२०७३ मंसिर ३० गते १३:०३ विकासन्युज
पोखरा, ३० मंसिर । पोखरा रङ्गशालामा लगभग १० लाख ५० हजार रुपैयाँको लागतमा लन टेनिसका खेल मैदान निर्माण भइरहेको छ ।
सातौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल पूर्वाञ्चलमा आयोजना हुने भए पनि एउटा मात्र खेल लन टेनिस पोखरामा हुने भएपछि मैदान निर्माणमा जुटेको खेलकुद सङ्घ, कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी दिए ।
“हामीले आम खेलप्रेमी पोखरेलीलाई लन टेनिसको राष्ट्रिय खेलमा प्रत्यक्ष अवलोकनका लागिसमेत आह्वान गर्ने छौँ”, उनी भन्छन्– “यो बृहद् कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक छ ।”
पुस महिनाको दोस्रो साताबाट सुरु हुने टेनिसको राष्ट्रिय खेलका लागि छनोटका सम्पूर्ण कार्यक्रम सम्पन्न भइसकेको बताउँदै उनले लन टेनिस प्रतियोगितामा पोखराबाट ४० जना महिलासहित ८० जनाले प्रतिस्पर्धा गर्ने जानकारी दिए ।
प्रत्येक विकास क्षेत्रबाट १० जना खेलाडीको सहभागिता रहने सो प्रतियोगितामा पाँचजना महिलासहित विभागिय टिमबाट १०–१० जना खेलाडीको सहभागिता रहने व्यवस्था छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.