२०७३ कार्तिक ५ गते १२:०९ विकासन्युज
काठमाडौं, ५ कात्तिक । कुमारी बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंककको कात्तिक ४ गते बसेको सञ्चालक समिति बैठकले दुई कित्ता बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गर्दै कात्तिक २९ गतेका लागि बिशेष साधारण सभा बोलाएको हो ।
बैंकले हाल कायम रहेको पुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैंयाँको ५० प्रतिशत अर्थात एक अर्ब ३४ करोड ९५ लाख रुपैंयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको पुँजीको आधार पुर्याउन कुमारी बैंकले लगातार चारवटा साधारण सभा गर्ने भएको छ ।
बैंकले गत असार ३१ गते एनसीसी लगायतका बैंकसँग मर्ज गर्नका लागि बिशेष साधारण सभा गरेको थियो । तर सो साधारण सभाले मर्जमा नजाने निर्णय गर्यो । कात्तिक २९ गते आयोजना हुने बिशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्नेछ ।
त्यस्तै, काष्ठमण्डप डेभलपमेन्ट बैंकसहितका अन्य वित्तिय संस्थासँग मर्जका लागि पनि कुमारी बैंकले अर्काे बिशेष साधारण सभाको आयोजना गर्नैपर्ने हुन्छ । त्यस बाहेक बैंकको बार्षिक प्रतिवेदन पारित गराउनका लागि पनि अर्काे नियमित साधारण सभा आयोजना गर्नेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.