चार वर्षपछि नेपाल वायु सेवा निगमको पुनः दुबई उड्यो राष्ट्रिय ध्वजाबाहक
२०७३ भदौ ४ गते ३:३६ विकासन्युज
![](http://kinmel.setopati.com/timthumb.php?src=/home/kinmelpatisetopa/public_html/images/newsManagement/1471594132_nac%20dubai.jpg&w=675&q=60)
जहाज अभावको कारण देखाउँदै चारवर्ष अगाडि बन्द भएको नेपाल वायुसेवा निगमको दुबई उडान बिहीबार रातिदेखि पुनः प्रारम्भ भएको छ।
निगमको नयाँ एयरबस ‘ए ३२०’ विमान मार्फत गरिएको पहिलो उडानमा सबै १५८ सिट भरिएका र दुबईबाट काठमाडौं आज विहान आएको जहाजमा १३७ यात्रु रहेको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए।
विमानको कमीका कारण दुवई उडान २८ अगष्ट २०१२ देखि बन्द भएको थियो। सन् २०१५ मा दुईवटा नयाँ एयरबस खरिद गरेपछि निगमले अन्तराष्ट्रिय गन्तव्यहरु थप गर्दै आएको छ। यसअघि हङकङ, क्वालालम्पुर, बैंकक, नयाँदिल्ली, बैंगलोर, मुम्वई र दोहामा उडान गर्दै आएको निगमको दुबई उडान प्रारम्भ भएसँगै आठवटा गन्तव्य भएका छन्।
अन्तर्राष्ट्रिय उडानको लागि निगमसँग चारवटा विमान रहेका छन् जसमा एउटा बोइङ बिक्रि गर्ने निष्कर्षमा पगेको निगमसँग तीनवटा विमानमात्र चालु रहेका छन् । यी विमानबाट अधिकतम नौ वटा गन्तव्यमामात्र उडान भर्न सकिने निगमले जनाएको छ।
काठमाडौंबाट आइतवार, मंगलबार, बिहीबार र दुबईबाट सोमबार, बुधबार र शुक्रवार उडान हुने निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए।
काठमाडौंबाट राती ११ः३० बजे दुवईका लागि उड्ने निगमको जहाज भोलिपल्ट बिहान १०ः३० बजे काठमाडौंमा अवतरण गर्ने सेड्युल रहेको शार्माले जानकारी दिए। उडान अवधि काठमाडौंबाट दुबई ४ घण्टा ४० मिनेट र दुबई काठमाडौं ४ घण्टा १५ मिनेटको रहेको छ।
काठमाडौं दुबई काठमाडौं सिधा उडानबाट वैदेशिक रोजगारीमा जाने नेपाली र तेस्रो मुलुकबाट आउने पर्यटकहरुलाई सहज सेवा उपलब्ध भै देशको पर्यटन उद्योगमा टेवा पुग्ने विश्वास निगमले लिएको छ।
काठमाडौं दुबई काठमाडौं सिधा उडानबाट एकवर्षमा ४०,५२८ यात्रुलाई सेवा दिई करिव एक अर्व आम्दानी गर्ने लक्ष्य राखेको छ । काठमाडौं देखि दुबईसम्मको भाडादर एकतर्फी न्यूनतम २२ हजार रुपैयाँ रहेको छ। त्यस्तै दुबईबाट काठमाडौं आउनको लागि भने एकतर्फी भाडा ५ सय ६५ दिराम र दुइतर्फीको लागि ११ सय ३० दिराम निर्धारण गरिएको छ। यो भाडा सुरुआतमा प्रबर्द्धनात्मक भएको र पछि नियमित भाडादर कायम गरिने शर्माले जानकारी दिए।
शर्माले दिएको जानकारी अनुसार त्यस्तै निगमले दुबईबाट आउँदा ३५ किलो र काठमाडौंबाट दबई जाँदा २० किलो निशुल्क लगेज सुविधा उपलब्ध गरएको छ।