“लगानीकर्ता आत्तिनुपर्दैन, म्यानुपुलेसन पनि भएको छैन”-निरज गिरी

  २०७३ मंसिर १२ गते १४:०८     शर्मिला हुमागाई

market_downकाठमाडौं, १२ मंसिर । असोज २० गते कारोबार बन्द हुँदा सेयर बजार परिसूचक (नेप्से) १८२० अंकमा अडिएको थियो । त्यसपछि दशैँ विदा भयो र असोज ३० गते बजार खुल्यो । यसदिन भने लगानीकर्ताहरु केही निरास भए । नेप्से एकैपटक १६.१४ अंकले ओरालो लाग्यो र १८०४ अंकमा झर्यो । त्यसपछि नेप्से निरन्तर रुपमा ओरालो लागिरहेको छ । मंसिर १२ गतेसम्म आएइपुग्दा बजार ३३४.५२  अंकले ओरालो लागिसकेको छ । यसदिन बजार १५ सय भन्दा तल झरेको छ  ।

बजार यसरी ओरालो लाग्दा पनि धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने मौन बसिरहेको छ । यदाकदा समाचारमा उनीहरुको भनाई आएपनि आधिकारिक धारणा बाहिर आएको छैन । बजार उकालो लाग्दा लगानीकर्ताहरुलाई सम्हालिएर लगानी गर्न पटक पटक आग्रह गर्ने बोर्ड बजार ओरालो लागेर लगानीकर्ता आत्तिदा भने मौन छ ।

बजार ओरालो लागेर लगानीकर्ताहरु आत्तिदा पनि तपाईहरु किन मौन ? भनेर विकासन्युजले बोर्डलाई सोधेको थियो । धितोपत्र बोर्डका प्रबक्ता निरज गिरी भन्छन् – “अहिले बोर्ड बोल्ने समय आएको छैन । हामीले बजारलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेका छौ, आत्तिनुपर्ने अवस्था छैन । बजारमा म्यानुपुलेसन पनि भएको छैन । उनका अनुसार नेपालको धितोपत्र बजार उकालो र ओरालो लाग्नुमा कुनै कारण हुदैन ।”

गत वर्षको भन्दा अर्थतन्त्रका परिसुचक पनि उकालो लागेको छ । “कम्पनीहरुले पनि राम्रो प्रतिफल दिइरहेका छन् । पछिल्लो समय बैंकहरुले प्रकाशित गरेको पहिलो त्रैमासिक वित्तिय विवरण हेर्दा पनि उनीहरुको नाफा राम्रो देखिन्छ । तर किन बजार ओरालो लागेको छ भन्ने विषयमा भने अहिले केही भन्न नसक्ने गिरीको भनाइ छ ।

सेयरको आपुर्ति बढेकाले बजार घटेको उनको तर्क छ । “बजारमा विभिन्न कम्पनीहले हकप्रद सेयर जारी गरिरहेका छन् । हकप्रद सेयर खरिदका लागि रकम जोहो गर्न लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेचे जसको परिणाम सेयरको आपुर्तिमा बृद्धि भयो र बजार ओरालो लाग्यो” उनले भने ।

पहिले पनि ३९२ अंकसम्ममा बजार झरेको थियो र १९०० अंकसम्म उकालो लागेको थियो त्यतिबेला पनि बजार घट्नु र बढ्नुमा ठोस कारण नरहेको  प्रबक्ता गिरीले दावी गरे । उनले म्युचुअल फन्डहरुलाई अहिले बजारमा लगानी गर्नको लागि दवाव दिन नसक्ने पनि बताए । “साना लगानीकर्ताहरुले जोखिम मोल्न डराउने भएका कारण नै म्युचुअल फन्डमा लगानी गरेका हुन्छन् । उनीहरुको रकममाथि हामीले दवाव दिनु उचित हुदैन” गिरीले भने  ।

सेयर लगानीकर्ता संघका महासचिव नवराज सुवेदीका अनुसार समय समयमा बजारमा देखिएको कृत्रिम र शंकाष्पद गिरावटको कारकहरुलाई पहिचान गर्न बारम्वार संघले नेपाल धितोपत्र बोर्डलाई घच्घच्याइ रहेको छ ।

संघले लगानीकर्ताहरुलाई आश्वास्त पार्ने र मनोवल बढाउने कार्यहरु पनि गरिरहेको छ सुवेदीले भने हामी नियमनकारी निकायहरुबाट चालिने परिणाममुखी कदमहरुको प्रतिक्षामा रहेका छौ । उनले लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको पनि स्पष्ट पारे ।

१५ सय भन्दा मुनि नेप्से, सबैभन्दा बढी बीमा समूह ओरालो लागे

साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ६४.५५ अंकले ओरालो लागेर १४६९.४८ अंकमा अडिएको छ । यसदिन बैकिङ ५२.५४ अंकले, होटल १४६.४ अंकले, विकास बैंक ६५.७७ अंकले जलविद्युत १०४.२९ अंकले फाइनान्स २६.७ अंकले विमा ५६२.९४ अंकले र अन्य १९.०८ अंकले ओरालो लागेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा एभरेष्ट बैंक रहेको छ । यसदिन सो बैंकको ११ करोड १२ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिखर इन्स्योरेन्स, बैंक अफ काठमाडौं लुम्बिनी, मिसन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमोटर सेयर रहेको छ । त्यस्तै सबैभन्दा बढी गुमाउनेहरुमा हिमालयन जनरल इन्स्योरेन्स, साना किसान विकास बैंक, लक्ष्मी लघुवित्त वित्तिय संस्था र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । दिनभर एकसय २८ कम्पनीको ९५ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।