कुखुरामा सुली पनि नाफा छैन, औषधीमा धेरै फाइदा छ: दाहाल

  २०७२ मंसिर १४ गते १०:३८     विकासन्युज

भारतीय नाकाबन्दीको कारण औषधीको हाहाकार नै चल्यो, बस्तावमा नेपाली बजारमा औषधी उपलब्धता कस्तो छ ?
सरकार आफैंले भनिरहेको छ औषतमा १५ प्रतिशत मात्रै आयात भैरहेको छ । सीमा नाकामा औषधी बोकेका सवारी साधन रोकिएका छन् ।मुख्यतः तीन प्रकारका औषधी हुन्छन् । पहिलो भनेको क्रिटिकल केयरका औषधी, क्रोनिक केयरका औषधी र एकयुट केयरका औषधी हुन्छन् ।

 दीपकप्रसाद दाहाल, उपाध्यक्ष, नेपाल औषधी उत्पादक संघ

दीपकप्रसाद दाहाल,
उपाध्यक्ष, नेपाल औषधी उत्पादक संघ

क्रिटिकल केयरका औषधी भनेको अस्पतालमा लैजाने वित्तिकै इमरजेन्सीका बिरामीलाई चाहिने औषधी हो । क्रोनिक केयर भनेको मुटु, क्यान्सर, मधुमेह, मानसिक रोगका औषधी हुन् । यी औषधी मानिसले लामो समयसम्म निरन्तर खाईरहनु पर्छ । क्षणिक उपचार र उसका लागि आवश्यक पर्ने औषधी भनेको एक्युट केयरका औषधी हुन् । यी औषधी चाँही एन्टिबायोटिक अन्तर्गतमा पर्छन् । क्रोनिक केयर र एक्युट केयरका औषधी हामी नेपालमै बनाउँछौं । त्यसको अभाव छैन् । क्रिटिकल केयरका औषधी हामी विदेशबाट ल्याउँछौं ।
औषधी बिक्रेताहरुका अनुसार क्रिटिकल केयरका औषधीको पनि खासै अभाव छैन । वितरण प्रणालीको व्यवस्थापन गर्न नसकिएकाले समस्या आएको हो । अर्काे कुरा भनेको डाक्टरले एउटा ब्राण्डको औषधी लेखिदिए भने त्यो ब्राण्डको औषधी नपाउने वित्तिकै अभाव भयो भन्ने हल्ला चल्छ । तर फरक ब्राण्डका तिनै औषधी बजारमा भेटिन्छन । औषधीको अभावै नभएको होइन तर भनिएको जस्तो भयावह अवस्था भने होइन् । वितरण प्रणालीले समस्या पारेको हो ।

क्रिटिकल केयरका औषधी नेपालमा उत्पादननै नभएका हुन वा केहि भैरहेको छ ?
क्रिटिकल केयरका औषधीको उत्पादनका सवालमा केहि नभएको पक्कै पनि होइन । लार्ज भोल्युम प्यारेन्टलको फ्याक्ट्री नेपालमा बनिसकेको छ । डेक्सटस, एनएसए, लिभर फ्लोक्सासीन, मेट्रोनिडालका सलाइनहरु १० देखि १२ दिनमा उत्पादन आउँदैछ । त्यसले क्रिटिकल केयरका ५० देखि ५५ प्रतिशतसम्मको बजार थेग्न सक्छ । एन्टिबायोटिक इनजेक्टेबलको नेशनल हेल्थ केयर उद्योग छ । लार्ज भोल्युम प्यारेन्टलका लागि हिमालयन प्यारेन्टलका नाममा जनकपुरमा उद्योग खुलेको छ । जीतपुरमा नेपाल फर्मास्युटिकल्सले इन्जेक्टेबल ल्याउँदैछ । त्यसले ७० देखि ७५प्रतिशतसम्म आत्मनिर्भर हुन्छौं ।
deepak_prasad_dahal_22
नेपालमा इन्सुलिनको व्यापार १६ करोड जतिको छ तर त्यसका लागि दुई तीन अर्बको लगानी चाहिन्छ । त्यस्तो कारखाना नेपालमा खोल्न सकिन्न । त्यसका लागि विदेशी कम्पनीसँग समन्वय गरेर नेपालमा लेबलिङ गरेर दुईचार महिनाका लागि स्टक राख्नेगरि काम गर्न सक्छौं ।

