२०७३ पुष १३ गते १०:३९ विकासन्युज
जलविद्युत क्षेत्रको विज्ञ तथा जलविद्युत कम्पनीका प्रवद्र्धकको रुपमा परिचित ज्ञानेन्द्रलाल प्रधानको पछिल्लो परिचय हो, सेयर बजारको ठूला लगानीकर्ता । सेयर बजारमा दैनिक दोहोरो अंकका गिरावट भईरहदा ठूला लगानीकर्ता के गरिरहेका छन् ? कस्तो हिसाव किताव गर्छन ? बजारबारे ठूला लगानीकर्ताको विश्लेषण के हुनसक्छ ? प्रस्तुत छ प्रधानसँग गरिएको सेयर बार्ता ।
सेयरको मूल्य किन घटिरहेको छ ?
सेयर बजार उमेर जस्तो हुँदैन, बढेको बढ्यै गर्ने र अन्तिममा मर्ने । सेयर बजारमा मूल्य घट्नु र बढ्नु स्वभाविक प्रक्रिया हो ।
सेयर बजार घट्छ भन्ने निश्चित थियो, अलि चाडो घट्न थाल्यो । सेयर आपूर्ति बढेकोले मूल्य घटेको हो । हकप्रद सेयर धेरै आउँदैछ । बुक क्लोज हुने क्रम जारी छ । मेरो विचारमा सेयर बजार अझ घट्न सक्छ । तर लगानीकर्ता आत्तिनु पर्दैन । छोटो समयमा नै बजार बुल हुन्छ ।
सेयर बजारमा तपाईलाई ठूला लगानीकर्ता भन्छन् । सेयरमा तपाईको लगानी कति छ ?
ठ्याक्कै त मलाई पनि थाहा छैन । केही सेयर कम्पनीका नाममा हुन्छ । केही सेयर परिवारका सदस्यको नाममा हुन्छ । स्मल टेन डिजिट भनेर बुझ्नु न (कम्तिमा एक अर्ब रुपैयाँ) ।
म लक्की लगानीकर्ता हुँ । मैले सेयर किन्न थाल्दा नेप्से ३०० भन्दा कम थियो । मेरो लगानीको धेरै सेयर जिरो कष्टमा झरिसक्यो । जति लगानी हो, त्यति लाभांश लिईसकेँ । इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य जति घटेपनि मलाई चिन्ता छैन । मेरो लगानी पूरै उठिसक्यो ।
जिरो कष्ट भनेको के हो ?
लगानी उठिसकेको अवस्था । बोनस सेयर आयो, नगद लाभांश आयो, मूल्य बढ्यो, केही बेचेँ, त्यसबाट फाइदा भयो ।
यतिबेला बजारमा मूल्य घटिरहेको छ । तपाई सेयर किनिरहनु भएको छ कि बेचिरहनु भएको छ ?
म सेयरको ट्रेडर्स (व्यापारी) होइन, इन्भेष्टर (लगानीकर्ता) हुँ । मैले किनेको सेयर मध्ये ५ प्रतिशत मात्र मूल्य बढेपछि बिक्री गर्ने उदेश्य राखेको हुन्छ । किनकी कहिले कही पैसा चाहिन्छ । सेयर चाहेको बेलामा बेच्न सकिन्छ भन्ने आधारमा पनि लगानी भएको हुन्छ । मैले ९५ प्रतिशत सेयर प्रतिफल खानको लागि किनेको हुन्छु ।
नेप्से १७ सय, १८ सय विन्दुमा हुँदा सेयर बेच्नु भयो कि किन्नु भयो ?
मैले सेयर किन्न थाल्दा नेप्से ३०० भन्दा कम थियो । तर नेप्से १७/१८ सय हुँदा बेचेको थिइँन । नेप्से २२/२५ सय पुग्ला भन्ने थियो । बजार घटेर नेप्से १५ सय नजिक भएपछि मैले केही सेयर बेचेँ र बैंकको ऋण तिरेँ ।
आजको दिनमा सेयर किन्न उपयुक्त हो कि बेच्न ?
ठूला लगानीकर्ताको लागि, लामो समय होल्ड गर्न सक्नेको लागि सेयरमा लगानी गर्ने बेला हो । यतिबेला राकेश अडूकियाले सेयर किन्दा फाइदा लिन सक्छ । यतिबेला ज्ञानेन्द्रलाल प्रधानले सेयर किन्दा फाइदा लिन सक्छ । किनकी उनीहरुलाई तीन महिनापछि सेयर बेच्नु छैन । आगामी तीन महिनासम्म सेयरको मूल्य घटेपनि राती मजाले निन्द्रा लाग्छ । निद्रा मर्ने गरी सेयरमा लगानी गर्नु हुन्न । यतिबेला सेयर ट्रेडर्स गम्भिर समस्यामा छन् । त्यसमा पनि ऋण लिएर लगानी गर्नेहरु झन समस्यामा छन् ।
निक्षेपको व्याजदर ९/१० प्रतिशत पुगेकोले लगानीकर्ता सेयर बेचेर निक्षेप राख्न थालेकोले सेयरको मूल्य घटेको हो ?
