२०७३ कार्तिक ५ गते १४:३६ विकासन्युज
काठमाडौं, ५ कात्तिक । यो साता सेयर बजारको परिसूचक साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२७ अंकले घटेर अन्तिम दिन १७९४ दशमलव ४७ अंकमा पुगेको छ । साताको सुरुवात देखि नै निरन्तर घटेको बजार बिहीबार भने सामान्य अंकले बढेको थियो ।
यो साता परिसूचक जस्तै कारोबार रकममा पनि गिरावट आएको छ । साताभर ३८ लाख ८८ हजार कित्ता सेयर ३ अर्ब १ करोड २८ लाख ५३ हजार रुपैयाँमा कारोबार भएको छ । सो अवधिमा १४९ कम्पनीहरुको कारोबार भएको नेप्सले जनाएको छ ।
कारोबार रकमको आधारमा कुमारी बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको साताभर ३८ करोड ६२ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा पनि कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
सेयर बजारमा बैंंकिङ समूह १५ दशमलव ५७ अंकले घट्दा विकास बैंंक ५ दशमलव ८, वित्त १२ दशमलव २९ अंकले, होटल ५७ दशमलव ८८, उत्पादनमूलक समूह १३ दशमलब ९१ अंकले ओरालो लागेका छन् । जलविद्युत २७ दशमलव ८, बीमा १७ दशमलव ५६ र अन्य समूह ५ दशमलव ४९ अंकले बढेका छन् । व्यापार समूह भने स्थिर रहेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २.१६ अंकले घटेर ३८९.२४ अंकमा आईपुगेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.