क्रिटिकल केयरका औषधी भारतबाट कति आउँछ र तेश्रो मुलुकबाट कति आउँछ ?
क्रिटिकल केयरका औषधीहरु थोरै मूल्यका हुन्छन् तर ठूलो परिणाममा भारतबाट आयात हुन्छ । इलेथ्रोपेटिन, हिमेनोब्लिन जस्ता औषधी भारतमा पनि बन्दैनन् । त्यस्ता समान भने हामी तेश्रो मुलुकबाट ल्याउँछौं ।

नेपालमा बन्ने औषधीमा प्रयोग हुने कच्चा पदार्थ कति हाम्रो आफ्नै छ र कति आयात गरिन्छ ?
नेपालमा आयुर्वेदिक र एलोपेथिक पद्धतिका औषधी बन्छन् । एलोपेथिकको धेरै जसो कच्चा पदार्थ विदेशबाट आउँछ । त्यसमा भारतबाट धेरै आउँछ । औषधी बनाउ आवश्यक पर्ने प्रमुख समान भनेको प्याकिङका समान हुन् । आयुर्वेदिकका ७० देखि ८० प्रतिशत हाम्रै कच्चा पदार्थ स्वदेशकै हुन्छन् । एलोपेथिकको भने धेरै जसो समान विदेशबाटै ल्याउनु पर्ने अवश्था छ ।
औषधीमा कच्चा पदार्थ भन्दा पनि प्रबिधिको बढि प्रयोग हुन्छ । नेपालमा बार्षिक दुई अर्ब ८० करोडको कच्चा पदार्थ र सहायक कच्चा पदार्थको आयात हुने गरेको छ भने दुई अर्बको प्याकिङका समान आयत हुन्छ । औषतमा भन्ने हो भने हामीले बार्षिक पाँच अर्ब ६ करोडको कच्चा पदार्थ ल्याएर हामीले १४ अर्ब रुपैयाँ मुल्य बराबरको औषधी बनाउने गरिएको छ ।
हामीले प्रयोग गर्ने एउटा कच्चा पदार्थमा १८ भन्दा बढि कच्चा पदार्थको अथवा सहायक बस्तुको प्रयोग गरिएको हुन्छ । औषधी भनेको कच्चा पदार्थ मात्रै होइन प्रबिधि र विज्ञान पनि हो । औषधी खाएको १५÷३० मिनेटमा ट्याबलेट खुलिसक्नु पर्छ र ३० मिनेटमा ७५ प्रतिशत औषधी रगतमा पुगिसक्नु पर्ने हुन्छ । त्यस कारण पनि औषधी प्रबिधि र विज्ञान पनि हो ।
नेपालको औषधी बजारमा नेपाली उत्पादनको हिस्सा र विदेशी उत्पादनको हिस्सा कति हो ?
नेपालमा बार्षिक २० अर्बको औषधी आयात हुन्छ र १६ अर्बको औषधी नेपाली उत्पादन छन् । १६ अर्बमा भेटनरी र एलोपेथिक औषधीको बजार १४ अर्बको छ र दुई अर्बको आयुर्वेदिक औषधी बन्छ । यो भनेको ४५ प्रतिशत बजार हो । तर क्वान्टीटीको हिसाबले हेर्ने हो भने हाम्रो बजार ठुलो छ । नेपाली औषधीहरु सस्ता छन् । त्यसकारण सामानको बजार हाम्रै राम्रो छ । ७० वटा उत्पादन हामीले बेच्न राखेका हौं भने जम्मा ४५ प्रतिशत मात्रै बिक्छन् । तर हाम्रो पोलिसीले समस्या पारेको छ । भारतमा हामी त्यहाको उत्पादन भन्दा हामी सस्तामो पठाउन सक्छौं ।
नेपालको औषधी उद्योगलाई आत्म निर्भर बनाउन सरकारबाट के के अपेक्षा छन् ? हामी कहिले आफ्नै खुट्टामा उभिने ?
हामी अहिले पनि धेरै कुरामा आफ्नै खुट्टामा उभिएका छौं । औषधीमा त थोरै मात्र काम गर्ने हो भने पनि आत्मनिर्भर बन्न सक्छौं । एक अर्ब १५ करोडको किटनाशक औषधी र १५ अर्बको रासायनिक औषधी भित्र्याएर साढे पाँच खर्बको औषधी उत्पादन गरेका छौं । यो भनेको आत्मनिर्भर हो । अर्कातिर हेर्नेे हो भने १८ अर्बको अण्डा र माशु उत्पादन गर्न साढे ७ अर्बको मकै, ६ अर्बको पिना र अढाई अर्बको फिडसप आयात गरेका छौं भने एक अर्बको भ्याक्सिन ल्याएका छौं । अनि जम्मा १८ अर्बको मात्रै उत्पादन भएको छ । यसबाट के देखिन्छ त भन्दा कुखुराको मासुमा हामीलाई सुलि समेत नाफा भएको छैन । तर औषधीमा अवस्था अत्यन्तै राम्रो छ हामी चाँडै आत्मनिर्भर बन्न सक्छौं ।

