२०७३ वैशाख १६ गते १०:३५ विकासन्युज
काठमाडौं, १६ बैंशाख । चौधरी समूहका अरुण चौधरीले सिजी होल्डिङ मार्फत होटल क्षेत्रमा लगानी शुरु गरेको छन् । उनले आगामी पाँच वर्षको करिब ५ सय बेड रुम क्षमताको ५ वटा होटल खोल्ने घोषणा गरेका छन् । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले ५ वटा होटलका करिव ५ अर्ब रुपैयाँ लगानी हुने र कम्तिमा १५ सय जनाले रोजगारी पाउने उनले जानकारी दिए ।
सीजी होल्डिङले चितवन जगतपुरस्थित टाइगर ल्याण्ड खरिद गरेर पर्यटन सेवाको क्षेत्रमा लगानी गरेको हो । झण्डै ५२ वर्ष पुरानो उक्त रिसोर्ट कतिका खरिद गरिएको हो भन्ने विषय उनले खुलाएनन् ।
‘३५ वटा कटेजको टाइगर ल्याण्ड खरिद गरेर हामी होटल क्षेत्रमा लगानी सुरु गरेका छौ, आगामी पाँच वर्षमा थप ४ वटा होटल तथा रिसोर्ट सञ्चालनमा ल्याएने छौं’ सिजी होल्डिङका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण चौधरीले भने–‘नेपाली अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रमा लगानी थपिनु महत्वपूर्ण विषय हो, मूल्य प्रधान विषय होइन ।’
उनले अन्तराष्ट्रिय चेन होटल ’होलिडे इन’सँगको सहकार्यमा झम्सिखेलस्थित मारुती सुजुकीको शोरुम तथा त्यसको परिसर क्षेत्रमा दुई सय बेड रुम क्षमताको पाँच तारे होटल बनाउने घोषणा गरे । यो होटल सन् २०२० सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने उनले बताए ।
त्यस्तै त्रिपुरेश्वरको राइस एण्ड बल भएको स्थानमा अर्को बिजनेश होटल स्थापना हुनेछ । यो होटलमा १२५ वटा रुम हुनेछ । यो होटल मध्यमस्तरको हुने उनले जानकारी दिए ।
सीजी होल्डिङले बुढानिलकण्ठमा ५० वटा कटेजको वेलनेस सेन्टर तथा पोखराको साराङ्कोटमा ८० वटा रुमको रिसोर्ट स्थापनाको तयारी समेत गरेको छ । बुढानिलकण्ठ र पोखरामा पनि हामीले जग्गा लिइसकेका छौं, अब डिजाइनको काम सुरु हुन्छ, अध्यक्ष चौधरीले बताए।
पत्रकार सम्मेलनमा उनले पर्यटन उद्योगको सम्भावना धेरै भएको बताए । नेपालमा तुलनात्मक लाभ भएको क्षेत्रको रुपमा जलविद्युत, कृषि, पर्यटन क्षेत्रलाई लिने गरिएको उल्लेख गर्दै जलविद्युत र कृषिमा आफूले धेरै सम्भावना नदेखेको तर पर्यटन क्षेत्रमा सम्भावना धेरै देखेको बताए ।
विश्वमा चल्ले इको टुरिजम, कल्चर टुरिजम, वाइल्डलाइफ टुरिजम, स्पोर्ट टुरिजम, एडभेन्चर टुरिजम मध्ये सबै प्रकारका टुरिष्ट नेपाल आउने गरेको र सबै प्रकारका पर्यटक आर्कषित गर्न सकिने उनले बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.