२०७३ असार २५ गते ७:०४ विकासन्युज
बीमा समितिले मोटर बीमा दर सम्बन्धी निर्देशिका,२०७३ जारी गरेको छ । नयाँ निर्देशिका अनुसार यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्यु भएमा पाँच लाख क्षतिपूर्ति दिनुपर्नेछ । सरकारले आगामी आर्थिक वर्षका लागि संसद्मा पेस गरेको बजेटमा तेस्रो पक्ष दुर्घटना बीमा र यात्रुको बीमा रकम बराबर हुने व्यवस्था गरेपछि बीमा समितिले नयाँ निर्देशिका जारी गरेको हो । यो निर्देशिका आगामी साउने १ गतेदेखि लागू हुने बीमा समितिले जनाएको छ ।
त्यस्तै, बीमित पूर्ण स्थायी अशक्तता भएमा, निको नहुने गरी दुवै आँखाको दृष्टी क्षति भएमा, दुवै हातको नाडी वा दुवै खुट्टाको गोली गाँठोको जोर्र्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि र एउटा आँखाको दृष्टी पूर्ण रुपले क्षति भएमा पाँच लाख क्षतिपूर्ति पाउने छ ।
एउटा आँखाको दृष्टी पूर्णरुपले क्षति भएमा, एउटा हातको नाडी वा एउटा खुट्टाको गोली गाँठोको जोर्नी वा सो भन्दा माथि देखि शारीरिक रुपले काम नलाग्ने गरी क्षति भएमा दुई लाख पचास हजार क्षतिपूर्ति पाउने छ ।
अन्य कुनै अंग भंग भएमा, शारीरिक क्षतिको समानुपातिक हुने गरी बीमाङ्कको प्रतिशत सवारी साधन दुर्घटनाको प्रत्यक्ष तथा एक मात्र परिणाम स्वरुप भएको औषधोपचार खर्च तीन लाख रुपौयाँको हदमा नबढ्ने क्षतिपूर्ति हुनेछ ।
यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमित घाइते भई उपचारको लागि अस्पतालमा भर्ना भएको प्रमाणित भएमा त्यस्तो अवधिको लागि प्रति दिन पाँच सय रुपैयाँको दरले बढिमा पंैतालीस दिन सम्मको कुरुवा खर्च औषधोपचार खर्च बीमा कम्पनीले दिनुपर्नेछ ।
दुर्घटनास्थलबाट वा प्रारम्भिक चिकित्सा अस्पतालबाट अर्को अस्पतालमा लैजानु पर्ने भएमा १० हजार वा वास्तविक खर्च जुन कम हुन्छ सम्बन्धित एम्बुलेन्सको बीलको भुक्तानी दिइनेछ र यस्तो खर्च औषधोपचारको सीमा भित्र रहनेछ ।
यात्रु, सवारी हाँकिरहेको व्यक्ति वा बीमितको मृत्युभएमा कृया खर्च वापत प्रति मृतक पचास हजार रुपैयाँ (बीमकको कूल प्रति मृतक दायित्व पाँच लाख रुपैयाँको सीमा भित्र रही) बीमकले तत्काल भुक्तानी दिनेछ ।
आफैले जानाजान लगाएको चोट, आत्महत्या वा आत्महत्याको प्रयासबाट वा मादक पदार्थ वा लागू पदार्थको सेवनबाट दुर्घटनामा परी त्यसको परिणाम स्वरुप भएको हानि–नोक्सानी वापत बीमकले कुनै क्षतिपूर्ति दिने छैन ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.