२०७३ असोज ३ गते ११:५९ विकासन्युज
काठमाडौं, ३ असोज । हिमालय एयरलाइन्सले दोश्रो नियमित गन्तव्यका रुपमा श्रीलंकाको राजधानी कोलम्बोमा उडान भर्ने भएको छ । अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्सले २०७२ साल चैत ३१ कोलम्बोबाटै पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान शुरु गरेको थियो ।
जेठ १८ गतेदेखि कतारको राजधानी दोहामा पहिलो नियमित उडान भरिरहेको हिमालयले दोश्रो गन्तव्यका रुपमा कोलम्बोलाई छानेको हो । हिमालय एयरलाइन्सका महाप्रबन्धक राजुबहादुर केसीले हप्ता तीन उडान भर्ने जानकारी दिए । हिमालयले मंगलबार, बिहिबार र शनिबार कोलम्बो उडान भर्नेछ ।
बर्षेनी ३० हजार श्रीलंकाली नेपाल आउने गरेको र १५ हजार नेपाली श्रीलंका जाने गरेको महाप्रबन्धक केसीले जानकारी दिए । त्यस बाहेक ट्रान्जिट पोइन्टका रुपमा पनि धेरैले श्रीलंका र नेपाललाई प्रयोग गरिहरको उनले बताए । हिमालयले नियमित उडान सुरु गरेपछि ठुलो मात्रामा श्रीलंकाली पर्यटक नेपाल आउने दावी समेत उनले गरे । ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास गरी १५८ सीट क्षमताको विमान एअरबस ३२०–२०० बाट हिमालयले श्रीलंका उडान गर्नेछ ।
एक तर्फी भाडा ३० हजार तोकिएको छ भने दुई तर्फको शुल्क ५० हजार रुपैंयाँ लाग्नेछ । हिमालय एयरलाइन्सले तेश्रो उडान गन्तव्यका रुपमा भारतको नयाँ दिल्ली उडान भर्ने योजना बनाएको पनि महाप्रबन्धक केसीले विकासन्युजलाई जानकारी दिए ।
केही महिना पछि हिमालयले भारतको नयाँ दिल्ली, चीनको ल्हासा, चेंगदु र बेइजिङ उडान भर्ने तालिका बनाएको उनले बताए । संयुक्त लगानीमा सञ्चालित एअरलाइन्समा ५१.०१ प्रतिशत लगानी नेपालीको छ भने ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.