२०७२ जेठ १० गते १८:२६ विकासन्युज
बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि नेपाल रेडक्रस सोसाईटीले के कस्तो काम गरिरहेको छ ?
भूकम्प गएपछि नेपाल रेडक्रस सोसाईटीले करिब सात हजार स्वंयसेवक परिचालन गरेको छ । उनीहरुले घट्नाको बस्तुगत जानकारी लिने, खोज तथा उद्दार गर्ने, प्राथमिक उपचार गर्ने, राहात सामाग्री वितरण गर्ने, तयारी खाना दिने, सरसफाईको काम गर्ने लगायतका धेरै काम गरिरहेका छन् ।
शुक्रबारसम्म हामीले करिब ६० हजार त्रिपाल वितरण गरेका छौं । करिब १७ हजार वटा व्याङ्केट वितरण गरेका छौं । करिब तीन हजार परिवारलाई फूल प्याकेज राहात वितरण गरेका छौं । त्यसमा त्रिपाल, ब्याङकेट, कपडा, भाडाकुडा छन् । ६ हजार १३६ जनालाई प्राथमिक उपचार सेवा प्रदान गरेका छौं । खानेपानी र सरसफाईका क्षेत्रमा पनि धेरै काम भएका छन् ।
त्रिपाल भन्दा पनि टेन्टको माग धेरै भएको देखिन्छ, थप टेन्ट वितरण गर्ने योजना के छ ?
हामीले आह्वान गरेको तारपोलिन (पाल) हो । चाइना रेडक्रसले दुई हजार टेन्ट ल्याएर वितरण ग¥यो । टर्किस रेडक्रसले १५० वटा टेन्ट ल्याएर बाँड्यो । साउदी अरेविया रेडक्रसले २०० टेन्ट ल्याएर वितरण गरेको छ । यस्तो टेन्ट कार्यलय सञ्चालन प्रयोजनमा वितरण भएका छन् । बढी प्रभावित जिल्लामा २÷२ सयको दरले वितरण गरेका छौं । विभिन्न देशका रेडक्रस सोसाईटीहरुले आ–आफ्नै तरिकाले राहात वितरणमा गरेका छन् । नर्वेजियन रेडक्रसले काभ्रेमा ५६ वेडको हस्पिटल नै चलाएर सेवा गरिरहेको छ । कोरियन रेडक्रसले मोवाईल हेल्थ क्याप सञ्चालन गरिरहेको छ ।
रेडक्रसले वितरण गर्ने राहत तथा सेवा सुविधा लिन रेडक्रसका कर्मचारीसँग, यसको सञ्चालकसँग प्रत्यक्ष पहुँच हुनुपर्छ, पहुँच नहुनेले पाउँदैन भन्ने आरोप छ नि ? राहात वितरण गर्ने प्रणाली के हो ?
पहुँच हुनेले पाउने, पहुँज नहुनेले नपाउने होइन । माग धेरै भयो, आपूर्ति कम भयो । साढे पाँच लाख घर पूर्ण क्षति भएको छ, साढे दुई लाख घर आंशिक क्षति भएका छन् । उनीहरु सबैलाई त्रिपाल चाहिएको छ । घर क्षति नभएका परिवार पनि भूकम्पको पराकम्पनको डरले घर बाहिर रात विताउन चाहन्छन् । उनीहरुको लागि पनि त्रिपाल चाहिएको छ । हामीले जम्मा ८० हजार त्रिपाल बाढ्ने योजना बनाएका छौं । सबैलाई पु¥याउने सकिदैन । पाउने भन्दा नपाउनेको संख्या धेरै छ । नपाउनेले ‘रेडक्रसले मलाई त्रिपाल दिएन, पहुँचवालालाई मात्र दियो’ भन्नु स्वभाविक हो । म आफैले रेडक्रसबाट त्रिपाल, टेन्ट केही लगेको छैन । रेडक्रसमा स्वयंसेवा गर्नेले समेत त्रिपाल पाउन नसकेको अवस्था छ ।
दोस्रो, नेपाल रेडक्रस सोसाईटीले स्थापना (वि.सं २०२०) भएदेखि उद्दार तथा राहात वितरणका काम गर्दै आएको छ । ५२ वर्षसम्म काम गरेको अनुभव छ । नेपाल रेडक्रस उद्दार तथा राहातका काम व्यवस्थित बनाउन प्रकोप प्रतिकार्य निर्देशिका बनाएको छ । सबै काम त्यो निर्देशिका अनुसार भएको छ ।
तेस्रो, राहात वितरणको काम नेपाल रेडक्रस सोसाईटीको केन्द्रीय कार्यलयबाट हुँदैन । ७५ जिल्लामा जिल्ला शाखा छन् । जिल्लाहरुमा पनि उपशाखा छन् । जिल्ला शाखा र उपशाखाले मात्र राहात वितरण कार्य गर्छन् । स्थानीय तहमा राहात वितरण गर्दा बढी प्रभावित क्षेत्र, समूह, व्यक्तिलाई, जोमिममा परेका समूहलाई बढी प्राथमिकता दिईन्छ ।
एउटा व्यक्तिले पाँच वटा त्रिपाल संकलन गर्न सक्ने, अर्को व्यक्तिले एउटा त्रिपाल पनि नपाउने, एउटाले ६ महिनालाई पुग्ने खाद्यन्न संकलन गर्ने, अर्कोले एक हप्तालाई पनि जोहो गर्न नसक्ने अवस्था पनि देखिन्छ । दोहोरो÷तेहेरो राहात सुविधा लिने प्रवृति रोक्न के गर्नुभएको छ ?
