२०७३ पुष २ गते ८:२७ विकासन्युज
काठमाडौं २, पुस । कथित बोक्सीको आरोपमा काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले दिसा खुवाउँदै २२ मंसिरमा निर्घात कुटपिट गरे।
यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो। त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम रिपोर्टअनुसार कुटाइकै कारण लक्ष्मीको मृत्यु भएको पुष्टि भएको छ। घटनामा संलग्नलाई काभ्रे प्रहरीले पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ, लक्ष्मीको शव शिक्षण अस्पतालमा छ।
आठ वर्षअघि ललितपुरमा यही प्रकृतिको घटना भएको थियो। ७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापिका विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो। यद्यपि, उनी बाँच्न सफल भइन्। पीडक थापा पक्राउ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा गर्यो।
राष्ट्रिय दलित आयोग र समता फाउन्डेसनले तयार गरेका अनुसन्धान विवरणहरूमा जातीय छुवाछुतका घटनामा अपेक्षित कानुनी कारबाही हुन नसकेको उल्लेख छ। शिक्षित भनिएकाहरू नै दुव्र्यवहारका घटनामा संलग्न रहेको र कतिपय घटनामा प्रहरीले उजुरी नै लिन मानेको देखिँदैन। देश छुवाछुमुक्त भइसक्दा पनि जातीय विभेद तथा बोक्सीको नाउँमा कुटपिट गर्ने, दिसा खुवाउने, गाउँबाट बहिष्कार गर्नेदेखि बर्बरतापूर्वक हत्या गर्नेसम्मका दर्जनौँ उदाहरण छन्।
काभ्रे पाँचखालका अजित मिजार र पराजुली थरकी युवतीबीच २५ असार ०७३ मा प्रेमविवाह भयो। युवतीको परिवारले मिजारविरुद्ध प्रहरीमा बालविवाहको उजुरी दियो। २७ असारमा उनीहरूबीच सम्बन्धविच्छेद गराइयो। २८ असारमा मिजार बेपत्ता भए। केही दिनमै धादिङ गजुरीमा उनको शव फेला पर्यो।
प्रहरीले परिवारलाई जानकारी नदिई मिजारको शव गाड्यो। तर, दलित अधिकारकर्मी र आफन्तको दबाबमा शव उत्खनन गरी ३ साउनमा शिक्षण अस्पतालमा पोस्टमार्टम गरियो। मिजारको हत्या पुष्टि भए पनि प्रहरीले लामो समयसम्म मुद्दा दर्ता गर्न मानेन। अहिले प्रहरीले युवतीकी आमालाई मात्र थुनामा राखेको छ। मिजारको शव पाँच महिनादेखि शिक्षण अस्पतालमै छ। नयाँ पत्रिका दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.