२०७२ फागुन ४ गते ११:१४ विकासन्युज
काठमाडौं, ४ फागुन । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेपुटी गभर्नरको नाम फेरि सिफारिस गर्न गभर्नर डा. चिरन्जीबी नेपाललाई दबाब दिएका छन् । अर्थमन्त्री पौडेलले गभर्नरलाई मन्त्रालयमा बोलाएर फेरि अर्काे सिफारिस गर्न आग्रह गरेका अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘डेपुटी गभर्नर नियुक्तिमा ढिलाइ हुदा आफूलाई समस्या परेको गभर्नरले गुनासो गर्नुभयो, त्यसो भए मलाई पनि सहज हुने गरी २ जना एमाले निकटका ब्यक्तिको नाम राखेर अर्काे सिफारिस गरिदिनुस्, म तत्काल नियुक्तिको लागि पहल गर्छु भनेर अर्थमन्त्रीले जवाफ दिनु भएको छ,’ अर्थमन्त्रालय स्रोतले भन्यो । अर्थमन्त्रीको यस्तो जवाफपछि गभर्नरले त्यसो गर्न नसकिने जवाफ दिएका स्रोतको दाबी छ ।
‘कानुनले दिएको अधिकार प्रयोग गरेर मैले एक पटक नाम सिफारिस गरिसकेको छु, फेरि अर्काे सिफारिस गर्न समस्या हुन्छ, मैले सिफारिस गरेको नाम कतैबाट सार्वजनिक पनि भइसकेकोले नाम फेर्दा झन् अप्ठेरो पर्न सक्छ भनेर गभर्नरले आफ्नो कुरा राख्नु भएको छ,’ अर्थमन्त्री र गभर्नरविचको कुराकानी उधृत गर्दै स्रोतले भन्यो ।
गभर्नरले अर्काे सिफारिस गर्न नमानेपछि डेपुटी गभर्नरको विषय तत्काल नटुंग्याउने पक्षमा अर्थमन्त्री रहेको स्रोतले जानकारी दिएको छ । ‘डेपुटी गभर्नर भनेको गभर्नरको सहयोगी पनि हो, चाढै नियुक्ति भएन भने गभर्नरलाई नै समस्या हुन्छ, प्रतिपक्षीमा बसेको पार्टीलाई रिझाउने र सत्ताको नेतृत्व गरेको दलले पेलिएको महसुस हुने गरी डेपुटी गभर्नर नियुक्त हुने भन्ने कुरै हुदैन,’ अर्थमन्त्री निकट स्रोतको भनाइ छ ।
यसअघि गरिएको सिफारिसमा ३ जना नेपाली काँग्रेस निकट र एक जना मात्रै एमाले निकट परेकोले २ जना काँग्रेस निकट र २ जना एमाले निकटका ब्यक्ति सिफारिस गर्न उनले दबाब दिएका हुन् ।
डेपुटी गभर्नरको नियुक्ति मन्त्रिपरिषदले गर्ने ब्यवस्था भएपनि गभर्नरले सिफारिस गरेका ब्यक्तिवाट मात्रै डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने कानुनी ब्यवस्था राष्ट्र बैंक ऐनमा छ । गत ८ पुसदेखि दुबै जना डेपुटी गभर्नरको पद रिक्त छ ।
एक जना डेपुटी गभर्नर नियुक्त गर्न २ जनाको नाम सिफारिस गर्नुपर्ने हुन्छ । २ जना डेपुटीको पद रिक्त रहेकोले गभर्नरले ४ जनाको नाम सिफारिस गरिसकेका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशकमध्येवाट डेपुटी गभर्नरको नाम सिफारिस गर्नुपर्ने कानुनी प्रावधान छ ।
गभर्नर डा. नेपालले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरु त्रिलोचन पंगेनी, शिवनाथ पाण्डे, चिन्तामणी शिवाकोटी र नारायणप्रसाद पौडेलको नाम सिफारिस गरिसकेका छन् । यसमध्ये शिवाकोटी बाहेकका सवै कार्यकारी निर्देशक नेपाली काँग्रेस निकट मानिन्छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.