२०७२ असार ३० गते ११:२० विकासन्युज
काठमाडौं, ३० असार । सरकारले आगामी आर्थिक वर्षको लागि केही शिर्षकमा राजश्वको दर वृद्धि गरिएको छ । धेरै क्षेत्रमा करका दर बढाएको छ । केही शिर्षकमा छुट दिएको छ ।
मूल्य अभिवृद्धि कर दर्ताको लागि तोकिएको कारोबार सीमा रु २० लाखबाट वृद्धि गरी रु ५० लाख कायम गरिएको छ । व्यवसायीहरुले यो सीमा १ करोड बनाउन सरकारसँग माग गर्दै आएका थिए । मूल्य अभिवृद्धि कर लागू भएको २० वर्षपछि थ्रेस होल्ड परिवर्तन गरिएको छ ।
वार्षिक ५० लाख भन्दा कम कारोबार गर्ने व्यवसायीलाई भ्याटमा दर्ता हुनु नपर्ने भनिएको छ । तर वार्षिक ५० लाख सीमा भन्दा कम कारोबार गर्नेलाई कारोबार कर लगाउने बजेटमा घोषणा गरिएको छ । यस्तो कर बस्तु तथा सेवाको प्रकृति अनुसार फरक फरक तर एक प्रतिशत भन्दा कम रहेको अर्थमन्त्रालयका प्रबक्ता रामशरण पुडासैनिले बताए ।
विशेष उद्योग र पर्यटनसँग सम्बन्धित उद्योगले संचित मुनाफाबाट उद्योगको क्षमता बढाउन चाहेमा नाफाको पुँजीकरणमा लाभांश कर छुट गरिएको छ । एक सय जनाभन्दा बढी रोजगारी सिर्जन ागर्ने विशेष उद्योग र पर्यटन उद्योगलाई लाग्ने आयकरमा थप ३० प्रतिशत छुट गरिएको छ । निर्यात गृह तथा विशेष आर्थिक क्षेत्रमा निर्यात गरेमा खरिदमा तिरेको मूल्य अभिवृद्धि कर फिर्ता गरिने भएको छ ।
भूकम्पबाट प्रभावित जिल्लमा व्यवसाय पूर्ण क्षति भएका करदातालाई आयकर, अन्तःशुल्क, इजाजत दस्तुर र घर बहाल कर छुट गरिएको छ । निर्माण सामाग्रीहरुलाई भन्सार छुट दिईएको छ । जस्तापाता, त्रिपाल, टेन्ट आयातमा भन्सार ३० प्रतिशत लाग्दै आएकोमा १५ प्रतिशतमा झारिएको छ । इँटामा आयातमा भन्सार कर ३० प्रतिशतबाट १० प्रतिशतमा झारिएको छ ।
सुनमा प्रति १० ग्राम भन्दार कर एक हजार रुपैयाँ छुट गरिएको छ । सुन प्रति १० ग्राम ५ हजार २ सय भन्सार लाग्दै आएकोमा ४ हजार २ सय बनाईको छ । तर चाँदीको भन्सारमा प्रति १० ग्राम १ रुपैयाँ वृद्धि गरि ४६ रुपैयाँ कायम गरिएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्ने सहकारी तथा कम्पनीले ४० सिटभन्दा बढी क्षमताको सवारी आयात गनरेमा भन्सार ५ प्रतिशत मात्र लगाउने र अन्तःशुल्क र सडक मर्मत तथा सुधार दस्तुर छुट दिने भएको छ ।
सुर्ति तथा मदिरा जन्यबाहेक अन्य उद्योगले जग्गा खरिद गर्दा रजिष्ट्रेशन दस्तुरमा ५० प्रतिशत छुट गरिएको छ । माछा ढुवानी गर्ने अक्सिजन प्लाण्ट जडित ढुवानी साधानलाई भन्सारमा ५० प्रतिशत छुट गरिएको छ ।
सरकारले दिने निवृत्तिभरण (पेन्सन)मा सामाजिक सुरक्षा कर छुट गरिएको छ । यसअघि अन्य आम्दानीमा जस्तै एक प्रतिशत कर लाग्दै आएको थियो । त्यस्तै, वार्षिक ४० लाख रुपैयाँ भन्दा बढी आय गर्ने आर्थिक वर्ष २०७२/७३ देखि अनिवार्य रुपमा आय विवरण पेस गर्नु पर्नेछ ।
पुर्ननिर्माण कोष र प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा व्यवसायिक संस्था वा व्यक्तिले जम्मा गरेको रकम आयमा खर्च कट्टा गर्न पाउने व्यवस्था गरिएको छ ।कृषि बीमामा लाग्ने प्रिमियममा लाग्ने कर छुट गरिएको छ । जीवन बीमा भुक्तानीमा, मृत्यु दावी भुक्तानीमा लाग्ने सबै कर छुट गरिएको छ ।
चुरोड, बीयर र मदिरामा अन्तशुल्क वृद्धि गरिएको छ । चुरोटमा ११ प्रतिशतसम्म , मदिरामा १० प्रतिशत, वाईनमा ८ प्रतिशत र वियरमा ७ प्रतिशत अन्तःशुल्क वृद्धि गरिएको छ । आयातित मदिरमा लाग्ने भन्सार प्रतिलिटर २ सय वृद्धि गरि १२ सय रुपैयाँ गरिएको छ । चुरोट प्रतिखिल्ली १ रुपैयाँ वृद्धि गरि ४ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।
आर्थिक क्रियाकलाप बढाउने, भूकम्पबाट प्रभावित भएको अर्थतनत्र र व्यवसायलाई पुनरुत्थान गर्ने, स्वेच्छिक कर सहभागिता प्रवद्र्धन गर्ने, निर्यात प्रवद्र्धन गर्ने, आयात प्रतिस्थापन गर्ने, अवैध व्यापार नियन्त्रण गर्ने, विदेशी मुद्रा अपचलन रोक्ने र सम्पत्ति शुद्धीकरण निवारण गर्ने सरकारको मुख्य राजस्व नीति रहेको अर्थमन्त्री डा रामशरण महतले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.