झलनाथ, विद्या,  नेम्बाङ  र लालबाबु राष्ट्रपतिको दौडमा

  २०७२ असोज २७ गते १०:४९     विकासन्युज

काठमाडौं, २७ असोज । एमालेले राष्ट्रपति र एकिकृत माओवादीले सभामुख लिने सहमति भएसँगै एमालेमा राष्ट्रपतिको बहसले तिब्रता पाएको छ । मुलतः एमालेमा राष्ट्रपति बनाउने बिषयमा चार नेताको नाम अघि सारिएको छ । पुर्व प्रधानमन्त्री झलनाथ खनाल राष्ट्रपतिका स्वभाविक र पुराना दावेदार हुन् । उनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नवौं महाधिवेशन अघि नै राष्ट्रपति बनाउने आश्वासन दिएको एमाले वृतमा चर्चा छ ।

Bikashnews.com
राष्ट्रपति बन्न पाउने आशमै खनालले महाधिवेशनमा गोप्यरुपमा ओलीलाई सघाएका थिए । एमालेभित्र राष्ट्रपतिको अर्का दावेदार हुन निवर्तमान सभामुख सुभाषचन्द्र नेम्बाङ । नेम्बाङलाई राष्ट्रपति बनाउन केपी ओली पनि सकारात्मक नै छन् । तर नेम्बाङ क्रिस्चियन धर्मावलम्बी भएकाले राष्ट्रपति बनाउन केहि अप्ठेरो रहेको एमाले श्रोतले बतायो ।

पार्टी उपाध्यक्ष तथा मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी राष्ट्रपति पदकी अर्की प्रतिष्पर्धी हुन् । प्रधानमन्त्री केपी ओली समेत उनलाई राष्ट्रपति बनाउने भित्रि खेलमा सामेल छन् । बरिष्ठ महिला नेतृ तथा मदन भण्डारी पत्नी भएकाले पनि उनलाई राष्ट्रपति बनाउन ओली र उनी निकटकाहरु दिलोज्यन दिएर लागिपरेका छन् । त्यसो त मुलुकको पहिलो महिला राष्ट्रपति बनाएर इतिहास लेख्ने अभियानमा समेत उनीहरु लागिपरेका छन् ।

राष्ट्रपतिको रेसमा सामेल भएका अर्का उम्मेदवार हुन निवर्तमान सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डित । डिभि, पिआर र ग्रीन कार्डधारी कर्मचारीलाई कारवाहीको बाटोमा ल्याएर वाहवाही कमाएका पण्डित मधेशी मुलका समेत हुन् । मधेशी जनताको सेन्टीमेन्ट र राष्ट्रवादी सोँचको जगमा पण्डितलाई राष्ट्रपति बनाउन माधव नेपाल समुह लागिपरेको छ ।