२०७३ असार २२ गते ४:५८ विकासन्युज
काठमाडौं, २२ असार । भारतीय नाका बन्दीका समयमा बिभिन्न कम्पनीका सिलिण्डरसहितको ग्यास खरिद गरेका उपभोक्ताहरुको त्यस्ता सिलिण्डर साटिने भएको छ । नेपाल एलपी ग्यास उद्योग संघले एक साता भित्र उपभोक्ताले चाहेको कम्पनीको सिलिण्डर साट्ने व्यवस्था गर्न लागेको हो । ‘एक साता भित्र सार्वजनिक सूचना प्रकाशित गरेर सिलिण्डर साट्ने व्यवस्था गर्दैछौं, सबै उपभोक्ताले आफुसँग भएको सिलिण्डर बुझाएर आफुले चाहेको सिलिण्डर लिन सक्नेछन्’ एलपी ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले भने ।
नाका बन्दीका समयमा १५ लाख उपभोक्ताले सिलिण्डरसहितको ग्यास खरिद गरेका थिए । यसैबिच व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिकाले एचपी र सुगम ग्यासलाई कारवाही गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले दुबै कम्पनीको सिलिण्डर बिस्फोटनको छानबिन गरि कारवाही गर्न निर्देशन दिएको हो ।
त्यसै गरि समितिले सिलिण्डरको मापदण्ड तोक्दै अन्तराष्ट्रिय स्तरको गुणस्तर कायम गराउन समेत निर्देशन दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.