२०७२ साउन १ गते १७:१७ विकासन्युज
तपाई राजनीतिक पृष्ठभूमिको व्यक्ति दुग्ध विकास संस्थानमा आउनुभयो, तपाईसँग संस्थान सुधारको योजना के छ ?
हो राजनीतिक पृष्ठभूमिको मान्छे । दुग्ध विकास संस्थनको अध्यक्षमा मेरो नियुक्तीसँग यहाँ राजनीति हावी हुन्छ भन्ने पनि आँकलन गरिएको पाएँ । मेरो पहिलो प्रतिवद्धता पनि यहि हो कि संस्थानमा राजनीतिकरण हुन दिन्न । पदभार समालेकै दिन मैले यहाँको अवस्था बुझ्ने कोशिर गरेँ । संस्थान इतिहासमा सबै भन्दा संकटको घडीमा छ यतिबेला । राजधानीमा मात्र एक लाख ४५ हजार लिटर दुध दैनिक संकलन भैरहेको छ । देशभर करिब २ लाख लिटर संकलन भैरहेको छ । तर भूकम्पपछि बिक्री अन्यत्तै कम छ । संकलन गरेपछि किसानलाई पैसा दिनै पर्छ । बटर र पाउडर दुधको ठूलो स्टक छ । कर्मचारीलाई तलब खुवाउने काम पनि मुस्किल हुने अवस्था बनिरहेको छ ।
सबैभन्दा पहिला म यी सबै कामको छिनोफानो लगाउने योजनामा छु । दैनिक कर्मचारी र व्यवस्थापकसँग कार्ययोजनाबारे निरन्तर छलफल भैरहेको छ । नबिकेको दुध भारत निर्यात गर्ने अन्तिम योजना बनिरहेको छ । किन्ने कम्पनी पनि तयार छ, हामी बेच्न पनि तयार छौं । क्वारेन्टाईनमा समस्या छ, त्यसलाई मिलाउने काम भैरहेको छ ।
अहिले दुधको अफ सिजन हो । भदौंदेखि सिजन सुरु हुन्छ । अफ सिजनमा त यस्तो अवस्था छ भने सिजनमा कस्तो होला ? तर सिजनमा पनि मिल्क होलिडे हुन दिँदैनौं । यो डीडीसीको प्रतिवद्धता हो । संस्थानसँग आठ वटा आयोजना छन । बालाजु बाहेकका सबै आयोजना घाटामा छन । अब सबै आयोजनालाई नाफामा लैजानु पर्ने चुनौति छ । पहिला नाफामा चलेको पोखरामा आयोजना पुनः विस्तार गर्ने योजना छ ।
संस्थानमा नयाँ प्रबिधि भित्र्याउनु पनि आवश्यक भैसककेको छ । थोरै जनशक्तिले धेरै काम गर्न सक्ने गरि प्रबिधिको विकास गरिनु पर्छ । कर्मचारीको मनोबल बढाउने र स्वेच्छाचारिता हटाउनु पर्नेछ । कर्मचारीले पनि संस्थामा आफ्नो भविष्य सुरक्षित महसुश गर्नुपर्छ । संस्थानको भविष्यासँग दुई लाख किसानको भविष्य जोडिएको छ । संस्थानको भवनहरु पनि जीर्ण बनेको छ । यसको निर्माण योजनामा छन् । यति गर्न सकियो भने डीडीसीले नयाँ इतिहास रच्ने छ ।
बजारमा खपत नभएको दुध के गर्नुहुन्छ ?
बचत भएको दुध घ्यु र पाउडर बनाएर भुटान र बंगलादेश निर्यात गर्ने सोचमा छौं । ती देशमा घ्यु र पाउडरको बजार छ । संस्थानले उत्पादन गरेको घ्युलाई रामदेवको पतंञ्जली योगपीठको घ्युले समस्या पारिरहेको छ । पतंञ्जली योगपीठको घ्यु १२ हजार किलो घ्यु भर्खर नेपाल भित्रिएको छ । यो घ्यु हाम्रो भन्दा प्रतिकिलो एक सय रुपैंयाँले कम मुल्यमा पाइने भएकाले पनि हामीलाई समस्या परेको छ । यस विषयमा हामी सरकारसँग छलफल गछौं ।
भूकम्पपछि दुधको खपत घटेको छ भन्नु भयो, माग घटेको अवस्थामा बिक्री बढाउने मूल्य किन घटाउनु भएन ?