तपाईले भनेको कुरामा केही सत्यता होला, तर ज्यादै धेरै डुब्लिकेशन भएको छैन । राहात वितरणमा धेरै संघ संस्थाले काम गरेका छन् । उनीहरुले राहात वितरण गर्दा जिल्ला दैविक प्रकोप उद्दार समितिसँग समन्वय गरेर काम गर्नुपर्छ । उद्दार समितिभित्र राहात वितरण उपसमिति छ । उपसमितिले राहात वितरणको रेकर्ड राखेर काम गरेको अवस्थामा डूब्लिकेशन हुँदैन ।
आगामी योजना के के छन् ?
नेपाल रेडक्रस सोसाईटीले भूकम्पबाट भएको क्षतिबारे प्रारम्भिक सर्वेक्षणको काम गरिसको छ । २३ जिल्लामा अब विस्तृत सर्बेक्षणका काम शुरु भएको छ । त्यसका आधारमा नयाँ योजना पनि बन्दै जानेछन् । प्रारम्भिक सर्वेक्षण नतिजाअनुसार भूकम्पले ५७ वटा जिल्लामा धनजनको क्षति भएको छ । साढे पाँच लाख घरहरु पूर्ण क्षति भएका छन् । साढे दुई लाख घरमा आंशिक क्षति भएको छ । हामीले भूकम्प प्रभावित जिल्लाहरुलाई उच्च प्रभाव, मध्यम प्रभाव र कम प्रभावका आधारमा तीन वर्गका विभाजित गरेका छौं । हामी ८० हजार वटा त्रिपाल वितरण गर्ने योजना बनाएका छौं । त्रिपाल वितरणको काम सकिएपछि आवास निर्माणमा हामी केन्द्रीत हुनेछौं । सरकारले तोकेका अति प्रभावित १४ वटा र हाम्रो अध्ययनमा भूकम्पको मध्यम खालको प्रभाव परेका ९ वटा जिल्ला थप गरी २३ जिल्लामा ४० हजार परिवारलाई अस्थायी आवास निर्माण गर्ने गरी आवश्यक सामाग्रीहरु वितरणको तयारी गरिरहेका छौं । सामाग्रीहरु आईरहेको छन् । त्यसपछि निजी तथा सार्वजनिक भवनको पुर्ननिर्माणमा काम गर्ने योजना छ । जीविकोपार्जनमा सहयोग पु¥याउने उदेश्यसहित पेशा, व्यवसायको पुर्नउत्थानको काम गर्नेछौं । भूकम्प पीडित समूदायको पुर्नस्थापनाको क्षेत्रमा कम्तिमा आगामी दुई वर्ष नेपाल रेडक्रसले काम गर्छ । त्यस्तै, नेपाल रेडक्रस सोसाईटीको जिल्ला शाखाका १८ वटा भवन भत्केका छन, उपशाखाको भवनहरु भत्केका छन् । तिनीहरुको पुर्ननिर्माणको काम गर्नुछ । रेडक्रस सोसाईटीका शाखा, उपशाखाहरुको प्रतिकार्य क्षमता विकास गर्नुपर्छ ।
नेपाल रेडक्रस सोसाईटीको पार्टनर अर्गनाईजेशन को को छन् ?
इन्टरनेशनल फेडरेशन अफ रेडक्रस (आईएफआरसी) १८९ देशका रेडक्रस सोसाईटी सदस्य छन् । बैशाखमा भुकम्प आएपछि चाइना रेडक्रस, इन्डिया रेडक्रस, पाकिस्तान रेडक्रस, अमेरिकी रेडक्रस, व्रिटेन रेडक्रस, डेनिस रेडक्रस, स्वीस रेडक्रस लगायत २५ देशका रेडक्रस सोसाईटीहरुले हामीसँग काम गरिरहेका छन् । अरु देशका रेडक्रस सोसाईटीहरु पनि सहयोग गर्न आउने क्रम जारी छ ।
प्रकोप व्यवस्थापन गर्ने क्रममा आर्थिक स्रोत परिचालन कसरी गरिरहनु भएको छ ? अहिलेसम्म फण्ड राईजिङ कति भयो ?
नेपाल रेडक्रस सोसाईटीले हरेक वर्ष विपद्मा परेका १० हजार परिवारलाई नियमित कार्यक्रमबाट सहयोग गर्छ । बैशाख १२ गतेको भूकम्पबाट लाखौ परिवार पीडित भएका छन् । यस प्रकोप प्रतिकार्यका लागि हामीले ३३ मिलियन स्वीचफ्रेंक (करिव ३ अर्ब ५६ करोड रुपैयाँ) बराबरको सहयोग गर्न अन्तराष्ट्रिय समूदायलाई अपिल गरेका थियौं । बस्तुगत र नगद गरी हामीले अपिल गरेजति सहयोग प्राप्त भएको छ । अब हामी अहिलेसम्मको अवस्थाको मूल्याङकन गरेर थप सहयोगको लागि अपिल गर्नेछौं ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.