होइन, सेयरमा बैंकको कर्जा धेरै छैन । कुल कर्जाको २ प्रतिशतभन्दा कम छ । पहिला जस्तो उद्योगको नाममा कर्जा लिएर सेयरमा लगानी गर्न अहिले सकिदैन । राष्ट्र बैंकको नियम कडा छ । महत्वपूर्ण कुरा के हो भने सेयरमा लगानी गर्ने लगानीकर्ता कहिल्यै पनि सेयर बेचेर मुद्दती खातामा निक्षेप राख्न जाँदैनन् ।
लगानीकर्ताका सेयर, जग्गा, सुन, उद्योग व्यापार धेरै विकल्प हुन्छ । तर सेयरमा जति फाइदा अन्त कहिँ पनि हुँदैन । मुकेश अम्बानी धनी भएको उद्योगले होइन, सेयरले हो । सेयरको मूल्य बढेकोले उनी धनी भएका हुन् । विल गेट्स धनी भएको माइक्रोसफ्ट कम्पनीले नाफा वितरण गरेर होइन, १० डलरको सेयर १५०० डलर भएर हो । डोनाल्ट ट्रम्प धनी भएको जग्गाबाट फाइदा भएर हो । तर धेरै नाफा खान्छु भनेर चर्को व्याजमा ऋण लिएर सेयर वा जग्गा लगानी गर्ने मान्छेले कहिल्यै पनि कमाउन सक्दैन । सेयरमा, जग्गामा लगानी गर्नेले नाफा गर्न लामो समय धैर्य गर्न सक्नुपर्छ ।
सेयर बजार जुवा होइन, क्यालकुलेशन हो । कम्पनी अर्केले चलाउँछ । चिन्ता अर्कैले लिन्छ । नाफा लगानीकर्ताले पाउँछ । तपाई नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर किन्नुहोस् । बैंकको चिन्ता पृथ्वीवहादुर पाण्डेले लिन्छन् । कर्जा डुब्छ कि भन्ने चिन्ता बैंक व्यवस्थापन गर्नेको हुन्छ । तपाई निर्धक्क नाफा पाउनुहुन्छ । हो, ५१ प्रतिशत सेयर पृथ्वीबहादुर पाण्डेको होला, उनले बढी नाफा पाउँछन् । तपाईसँग १ प्रतिशत सेयर छ भने तपाईले कम नाफा पाउँनुहुन्छ । फरक त्यति हो ।
नेपालको सेयर बजारले अर्थतन्त्र प्रतिविम्ब दिन सकेन भनिन्छ । आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कम हुँदा सेयर नेप्से १८८१ पुग्यो । यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत नाघ्ने अनुमान गरिदै छ, सेयर बजार दिनदिनै दोहोरो अंकले घट्दैछ, किन यस्तो भयो ?
हो, हाम्रो सेयरबजारले अर्थतन्त्रको प्रतिनिधित्व गर्दैन । किनकी जीडीपीमा रेमिट्यान्सको योगदान ३० प्रतिशत भन्दा माथि छ, तर रेमिट्यान्स सम्बन्धी कुनै पनि कम्पनी लिष्टेड छैनन् । जीडीपीमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी छ, यो क्षेत्रसँग सम्बन्धित एउटा पनि कम्पनी नेप्सेमा सूचिकृत छैन । नेपालमा ठूलो काराबार हुने घर जग्गा हो, यससँग सम्बन्धि कम्पनी एउटा पनि सेयर बजारमा सूचिकत छैन । जीडीपीमा निर्माण, यातायात, व्यापार क्षेत्रको योगदान उल्लेख्य छ, तर सेयर बजारमा यस्ता कम्पनी एउटा पनि सूचिकृत भएका छैनन् । जीडीपीमा शिक्षा, स्वास्थ्य, सञ्चार लगायत सेवा मूलक क्षेत्रको योगदान उल्लेख्य छ, यो क्षेत्रको पनि सेयरबजारमा उपस्थिति छैन ।
सेयर बजारमा बैंक, बीमा, केही जलविद्युत र होटलहरु सूचिकृत भएका छन्, उनीहरुको जीडीपीमा योगदान कम छ । तर कम्पनीहरुले राम्रो गरेको छन् । सेयरको प्रतिफल पनि राम्रो छ ।
तीन वर्षअघि बीमा कम्पनीले सेयरधनीलाई दिने प्रतिफल भन्दा आज बीमा कम्पनीले दिने प्रतिफल बढी छ, तर बीमा कम्पनीको सेयर मूल्य किन उच्च अंकले घटेको ? कम्पनीको प्रफमेन्स राम्रो देखिदा पनि सेयर मूल्य किन घटेको ?
भविष्यमा दिन सक्ने सम्भावित प्रतिफलको असर हो । अहिले इपिएस शुन्य भएपनि भविष्यमा राम्रो हुन्छ भन्ने भयो भने त्यो कम्पनीको सेयर मूल्य बढी हुन्छ । अहिले राम्रो छ, तर भविष्य के हो के हो भन्ने भयो भने भूल्य घट्छ ।
सेयर कहिले किन्न उपयुक्त समय हो ?
