२०७३ कार्तिक १ गते १६:३० विकासन्युज
पर्वत, १ कात्तिक । मुलुककै पहिलो व्यावसायिक यान्त्रिक पुल कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले यसबर्षको दसैँमा १० लाख ४१ हजार रुपैयाँ आम्दानी गरेको छ । केबुलकार मोडेलमा निर्माण गरिएको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्म आठ लाख ४१ हजार रुपैयाँको कारोबार गरेको हो ।
कुश्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारीअनुसार दसैँको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्साहजनक रुपमा भएको हो । यसपटक दसैँमा यान्त्रिक पुलबाट १३ हजार २७६ जनाले वारपार गरेका छन् ।
गत वर्ष यान्त्रिक पुलबाट प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म यात्रा गर्ने यात्रुबाट १० लाख ८३ हजार रुपैयाँ आम्दानी भएको थियो । यस वर्ष पनि उत्साहजनक रुपमा आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जीवी रेग्मीले जानकारी दिए।
पर्वत सदरमुकाम कुश्मा बजारबाट बागलुङ जिल्लाको बलेवा पुग्नका लागि पैदल मार्गबाट झन्डै एक घन्टा लाग्ने गर्छ । यान्त्रिक पुलको सञ्चालनसँगै एक घन्टाको यात्रा करिब सात मिनेटमा छोटिृएको छ । केबलकार मोडेलमा निर्माण गरिएको उक्त पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा रु एक सय तोकिएको छ भने बागलुङ जिल्लाको बलेवा क्षेत्रका बासिन्दाका लागि रु ७५ तोकिएको छ ।
सो पुल गाउँघर र पहाडी क्षेत्रमा यात्रु ओसारप्रसार गर्न तथा कृषि उपज र अन्य सामग्री ढुवानीका लागि सबैभन्दा उपयुक्त माध्यम बन्न सक्ने देखिएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताए।
“गाउँमा कच्ची सडक खन्नुभन्दा यस्तै यान्त्रिक पुल र केवलकार निर्माण गर्ने हो भने धेरै सहज हुन सक्छ”, उनले भने – “हाम्रोजस्तो पहाडी भूभागका लागि यो नै अति उत्तम विकल्प हो, सरकारले यसलाई प्रवद्र्धन गर्नुपर्छ ।” पर्वत उद्योग वाणिज्य सङ्घको पहलमा यान्त्रिक पुल निर्माण भएको हो । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.