२०७३ मंसिर १६ गते १६:५८ विकासन्युज
काठमाडौं, १६ मंसिर । नेपाल हाइड्रो डेभलपर लिमिटेडले चर्नावती खोला जलविद्युत आयोजना प्रभावितका लागि दुई लाख ६० हजार कित्ता प्राथमिक सेयर (आइपीओ) जारी गरेको छ । सय रुपैयाँ अंकित सो सेयर दुइ करोड ६० लाख बराबरको हुने छ । कम्पनीले दोलखामा चर्नावती खोला जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो आयोजना ३.५ मेगावाट क्षमताको रहेको छ ।
दोलखाको भिमेश्वर नगरपालिकाको वडा नम्वर ८, ९ र ११, मागपौवा गाविसको वडा नम्वर ५ र काटाकुटी गाविस को वडा नम्वर ६ का बासिन्दा सो आयोजना प्रभावित बासिन्दा हुन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीलाई इक्रा नेपालले रेटिंग चार प्रदान गरेको छ ।
आयोजना प्रभावितहरुले हाइड्रोको प्राथमिक शेयरका लागि अरनिको डेभलपमेण्ट बैंक दोलखा, तथा चरिकोट शाखा, कालिञ्चोक डेभलपमेण्ट बैंकको चरिकोट तथा बाघखोर शाखामा सम्पर्क गर्नु पर्ने हुन्छ ।
त्यस्तै काठमडौमा एनएमवी क्यापिटलको कार्यालय र नेपाल हाइड्रो डेभलपर कम्पनीको कार्यालयबाट पनि आवेदन दिन सकिने छ । त्यस्तै सेयर आवेदनका लागि डिम्याट खाता पनि अनिवार्य गरिएको छ । कम्पनीको १९ करोड ५० लाख रुपैंया चुक्ता पूँजी रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रको लागि १० प्रतिशत सेयर निष्कासन गरेको हो ।
त्यस्तै कम्पनीले तीन लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन पनि गर्दे छ । साधारणसेयर जारी पछि कम्पनीको चुक्तापुँजी २६ करोड पुग्ने छ । मंसिर १६ गतेदेखि निष्कासन भएको सेयर छिटोमा पुस १० तथा ढिलोमा माघ दुई गतेसम्ममा आवेदन दिन सकिने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.