२०७२ चैत १२ गते ११:५२ विकासन्युज
काठमाडौं, १२ चैत । हिमालयन बैंकले ऋणपत्र जारी नगर्ने भएको छ । करिब ५० करोड रुपैयाँको ऋणपत्र जारी गर्ने प्रश्ताव र सो वापत लाग्ने शुल्कसमेत धितोपत्र वोर्डमा बुझाइ सकेपछि बैंकले ऋणपत्र जारी नगर्ने भन्दै बोर्डसँग पैसा फिर्ता मागेको छ ।
बैंकले ऋणपत्र जारी गर्ने आफ्नो प्रश्ताव फिर्ता लिएको बोर्ड स्रोतले जानकारी दियो । प्रश्ताव फिर्ता भएपनि बोर्डमा सो वापत लाग्ने शुल्क फिर्ता गर्न भने समस्या भएको स्रोतको भनाइ छ ।
कम्पनीहरुले धितोपत्र, डिभेन्चर, बन्ड जस्ता उपकरण निस्कासन गर्नको लागि पूजी बजारको नियामक निकाय धितोपत्र वोर्डमा तोकिए अनुसारको शुल्क तिर्नुपर्छ । बोर्डले ऋणपत्रको लागि स्वीकृति पनि दिइसकेको कारण बैंकले शुल्क समेत तिरेको थियो । तर स्वीकृति पाएपछि बैंकले नै आफूले ऋणपत्र जारी नगर्ने भन्दै रकम फिर्ता गरिदिन बोर्डमा पत्राचार गरेको बताइएको छ ।
तर बोर्डले एक पटक प्राप्त भएको शुल्क फिर्ता गर्न मिल्छ कि मिल्दैन भन्ने यकिन हुन नसकेको भन्दै रकम फिर्ता गरेको छैन । एक पटक बुझाएको राजस्व पुन कसरी फिर्ता गर्न सकिन्छ भन्ने बारेमा बोर्डमा छलफल भइरहेको बताइएको छ ।
बैंकले भने अब हकप्रद सेयर जारी गर्ने तयारी भएको भन्दै ऋणपत्र जारी नगर्ने जानकारी बोर्डलाई गराएको छ । बैंकले नेपाल राष्ट्र बैंकमा बुझाएको पूजी बृद्धिको योजनामा चालु आर्थिक बर्षमा ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भनिएको छ । बैंकले ऋणपत्र जारी गर्न बोर्डमा बुझाएको रकम हकप्रद सेयर जारी गर्ने शुल्कमा परिणत गरिदिए पनि हुने बोर्डलाई जानकारी गराएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.