मैले कृषि सचिवसँग दोहोरो मूल्यका बारेमा छलफल गरेको छु । सिजनमा एउटा मूल्य र अफ सिजनमा अर्काे मुल्य कायम गर्नुपर्छ । उपत्यकामा दैनिक एक लाख ४५ हजार लाख लिटर दुध संकलन गरिएको छ । तर बिक्री भने एक लाख १५ हजारको हाराहारीमा मात्रै छ । बाँकी रहेको दुधबाट पाउडर बनाईरहेका छौं तर अब त पाउडर भण्डारण गर्ने ठाउँ समेत छैन । पाउडर र घ्युको स्टक एक अर्ब रुपैयाँ बराबरको भईसक्यो । सामान्यतया ५० करोड भन्दा कम मूल्यको दुग्धजन्य बस्तु स्टक रहने गरेको विगतको तथ्याङ्कले देखाउँछ ।
यो अवस्थामा तत्कालका लागि सुधारका कार्यक्रम के के गर्दै हुनुहुन्छ ?
ठ्याक्कै घाटामा गईहालेको अवस्था होइन तर दुई हप्तापछि भने समस्या आउन सक्छ । किसानले दिएको दुध नकिन्ने भन्न मिल्दैन् । सरकारले किसानलाई दुध उत्पादन बढाउन भनेको छ । हामीलाई किन्ने अख्तियारी दिएको छ । हामीले दैनिक तीस देखि ३५ हजार लिटर दुध भारत निर्यातको तयारी गरिरहेका छौं ।
कति मूल्यमा भारतमा बेच्ने तयारी हो ?
हामीले किसानसँग प्रतिलिटर ३२ रुपैंयाँमा किन्छौं । उत्पादन लागतमा नै भारतलाई बेच्ने तयारी गरेका छौं ।
किसानसँग ३२ रुपैयाँमा किनेर नेपाली उपभोक्तालाई ६४ रुपैयाँमा बेच्ने ? भारतलाई भने उत्पादन लागतमा ?
तपाईको प्रश्न जायज हो । किसानसँग प्रति लिटर ३२ रुपैयाँमा लिएर प्रतिलिटर ६४ रुपैयाँ वा सोभन्दा बढीमा बेच्छौं । प्रसोधन कार्य सम्पन्न गर्दा प्रतिलिटर ४३ रुपैंयाँ पर्न आउँछ । हाम्रो उत्पादन लागत बढि नै छ । अब नयाँ प्रविधि भित्र्याएर उत्पादन लागत घटाउनु पर्छ । पुराना मेसिनलाई मर्मत गरेर प्रयोग भैरहेको छ । पुरानो मेसिन र मर्मत लागतका कारण उत्पादन लागत बढि भएको हो । अब नयाँ प्रविधि भित्र्याएर उत्पादन लागत घटाउँछौं । हाम्रो उत्पादन लागतभन्दा बढी मूल्यमा भारतलाई दुध बेच्ने सम्भावना छैन । नेपालमा भन्दा भारतमा कम लागत मूल्यमा दुध उत्पादन हुन्छ । त्यस कारण त्यहाँको निर्यात बजार पनि धेरै समय टिकाउन सकिन्न । त्यसैले नयाँ योजना बनाउनुको विकल्प छैन । नयाँ योजना बनाउने चरणमा छौं ।
डीडीसीले चितवन डेरी खरिद गर्ने कुरा आएको छ, त्यो सत्य हो ?
सस्ंथानले चितवन डेरी किन्ने भनेको छैन र त्यो सक्दैन पनि । हाम्रो सीधा कुरा छ, सरकारले किनेर दिन्छ भने हामी चलाउन तयार छौं । लिजमा दिन्छ भने पनि चलाउँछौं । तर खरिद गर्ने हैसियत छैन हाम्रो ।
चितवन डेरी चलाउने बिजनेश प्लान बनेको छ ?
त्यस्तो प्लान बनेको छैन । तर म आएपछि गरेको छलफलका अनुसार चितवन डेरीको व्यवस्थापन सञ्चालन गर्न सकिन्छ, त्यसबाट नाफा गर्न सकिन्छ । चितवन दुग्ध जन्य उत्पादनका लागि गतिलो बजार भएकाले पनि त्यहाँ हाम्रो उपस्थिति आवश्यक देखिन्छ । त्यसलाई पूर्ण क्षमतामा चलाउन पनि सकिन्छ । तर डीडीसीले नै उक्त डेरी किन्न सक्दैन । मन्त्रालयले पनि ठोस प्रस्ताव अगाडि बढाएको छैन ।
तपाईले पनि पोखरामा आयोजना विस्तार गर्ने कुरा गर्नु भयो । यसअघिको नेतृत्वले पनि यो विषय अगाडि बढाएको थियो । निजी क्षेत्रबाट विरोध भयो । राष्ट्रिय योजना आयोगको उपाध्यक्षको नेतृत्वमा स्थलगत अध्ययन भयो र सरकार नै पोखरामा डीडीडी जानु पर्दैन भन्ने निष्कर्षमा पुग्यो । डीडीसी फेरी किन त्यही कुरा गर्छ ?