मेरो विचारमा सेयर बजारमा मन्दी अब ३/४ महिना मात्र हो । ३८ सय पुगेको बैंकको सेयर १५ सयमा झरिसक्यो । हजार पुगेको बैंकको सेयर ४ सयमा झरिसक्यो । हकप्रद सेयर आएपछि मूल्य अझै घट्छ । बजार घट्ने क्रम रोक्छु भनेर पनि रोक्न सकिदैन । तर आगामी असारपछि मूल्य बढ्न थाल्छ । २/३ वर्षपछि बुम हुन्छ । फेरी नेप्से १८८१ भन्दा माथि जान्छ । यी सबै सामान्य नियम हो ।
यो मन्दीमा नेप्से कतिसम्म झर्ला ?
त्यस्तो जान्ने भए म वारने वफेट बन्थे, ज्ञानेन्द्रलाल भएर किन बस्थे र । सेयरको उच्चतम विन्दु र न्यूनतम विन्दू कसैलाई पनि थाहा हुँदैन ।
अब कुन क्षेत्रका सेयर किन्दा उपयुक्त हुन्छ ?
नम्बर वान बैकिङ, नम्बर टु इन्स्योरेन्स ।
तपाई जलविद्युत क्षेत्रको लगानीकर्ता । जलविद्युत समूहको सेयर किन्दा के हुन्छ ?
नियामक छैन । नेशनल हाइड्रोपावरको सेयर कहिले ३६ रुपैयाँमा झर्यो, कहिले ७०० भयो । एउटा हाइड्रो पावर कम्पनीले हकप्रद सेयर दिने भनेर हल्ला गर्यो । सेयर मूल्य ८०० पुर्याएर व्यवस्थापनमा संलग्न व्यक्तिहरुले सेयर बेचे । सामान्य लगानीकर्ता डुबे । म त्यो कम्पनीको नाम लिन चाहान्न । यस्ता मान्छेले जलविद्युत क्षेत्र ढुबाउँदैछन् । लगानीकर्ताको विश्वास गुम्न सक्छ । लगानीकर्तालाई धोका हुन सक्छ ।
तर सबै जलविद्युत कम्पनी नराम्रा छैनन । म चिलिमे हाइड्रोपावर कम्पनीको पब्किल सेयर होल्डरमा सबैभन्दा ठूलो लगानीकर्ता हुँ । यो कम्पनीमा समस्या छैन् ।
सेयर बजारमा ठूला लगानीकर्ताको चलखेल कत्तिको हुन्छ ?
कुनै समय यस्तो थियो निर्मल प्रधान, राकेश अडुकियाले बजारमा प्रभाव पार्न सक्थे । अहिले कसैले पनि प्रभाव पार्न सक्दैन । दैनिक ५० करोडभन्दा बढीको कारोबार हुन्छ । कसको क्षमता छ यति ठूलो बजार प्रभावित गर्न सक्ने ? तर कुनै कुनै कम्पनीका प्रमोटरले चलखेल गर्न सक्छन् ।
लगानीकर्ताको लागि तपाईको टिप्स्हरु ?
आज सेयर किन्ने, तीन महिनापछि बेच्ने र त्यसैबाट हुने फाइदाबाट दालभात जुटाउने सोचले सेयरमा लगानी गर्नु हुन्न । ६ महिना, १ वर्षमा यति कमाउँछु भनेर लगानी गर्नेहरु पनि सेयरमा डुब्छन् । दीर्घकालिन लगानी गर्नुहोस् , नाफा पक्का हुन्छ ।
तपाई महिनाको १० हजार बचत गर्नुहुन्छ भने फरक फरक कम्पनीको सेयर किन्दै जानुहोस् । कुनै कम्पनी डुब्ला पनि । तर धेरै जसो कम्पनीले नाफा दिन्छ । १० वर्षसम्म हेर्नुहोस्, तपाईले सेयरबाट नसोचेको फाइदा प्राप्त गर्न सक्नुहुनेछ ।
भारतको सेयरबजारको २५ बर्षको औषत रिटर्न २० प्रतिशतभन्दा माथि छ । त्यो पनि दोस्रो बजारमा गरिएको लगानीको प्रतिफल हो । अहिले लगानी गर्यो भने पनि दीर्घकालमा २० प्रतिशत भन्दा बढी फाइदा हुन्छ । प्राथमिक बजारमा गरिएको लगानी एक वर्षमा ३/४ सय प्रतिशतले वृद्धि हुन्छ । १०० मा किनेको सेयर नेप्सेमा सूचिकृत हुँदा ३/४ सय रुपैयाँ भईहाल्छ ।
संसारमा नै सेयरमा गरिएको लगानीको प्रतिफल अन्य क्षेत्रमा भन्दा उच्च हुन्छ । भारतमा घाटामा भएको कम्पनीको सेयर मूल्य १५०० भन्दा माथि छ । नेपालमा नाफा गरिरहेका कम्पनीको सेयर २/३ सयमा किन्न पाइन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.