२०७३ मंसिर १९ गते ९:२३ विकासन्युज
काठमाडौं १९, मंसिर । नेपाल वायुसेवा निगमको नयाँ जहाज एयरवस स्टार्टमै समस्या आउन थालेको छ । निगमको एयरवस ए ३२०—२०० सिसिजको १५८ सिट क्षमताको जहाजबाट हरेक दिन विहान हुने काठमाडौं दिल्ली उडान दैनिक ढिले हुने गरेको छ । वायुसेवा निगमले जहाज उडान हरेक दिन विहान आठ बजे गर्ने भनेर यात्रुलाई समयमा नै आउन आग्रह गर्ने गरेको छ ।
यात्रु पनि आउँछन् । तर, जहाज स्टार्ट नहुँदा म्यानुअल्ली स्टार्ट गर्नुपर्छ । जसको कारण उडान समय दैनिक आधा घण्टासम्म ढिलो हुने गरेको छ ।
यात्रु समयमा नै आइपुगेका हुन्छन, जहाज पनि उडानमा तयारीमा अवस्थामा रहेको हुन्छ तर डोर क्लोज भइसकेको आघा घण्टासम्म पनि स्टार्ट नभएर पुनः म्यानुअल्ली स्टार्ट गर्नुपर्ने समस्या बढ्न थालेको निगमकै अधिकारीले जानकारी दिए ।
निगले डेड वर्ष अगाडि ल्याएको एयरवसको न्यारोबडि जहाज हाल दुईवटा उडानमा रहेको छ भने थप दुई वटा वाइडवडि ल्याउने तयारी गरिरहेको छ । निगमले संचालन गरिरहेको एयरवसको नयाँ दुई जहाजले नियमित अन्तर्राष्ट्रिय उडान भने गरिरहेका छन् ।
बोइङ कवाडिमा बेच्दा २० करोड मात्रै आउने
एक अगाडि सिंगापुरबाट काठमाडौं ल्याइएको एउटा बोइङ जहाजको मूल्यांकनबाट जम्मा २० करोड रुपैयाँ मात्रै आउने पूर्वअनुमान गरिएको छ । यो जहाज २८ वर्ष अगाडि निगमले २३ लाख डलरमा खरिद गरेको भएपनि अहिले नयाँ खरिद गर्नुपर्दा यही क्षमतको जहाजको मूल्य करीब ५ अर्ब रुपैयाँ पर्छ । बोइङ जहाजको विकल्पमा निगमले एयवसका जहाज प्रयोग गर्न थालेको छ ।
निगमका अनुसार निगमले विमानस्थलमा थन्काएर राखेको एउटा बोइङ ७५७ जहाजको मूल्यांकनमा निकै ढिलाई भएको छ भने जहाज कवाडिमा बेच्ने त हो नी भनेर व्यवस्थापनको चासो पनि कम भएको निगमकै उच्च अधिकारी बताउँछन् । निगमका सहायक प्रवक्ता शैलेश कंसाकारले भने न्युनतम २० करोड रुपैयाँ आउने अनुमन गरिएको बताएका छन् । उनका अनुसार २० करोड रुपैयाँ न्युनतम हो अधिकतम त त्यो भन्दा जति पनि बढि हुन सक्छ ।
निगमको एउटा १९० सिट क्षमताको बी ७५७ एसीए नामको बोइङ जहाज कवाडीमा बेच्ने गर्न लागिएको छ । यो जहाज पाँच महिनादेखि ग्राण्उडेड भएको (थन्किएको) बसेको छ । वायुसेवा निगमको इन्जिनियरिङ विभागका एक कर्मचारीका अनुसार यो जहाजको उडान मूल्यांकन जति ढिलो भयो उति नै कम पैसा आउँछ । यो जहाजको इन्जिन आवर सकिएको, जहाज इन्जिन बाहेक सम्पूर्ण मर्मत (सीचेक) गर्ने समय भएको र जहाजका दुबै इन्जिनको आयु सकिएकोले नयाँ राखेर उडान गर्न नसकिने भएकै कारण निगमले विक्री गर्ने निर्णय गरेको हो ।
जहाजको छिटो मूल्यांकन गरेर विक्री गरेर अलिअली पैसा आउनेमा निगमका उच्च तहका कर्मचारीको रुचि नमिल्दा जहाज टर्किस एयरको कवाडिमा बेचेझै यसलाइृ पनि बेच्नुपर्ने अवस्थामा पुगेको निगमकै कर्मचारी बताउछन् ।
जहाज उडान गर्ने नमिल्ने भएकोले पुनः उडानमा ल्याउन अब संभव छैन । जहाज थन्काएर राख्दा पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई, पार्किङ शुल्क तिरिरहनु पर्ने भएकोले नउडाउँदा र जहाज थन्काउँदा पनि घाटा नै रहेको निगमको भनाइ छ । प्राधिकरणले वायुसेवाको उडान, अवतरण, ल्याण्डिङ, पार्किङमा शुल्क लिने गरेको छ । यो जहाजले मासिक लाखौ शुल्क तिरेर पार्किङ गरिरहेको उल्लेख छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.