पर्यटन आगमन बढ्दो क्रममा, अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि

  २०७३ पुष ११ गते १४:०९     विकासन्युज

pokhara_touristचितवन, ११ पुस । विनाशकारी भूकम्प र नाकाबन्दीले असर पुर्याएको यहाँको पर्यटन व्यवसाय बल्ल उकालो लाग्न थालेको छ । भूकम्प र नाकाबन्दी पछि यहाँ पर्यटन आगमन २० वर्ष अगाडिको अवस्थामा पुगेको थियो ।

पर्यटकको अभावमा निराश बनेका पर्यटन व्यवसायीमा फेरि आशा जगाएको छ । बन्द गर्नुपर्र्ने अवस्थामा पुगेका होटल व्यवसायीले केही महिनायतादेखि पर्यटक वृद्धी हुँदै गएकाले राहत महसुस गरेका छन् ।

सौरहास्थित क्षेत्रीय होटल सङ्घ अध्यक्ष सुमन घिमिरेले सन् २०१७ मा भूकम्प अघिको अवस्थामा पर्यटन व्यवसाय पुग्ने विश्वास व्यक्त गरेका छन् । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनको सङ्ख्यामा निकै वृद्धि भएको उनले बताए ।

गत आर्थिक वर्षमा ८७ हजार पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भित्रिएकामा यस आर्थिक वर्षको पाँच महिनामा ५१ हजार पर्यटक पुगेका छन् । भूकम्प र नाकाबन्दीका कारण फाट्टफुट्ट मात्र पर्यटक देखापर्ने यहाँ अहिले स्वदेशी र विदेशी पर्यटकको चहलपहल बढ्दै गएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले पर्यटक आगमन निकै घटेकामा अहिले क्रमश बढ्दो रहेको बताएका छन् । निकुञ्जमा हाल स्वदेशी, एसिया, अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशबाट पर्यटक आएको व्यवसायीले बताएका छन् ।

सन २०१७ का लागि होटल बुकिङ्ग आशा लाग्दो रहेको सौराहाको होटल सेभेन स्टारका प्रबन्ध निर्देशक माधव दुवाडीले बताए । आउँदो वर्षका लागि आठ हजार पर्यटकले होटल बुकिङ गरेको उनको भनाइ छ । विदेशी पर्यटकले अन्य ठूला होटल पनि बुक गरिरहेका छन् । पर्यटकलाई लक्षित गरी जिल्लामा करिब दुई सयको हाराहारिमा होटल सञ्चालनमा छन् । यो व्यवसायमा मात्र १० अर्ब भन्दा बढी लगानी छ ।

जिल्लामा आउने अधिकांश पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती र जिप सफारीबाट दुर्लभ वन्यजन्तु बाघ, गौँडालगायतका जनावार हेर्न रुचाउने गर्दछन् । रासस