२०७२ असार १८ गते २०:५५ विकासन्युज
काठमाडौं, १८ असार । नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारण सभाले अध्यक्ष पदमा पशुपति मुरारका सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । महासंघको शुक्रबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाबाट मुरारका सर्बसहमत भएका हुन् । साधारसभापछि शुक्रबार नै बसेको कार्यसमितिको बैठकले वरिष्ठ उपाध्यक्षमा भवानी राणालाई सर्बसहमत चयन गरेको छ ।
अध्यक्ष पदका लागि मुराका, राणा र भाष्करराज राजकर्णिकारले उम्मेदवारी दर्ता गराएको थिए । तर पूर्व अध्यक्षहरुको प्रयास, महासंघ भित्र एकता चाहानेको प्रयासले राजकर्णिकार र राणाको उम्मेदवारी फिर्ता भई मुरारका सर्बसहमत भएका थिए । अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका राणा र राजकर्णिकारले सर्वसम्मतिको वातावरण निर्माण गर्न सहयोग पुर्याएकोमा नवनिर्वाचित अध्यक्षले विशेष धन्यवाद समेत दिएका छन् ।
निर्वाचन प्रक्रिय सकिए लगत्तै प्रमुख निर्वाचन अधिकृत गोविन्ददेव पाण्डेले उनलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको घोषणा गर्दै अध्यक्षको प्रमाणपत्र प्रदान गरेका थिए । तत्पश्चात उनलाई निवर्तमान अध्यक्ष सुरज वैद्यले अध्यक्ष पदको सपथ ग्रहण गराउंदै महासंघको अध्यक्षको पिन लगाईदिए । नवनिर्वाचित अध्यक्ष मुरारका आजै महासंघ सचिवालयमा गई अध्यक्षको पदवहाली समेत गरेका छन् । ।
निर्वाचित भए लगत्तै सभालाई सम्बोधन गर्नुहुंदै नवनिर्वाचित अध्यक्ष मुरारकाले महासंघलाई एकतावद्ध बनाएर निजी क्षेत्रका मुद्दाहरुलाई सशक्त रुपमा उठाउने बताए । उनले अव महासंघ एकढिक्का भएर अगाडी बढ्ने धारणा राख्नु हुंदै र मुलुकको आर्थिक विकासमा लाग्ने प्रतिवद्धता जनाए ।
को हुन् पशुपति मुरारका ?
नेपाल उद्योग वाणिज्य महासंघमा २०६० सालमा कार्यकारिणी समिति सदस्यबाट प्रवेश गरेका मुरारका २०६२ सालमा महासंघको आयकर तथा मुल्यअभिवृद्धि कर समितिका सह–सभापति, २०६४ सालमा बैंक वित्त तथा वीमा समितिको सभापति, २०६७ सालमहा संघको उपाध्यक्ष भएका थिए । २०७१ फागुनसम्म महासंघको वरिष्ठ उपाध्यक्षमा चुनिएका मुरारकाले चैत्र २०७१ देखि २०७२ असार १७ गतेसम्म कार्यवाहक अध्यक्षको पद समालेका थिए ।
सिरहाको लहानमा जन्मिएका भएका नवनिर्वाचित अध्यक्ष मुरारका वाणिज्य शास्त्रमा स्नातकसम्मको औपचारिक अध्ययन गरेका छन् । पशुपति मुरारका नेपाल उद्योग वाणिज्य महासंघको महासंघका पूर्व उपाध्यक्ष स्वर्गिय आत्माराम मुरारकाका छोरा हुन् । उनी नेपालको प्रतिष्ठित औद्योगिक समूह मुरारका अर्गनाइजेशनका प्रबन्ध निर्देशक हुन् । मुरारका अर्गनाईजेशनले नेपालमा खानीजन्य उद्योग, रड, पेन्ट्स, जलविद्युत लगायतका क्षेत्रमा लगानी गरेका छन् ।
बरिष्ठ उपाध्यक्षमा राणा
आजै महासंघमा बसेको कार्यकारिणी समितिको बैठकले महासंघमा रिक्त वरिष्ठ उपाध्यक्षमा महासंघको कार्यकारिणी समितिका सदस्य भवानी राणालाई निर्विरोध निर्वाचित गरेको छ । निर्वाचन प्रक्रिय सकिए लगत्तै प्रमुख निर्वाचन अधिकृत महानिर्देशक धरणीधर खतिवडाले राणा वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत निर्वाचित हुनु भएको घोषणा गर्दै वरिष्ठ उपाध्यक्षको प्रमाणपत्र प्रदान गरेका छन् ।
सोही समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष मुरारकाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष राणालाई पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । निर्वाचित भए लगत्तै संवोधन गदै वरिष्ठ उपाध्यक्ष राणाले आफू महासंघको निरन्तर प्रगतिमा लाग्ने विश्वास दिलाउंदै आफूले सबैको सहयोग पाउने बताइन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.