तपाईले भनेको सही हो । योजनाको आयोगको रिपोर्टले पोखरामा डिडिसीको आवश्यकता छैन भन्ने आशयको रिपोर्ट दिएको थियो । तर पनि हाम्रो उपस्थिति आवश्यक छ । पर्यटकीय गन्तब्य भएकाले पनि त्यहाँ डिडिसीको सहभागीता अपरिहार्य छ । किसानहरुले पनि हाम्रो उपस्थितिको आवश्यकता महशुस गरेका छन । हामी मध्यपश्चिमको ठूलो बजारमा हामी जानै पर्छ । त्यसैले पशु सेवा विभागको भेडी फर्मको जग्गा किन्ने अन्तिम तयारी भैरहेको छ । नयाँ बजारमा बिक्री केन्द्र खोलिसकेका छौं । अब आयोजना पनि बन्छ ।
जहाँ नाफा छ र निजी क्षेत्रले लगानी गर्छ त्यो क्षेत्रमा सरकारले हस्तक्षेप नगर्ने भन्ने सरकारी नीति हो । सोही नीतिको आधारमा डीडीसीको पोखरा परियोजना निजीकरण भएको हो । यतिबेला सरकारी नीति र डीडीसीको कार्यक्रमबीच मेल खाएन नि ?
सिद्धान्ततः कुरा त्यहि नै हो । तर निजी क्षेत्रलाई दिईसकेपछि त्यहाँ फर्कनै हुँदैन भन्ने सरकारको नीति होइन । हामीले पोखरामा आयोजना सञ्चालन गर्दा त्यहाका उपभोक्ता, किसान र डिडिसीलाई नै पनि फाईदा नै गर्छ । पोखरामा निजी क्षेत्रले डीडीसीको त्यति ठूलो बिरोध गरेका छैनन् । हाम्रो आयोजना किनेको सुजल डेरीसँग हामीले सहकार्यमै काम गरिरहेका छौं । हामी पोखरा जाने भनेपछि सुजल डेरी झनै खुशी छ । त्यस्तो ठूलो बिरोध भैरहेको छैन ।
डीडीसीमा चुहावटको समस्या छ, क कसको घरमा दुधका प्याकेट उपहार पुग्छन ?
मैले पनि यहि कुरा सुन्ने गरेको हुँ । तर जुन दिनदेखि मैले यहाँको जिम्मेवारी सम्हाले त्यसदिन देखि त्यस्तो भएको छैन । म अध्यक्ष छु, मेरो घरमा पनि सित्तैमा एक प्याकेट दुध गएको छैन र जाँदैन पनि । २०५१ सालमा आरसी आचार्य सरले अध्यक्ष र महाप्रबन्धको दुबै जिम्मेवारी सम्हाल्नु भएको रहेछ । उहाँले आफ्नो अन्तरवार्तामा आफुले गरेको सबै भन्दा ठूलो काम भनेको राजदरबार र नेताका घरमा पुर्याउने उपहार रोकेँ भन्नु भएको थियो । मेरो कार्यकालमा पनि त्यहि हुन्छ । लुकिछिपी भयो भने छानबिन गरेर कारवाही गरिन्छ । संस्थानको उन्नति र प्रगती बाहेक अरु उदेश्य छैन ।
डीडीसीको गुणस्तर र तौलमा पनि प्रश्न उठ्ने गरेको छ नि ?
मैले पनि यस्तै गुनासो सुन्दै आएको छु । बजारमा चिया खाने ठाउँमा पनि मैले सोध्ने गरेको छु । कतिपयले डिडिसीको दुध गन्हाउँछ भनेको पनि सुँने । व्यवस्थापकसँग तत्काल कुरा गर्दा कहिले काँही कुनै कुनै प्याकेटमा समस्या हुने गरेको बताउनु भयो । सुधारको प्रक्रियाको चरण आरम्भ भैसकेको छ ।
नयाँ प्रविधि भित्र्याउने र भवन निर्माणको कुरा उठ्यो, यस्ता काममा आर्थिक अनियमितताका आरोप लाग्ने गरेका छन, कसरी चिर्नु हुन्छ यसलाई ?
खरिद बिक्री प्रक्रियामा यस्ता आरोप लाग्दै आएका छन् । अझ राजनीतिक नियुक्तीमा आएकाहरुले यस्तो आरोप अझ बढी खेप्दै आएका छन । म राजनीतिक नियुक्तबाटै यहाँ आएको हुँ तर यहाँ राजनीति नगर्ने प्रण गरेको छु ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.