२०७३ पुष १५ गते ११:२४ विकासन्युज
काठमाडौं, १५ पुस । न्यूरोडमा मोबाइल व्यवसायीबीच सुरु भएको लडाइँले नयाँ वर्षका अवसरमा आयोजीत मोबाइल मेला नै प्रभावित भएको छ । न्यूरोड क्षेत्रका मोबाइल बिक्रेता र होल सेलर व्यवसायीबिचको विवादका कारण नयाँ वर्ष सन २०१७ का अवसरमा आयोजीत मोबाइल मेलाका दौरान आयोजना गर्ने भनिएको सडक महोत्सब र कन्सर्ट स्थगित भएको हो ।
नेपाल मोबाइल व्यवसायी संघले पुस १३ गतेदेखि १९ गतेसम्म न्युरोड पाको क्षेत्रमा न्युरोड मोबाइल मेला आयोजना गरिरहेको छ । मेलालाई थप आकर्षक बनाउन कन्सर्ट आयोजना गर्ने भनिएको थियो तर ट्राफिक प्रहरीले सडकमा कार्यक्रम गर्न नपाउने भन्दै रोकेको अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ‘हाम्रो कन्सर्ट किन रोकियो भनेर सोधेका थियौं, प्रहरीले माथीको आदेश भनेको छ ।’, बस्नेतले विकासन्युजसँग भने ।
प्रहरीले नयाँ बर्षको अवसरमा हुलदंगा बढ्ने कारण देखाउँदै कन्सर्ट नगर्न निर्देशन दिएको पनि उनले जानकारी दिए ।‘नयाँ बर्षमा हुलदंगा भयो भन्ने प्रहरीको दावी छ, न्युरोडमा आयोजना भएका यस्ता कन्सर्टमा कहिल्यै त्यस्तो भएको रेकर्ड छैन तर प्रहरीले कार्यक्रम गर्न दिएन, हामी आश्चर्य चकित भएका छौं’, अध्यक्ष बस्नेतले भने ।
संघले अंग्रेजी नयाँ वर्ष २०१७ को अवसर पारेर पाको, न्यूरोड, ताम्राकार कम्प्लेस, पिपुल्स प्लाजा लगायतका क्षेत्रहरुमा मेला आयोजना गरेको हो । श्रोतका अनुसार मोबाइल होल सेलर र खुद्रा बिक्रेतका बिचमा विवाद उत्पन्न भएपछि यस्तो अवस्था आएको हो । सुरुमा होलसेलर व्यवसायीले मोबाइल मेलाको आयोजना गर्न लागेका थिए तर खुद्रा बिक्रेताले आफुहरुले मेला आयोजना गर्ने अडान कसे ।
त्यतिबेला नै गठन भएको मोबाइल आयात कर्ता संघले खुद्रा व्यवसायीको पक्ष लियो । र पुरुषोत्तम बस्नेत नेतृत्वको खुद्रुा व्यवसायीले मोबाइल मेलाको आयोजना गरे । मेला आयोजना गर्न नपाएको झोँकमा डिलर व्यवसायीले ट्राफिक मार्फत सडक महोत्सव रोक्न लगाएको आरोप लागेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.