भवन निर्माणसम्बन्धी मार्गदर्शन जारी, ६ मिटर बाटो, १.५ मिटर फुटपाथ छोड्नुपर्ने

  २०७२ साउन ३१ गते २१:३०     विकासन्युज

३१ साउन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ जारी गरेको छ । उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी सो मार्गदर्शन सार्वजनिक गरेका छन् । मार्गदर्शनमा सडकको चौडाइ, खाली राख्नुपर्ने जमिन र खुला क्षेत्रलगायत ५५ वटा मापदण्ड जारी गरिएको मन्त्रालयका सहसचिव गोपी खनालले जानकारी दिए ।

Bikashnews.com

Bikashnews.com

मापदण्डमा सडकको न्यूनतम चौडाइ छ मिटर हुनुपर्ने, सडकको न्यूनतम सेडव्याक सडक किनाराबाट १.५ मिटर छोड्नुपर्ने र सडकको न्यूनतम क्षेत्राधिकार छ मिटर कायम हुनुपर्नेलगायत मापदण्ड रहेको छ ।

उपत्यका र समथर भूभागबाहेकका हिमाली तथा पहाडी क्षेत्रका भिरालो जमिनको हकमा न्यूनतम क्षेत्राधिकार चार मिटर कायम गर्न सकिने पनि मापदण्डमा उल्लेख गरिएको छ । घुम्ती वा मोडको न्यूनतम अर्धव्यास बाटोको चौडाइभन्दा कम्तीमा २० प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरिएको छ । सार्वजनिक जग्गालाई बाटो देखाइ नक्सापास गर्न नपाइने व्यवस्था गरिएको पनि सहसचिव खनालले जानकारी दिए ।

आवासीय भवनमा २५० वर्गमिटरसम्मको क्षेत्रमा ३० प्रतिशत र सोभन्दा बढीको क्षेत्रफलमा ४० प्रतिशत जमिन खाली राखी भवन निर्माण गरिनुपर्ने व्यवस्था भएको छ । सरकारी, अर्धसरकारी र सार्वजनिक भवनमा ५० प्रतिशत जमिन खाली राखी भवन निर्माण गरिनुपर्ने भएको छ ।

सार्वजनिक, पर्ति, ऐलानी जग्गालाई खुलाक्षेत्र घोषणा गरी हरियाली पार्कका रुपमा रुपान्तरण गरिनुपर्ने र मन्त्रिपरिषद्को स्वीकृतिबिना सार्वजनिक जग्गा कोही कसैलाई हकभोग र उपयोगका लागि उपलब्ध गराउन नपाइने भएको छ । यो व्यवस्था साउन २९ गते सोमबारदेखि लागू गरिएको मन्त्रालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.