नेपाल जडिबुटीको भण्डार हो तर हामी त कच्चा पदार्थ समेत आयात गर्दै आएका रहेछौं नि किन ?
यति त छ हाम्रो बिडम्बना । मेरो फाईटो फर्मा नामको हर्बल औषधी उद्योग छ । तर पनि म अझै जडिबुटी भारतबाटै ल्याउँछु । नेपालबाट ल्याउनु र भारतबाट ल्याउनुमा मुल्यको खासै फरक छैन् । सिधा नेपालगञ्जबाट जडिबुटी ल्याउनु पर्यो भने हामीले पाँच सय रुपैंयाँ किलो भन्छन तर भारतीयले दुई सय रुपैंया किलोमा लैजान्छन् । हामीले दिल्लीबाट चार सय रुपैंयाँ किलोमा पाउँछौं र एक हप्तामा नेपाल भित्रिन्छ । तर नेपालगञ्जबाट ल्याउँछु भन्यो भने पाँच सय रुपैंयाँ किलो पर्छ र त्यो पनि गाढीवालाहरुले ढुवानी गर्नै मान्दैनन् । यसमा सरकारको कुनै पोलिसी नै छैन ।
नेपालले तत्काल बनाउन सक्ने कच्चा पदार्थहरु केके हुन ?
हामीले तत्कालै बनाउन सक्ने भनेको औषधीको प्याकिङका समान नै हो । नेपालले अहिले नै एलमुनियम फाईल, औषधीका डब्बा, पेट बोटल, लेबल र बिर्कोे बनाउन सकिन्छ । यी चीज भनेको औषधी उद्योगको ५० प्रतिशत हिस्सा ओगट्ने क्षेत्र हुन् । औषधीमा ५० प्रतिशत कच्चा पदार्थ र ५० प्रतिशत प्याकिङका समान हुन्छन् ।
deepak_prasad_dahal_11
औषधीमा प्रयोग हुने कच्चा पदार्थको कुरा गर्नु हुन्छ भने पालुंगोको साग प्रयोग हुने एक किलो कच्चा पदार्थका लागि नेपालमै ३६ हजार रुपैंयाँ तिरे तर चीनबाट ल्याउँदा १९ हजार मात्रै पर्छ । केहि बस्तुको अवस्था यस्तो छ । तर प्याकिङका समान भने नेपालमै बनाउँदा सस्तो हुन्छ ।

औषधीको वितरण प्रणालीमा कहाँ कहाँ समस्या देख्नु भयो ?
नेपाल औषधी व्यवसायी संघले निजी क्षेत्रको प्रतिनिधिका रुपमा औषधीको बिक्री वितरण गरिरहेको छ । तर प्रस्तावित दुई नम्बर प्रदेशमा सुरक्षाको अभावमा औषधीको वितरणमा समस्या आएको हो । सरकारी निकायले क्षेत्रिय कार्यालयमा औषधी भण्डारण गरेको छ तर वितरण गर्न सकिरहेको छैन । अर्काे कुरा भनेको डाक्टरहरुले पनि एउटा ब्राण्डको विकल्पमा अर्काे ब्राण्डको सोही औषधी रिफर गर्नुपर्छ । उपभोक्ताले पनि ब्राण्डका पछाडी नकुदेर औषधी खरिद गर्नुपर्छ ।

औषधी उद्योग कति प्रतिशतको क्षमतामा सञ्चालन भैरहेका छन् ?
हामी सामान्य अवस्थामा पनि ५० देखि ६० प्रतिशतको क्षमतामा सञ्चालन हुँदै आएका थिए । त्यसलाई शत प्रतिशत मान्ने हो भने अहिले २५ देखि ३० प्रतिशतसम्मको क्षमतामा उद्योग सञ्चालन भैरहेका छन् । केहि कच्चा पदार्थ हामीले जहाजबाट पनि ल्याईरहेका छौं । सरकारले हामीलाई एक लिटर इन्धन पनि दिईरहेको छैन् । १७० देखि ८० रुपैंयाँ प्रतिलिटरमा डिजेल किनेर उद्योग चलाईरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.