२०७३ भदौ १६ गते ०:५३ विकासन्युज
काठमाडौं १६, भदौ । जापानले राजधानी जोड्ने प्रमुख नाकाको झ्याप्ले खोला–थानकोटमा करिब साढे दुई किलोमिटर लामो सुरुङ मार्ग निर्माण गर्न १८ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।
द्विपक्षीय दौत्य सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठ समारोहमा भाग लिन तीनदिने औपचारिक भ्रमणमा काठमाडौं रहेका विदेश राज्यमन्त्रीले नोबु किसीले प्रधानमन्त्री पुष्पकमल दाहालसित भएको भेटमा उक्त परियोजना निर्माणमा सहयोग गर्ने जनाएका हुन् ।
बुधबार सिंहदरबार भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले प्रस्ताव गरेलगत्तै राज्यमन्त्री नोबुले सुरुङमार्ग निर्माणका लागि आफ्नो सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसको प्रक्रिया अघि बढेको जानकारी दिएका थिए । नेपाल सरकारले उक्त सुरुङमार्ग निर्माणमा जापानसित अनुदान सहयोग खोजेको थियो । तर जापानले ०।५ प्रतिशत ब्याजको सहुलियतपूर्ण ऋण सहयोगमा सुरुङमार्ग निर्माण गरिदिने भएको हो ।
काठमाडौं–नौबिसेको ट्राफिक जाम घटाउन र घुम्तीको दूरी घटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जापानी सहयोग एजेन्सी (जाइका) को सहयोगमा सुरुङमार्ग निर्माण गर्न अध्ययन अघि बढाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीका अनुसार सुरुङ मार्गको विस्तृत इन्जिनियरिङ अध्ययन गर्न अझै डेढ वर्ष लाग्छ ।
२.३५ किमि लामो दुई लेनको सुरुङमार्ग निर्माण गर्न साढे तीन वर्ष लाग्ने अनुमान छ । यसमा १८ अर्ब रुपैयाको लागत अनुमान गरिएको छ । काठमाडौं र धादिङ जिल्लाको सीमा पिपलामोड नजिक पर्ने झ्याप्ले खोला हुँदै थानकोटसम्म सुरुङमार्ग निर्माणपछि राजधानी प्रवेश गर्ने मुख्य सडकको दूरी साढे ४ किमि छोट्टिनेछ । जापानले नुवाकोट जोड्ने अर्को सुरुङमार्गबारे पनि अध्ययन गरिरहेको छ । कान्तिपुर दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.