२०७१ फागुन १२ गते १६:५७ विकासन्युज
१२ फागुन/कुनै पनि कम्पनीले साधारणसभा गरेपछि कति दिनमा लाभांश वितरण गर्नुपर्छ ?
नेपाल धितोपत्र बोर्डका निर्देशक तथा प्रवक्ता निरज गिरी भन्छन्–‘विदेशमा साधारणसभाबाट पारित भएको भोलिपल्ट नै सेयरधनीको खातामा पठाईन्छ । नेपालमा कम्पनी ऐनले ढिलोमा ४५ दिन भित्र लाभांश वितरण गरिसक्नु पर्ने भनेको छ ।’
४५ दिन लामो समय भयो भन्ने गुनासो लगानीकर्ताबाट आईरहेको उनले बताए । तर कम्पनीहरुले ४५ दिनमा पनि लगानीकर्तालाई लाभांश दिदैनन् ।
नविल बैंक लिमिटेडको ३० औं साधारणसभा गत मंसिर १६ गते सम्पन्न भयो । साधारणसभाले सेयरधनीलाई ४५ प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर दिने निर्णय ग¥यो ।
साधारणसभा सम्पन्न भएको तीन महिना बित्नै लाग्दा पनि नविल बैंकले सेयरधनीलाई बोनस सेयर वितरण गरेको छैन । सेयर डिपार्टमेन्टका अफिसर प्रकाश बसुकलाका अनुसार राष्ट्र बैंकले नै बैंकको साधारणसभाले गरेको निर्णयलाई स्वीकृति गरेको छैन ।
स्रोतका अनुसार साधारणसभाले पारित गरेको बैंकका अध्यक्ष र सञ्चालकको बैठक भत्ता वृद्धि सम्बन्धि प्रस्ताव राष्ट्र बैंकले रोकिदिएको छ । साधारणसभाले सञ्चालक समितिको बैठक भत्ता ५० प्रतिशतसम्म वृद्धि गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार प्रति बैठक अध्यक्षले १५ हजार रुपैयाँ र सञ्चालकले १२ हजार रुपैयाँ भक्ता पाउनेछन् । उपसमितिहरुको बैठकमा सहभागि हुँदा पनि सोही अनुसार भत्ता पाउने साधारणसभाले पारित गरेको माइन्यूटमा उल्लेख छ ।
यसअघि प्रति बैठक अध्यक्षले १० हजार रुपैयाँ र सदस्यहरुले ८ हजार रुपैयाँ भत्ता बुझदै आएका थिए । वृद्धि गरिएको भत्ता कम्पनीको विनियमावलीमा समावेश गरि संशोधन गर्नुपर्छ र त्यसमा राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यलयले अनुमोदन गर्नुपर्छ ।
कम्पनी सचिव अनिल खनालले बोनस सेयर वितरण गर्ने प्रक्रियामा बैंक लागि रहेको बताए । बोनस सेयर छापेर वितरण गर्न तयारी अवस्थामा राखिएको तर राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यलयबाट लिनुपर्ने स्वीकृति नपाएको बताए ।
उता राष्ट्र बैंकका प्रवक्ता डा. मीनवहादुर श्रेष्ठले नविल बैंकको कुनै फाइल पेन्डिङमा नभएको बताए । बोनस सेयर वितरण नहुनुमा बैंकको आन्तरिक कारण हुनसक्ने उनले संकेत दिए ।
तीन महिनाअघि सर्वसहमतिमा चुनिएका सञ्चालक लालमणि जोशीले राजीनामा दिएका छन् । सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्दै सञ्चालक बनेको जोशीले किन राजीनामा गरेका गरेका हुन् ? सार्वजनिक गरिएको छैन । उनको राजीनामा बारे कम्पनी सचिव खनालले केही पनि उल्लेख गर्न चाहेनन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली सम्पर्कमा आउन चाहेनन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.