैंकको शाखा कार्यालयवाट निःशुल्क रूपमा चेक साट्न पाइन्छ । यस्तै चेक साट्न नपाइने राति वा सार्वजनिक विदाको दिन एटीएमबाट निःशुल्क रूपमा पैसा झिक्न पनि पाइन्छ ।
बैंक तथा वित्तीय संस्थाले प्रविधिमा धेरै लगानी गरेर अन्तरशाखा कारोवार (एबीबीएस) सुविधा निःशुल्क दिन थालेपछि नगदै बोकेर हिँड्नुपर्ने समस्या हटेको छ । बैंकहरूले एक शाखामा राखेको पैसा अर्काे शाखाबाट झिक्दा शुल्क लिँदैनन् । यही सुविधा प्रयोग गरेर सर्वसाधारण आफू कार्यरत ठाउँको नजिकको शाखामा पैसा राख्ने र आफूले खर्च गर्नुपर्ने ठाउँको नजिकको शाखाबाट झिक्न थालेका छन् ।
exchangeनेपालीमा बढ्दै गएको यो बैंकिङ बानीले नेपाल प्रहरी र नेपाल राष्ट्र बैंकको पनि चिन्ता कम गरिदिएको छ । बाटोमा यात्रु लुटिएलान् भन्ने प्रहरीको चिन्ता केही कम भएको छ । त्यस्तै नोटको बढी प्रयोग हुदा चाँडै थोत्रो हुने र नयाँ नोट छाप्न निकै महंँगो हुने भएकाले नोटको कम प्रयोगमा राष्ट्र बैंकको पनि चिन्ता रहँदै आएको थियो । नगदै बोकेर नहिँडे पनि आफूलाई चाहिने ठाउँमा पैसा पाउँदा सर्वसाधारण त खुसी हुने नै भए ।
बैंकिङ क्षेत्रको विकासले नगदै बोकेर हिँड्नुपर्ने समस्या समाधान भएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष उपेन्द्र पौडेलको भनाइ छ । ‘तपाईसँग जहाँ पैसा हुन्छ त्यहीँको शाखामा राख्नुस, जहाँ चाहिन्छ त्यहीको शाखाबाट झिक्नुस्,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका पौडेलले भने, सबै दिन बैंकका शाखा खुल्ला हुन्छन, २४ सै घन्टा खुल्ने एटिएम छन्, कतिपय ठाउमा बैंक तथा वित्तीय संस्थाले प्रदान गरेका कार्ड पनि प्रयोग गर्न सकिन्छ, यति सुविधा भएपछि नगदै बोकेर हिड्नै परेन ।
पछिल्लो समयमा देशका शहरी र अर्धशहरी क्षेत्रमा मात्र होइन दुर्गम गाउमा पनि बैंकका शाखा खुलेका छन् । गाउगाउसम्म पुगेका बैंकले सर्वसाधारणलाई गाउमै पैसा दिइरहेका छन् । भौतिक रुपमा शाखा नपुगेका ठाउमा पनि बैंकहरुले शाखारहित सेवा पनि दिइरहेका छन् । यस्तै प्रविधिको प्रयोगले मोवाइलवाटै रकम राख्न र झिक्न सकिने सुविधा पनि दिइरहेका छन् ।
नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बैंकहरुले सर्वसाधारणलाई नगदै बोकेर हिड्नु पर्ने बाध्यतावाट मुक्त गराएको बताउछन् । ‘नगदै बोकेर हिड्नै परेन, देशको एक कुनामा भएको बैंकको शाखामा राखेको पैसा कुनै शुल्न नै नतिरी अर्काे कुनाको शाखावाट झिक्न पाइन्छ,’ ढुंगाना भन्छन्– भौतिक रूपमा बैंकका शाखा नभएको ठाउँहरूमा पनि सर्वसाधारणले शाखरहित बैंकिङ तथा अन्य प्रकारका सुविधामार्फत नगद राख्न र झिक्न पाइरहेका छन् ।
पछिल्लो समयमा बैंकिङ क्षेत्रको उल्लेख्य विकास भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अहिले देशभरमा वाणिज्य बैंकहरुका शाखा मात्रै १ हजार ५ सय ४७ पुगेका छन् । यस्तै विकास बैंकका शाखा ८ सय १८, फाइनान्स कम्पनीका २ सय ३९ र लघुवित्तका शाखा संख्या ८ सय २६ पुगिसकेको छ । यस्तै साढे २९ हजार भन्दा बढी सहकारी संस्थाहरुले पनि सर्वसाधारणलाई वित्तीय सेवा प्रदान गरिरहेका छन् ।
बैंकहरुले १ हजार ६ सय ५२ एटिएम सेन्टर संचालनमा ल्याएका छन् । कतिपय बैंकहरुले एक बैंकको एटिएम कार्ड अर्काे बैंकको एटिएममा प्रयोग गर्दा पनि सामान्य मात्रै शुल्क लाग्ने सम्झौता गरेका छन् । यस्तै विभिन्न बैंकहरूले ५ सय ४ स्थानमा शाखारहित बैंकिङ सेन्टर स्थापना गरेका छन् ।
शहरी क्षेत्रमै किनमेलको लागि बैंकहरुले प्रदान गरेका क्रेडिट कार्ड, प्रिपेड कार्ड जस्ता कार्ड सहयोगी हुन्छ । यस्ता कार्ड वाहकले सपिङ मल, होटल, रेष्टुरेन्ट, सिनेमा हल जस्ता ठाउहरुमा बस्तु खरिद र सेवा प्रयोग गर्दा पनि नगदको साटो कार्डवाट भुक्तानी गर्ने सुविधा पाएका छन् । यो सवै उपलब्धी बैंकिङ्ग सेवामा प्रविधिको प्रयोगले सम्भव भएको हो । यस्तै विभिन्न सपिङ मलहरुमा बैंकहरुका एटिएम सेन्टर स्थापना भएका छन् । यी सवै ग्राहकको सुविधाकै लागि हुन् ।