२०७३ चैत १ गते १८:५० विकासन्युज
काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा सरकारले देशभरमा विभिन्न व्यापारिक फर्महरुमा अनुगमन गर्यो । चाडपर्वकै मौका छोपेर विभिन्न ठुला व्यापारिक फर्मले उपभोक्ता ठगी गरेको पाइयो ।
आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको आठ महिनाको तथ्याकं अनुसार अनुगमनमा परेका २४९३ वटा व्यापारिक फर्म मध्ये १३ वटालाई कारबाहीको प्रकृया अगाडी बढाइएको छ । मुद्धा दायरमा परेका मध्ये पाँचवटा कम्पनीको नाम खुलेको छ ।
ललितपुरको तिमिल्सिना किराना तथा खाद्य स्टोर, सेलवेज क्यास एण्ड क्यारी र मेगा आई प्रालीलाई जिल्ला अदालतमा मुद्धा दायर गरिएको आपूर्ति विभागले जनाएको छ ।
कस्तो कारबाही हुनसक्छ ?
विभागका शाखा अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार ती कम्पनीलाई गत फागुनमा मुद्धा दायर गरिएको हो । उनले भने, ‘सबै कम्पनीलाई उपभोक्ता संरक्षण ऐन, २०५४को दफा १० (क) को कसुर अनुसार दफा, १८ (ग) अनुसार कारबाही गर्न सिफारिस गरिएको छ ।’
उपभोक्ता संरक्षण ऐनको दफा १० मा ‘उपभोग्य वस्तु वा सेवाको सम्बन्धमा गर्न नहुने काम’ शिर्षक अनुसार (क) मा कमसल उपभोग्य वस्तुको उत्पादन, बिक्री वितरण वा निकासी पठारी गर्न नहुने उल्लख छ ।
त्यस्तै दफा १८ को ‘सजाय’ शिर्षकको (ग) उक्त किसिमको कसुरका लागि तीन वर्ष कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुवै सजाय गराउने उल्लेख छ ।
ठुला कम्पनिलाई उन्मुक्तीको प्रयास
बाकी कम्पनीलाई कारबाहीका लागि प्रकृया अघि बढाइएको भनिएतापनि विभागले नाम खुलाएको छैन । विभागको रिपोर्ट अनुसार ती मध्ये भाटभटेनी सुपरमार्केट र हामा इन्टरनेसललाई कारबाहीका लागि सरकारी वकिलसँग राय परामर्शका लागि पठाइएको बताइएको छ ।
चाडपर्वका बेला विशेष होहल्लाका साथ ठुला व्यापारिक फर्ममा अनुगमन गर्ने र ती कम्पनीलाई राय परामर्श लिने भन्दै विभिन्न बाहनामा उन्मुक्ती दिने गरिएको एक सरकारी अधिकारीले बताए ।
गत भदौमा सरकारले भाटभटेनी सुपरस्टोरको चुच्चेपाटी र बालुवाटारमा रहेको खाद्यान्न भण्डारमा सिलबन्दी गरेको थियो । भाटभटेनी समूहअन्तर्गतको खाद्यान्न भण्डारण केन्द्रमा गुणस्तरहीन खाद्यसामग्री भेटिएको भन्दै आपूर्ति मन्त्रालयको नेतृत्वमा गएको अनुगमन टोलीले भण्डारमा सिलबन्दी गरेको थियो । छ महिना पुग्दासम्म विभागले भाटभटेनीमा कारबाही अगाडी बढाउन सकेको छैन ।
अनुगमन टोलीले भाटभटेनीले आयात गरी खाद्यान्न प्याकेजिङ गर्ने यो भण्डारमा रहेको च्युरा, बदाम, चनालगायतका सामग्री गुणस्तरहीन रहेको फेला पारेको थियो । ती खाद्यान्नमा उत्पादन मिति नरहेको, उपभोग गर्ने मिति गुज्रिएको तथा पुराना खाद्यान्न फेरि प्याकेजिङ गरेर बेच्न ठीक पारिएको अवस्थामा भेटिएपछि सिलबन्दी गरिएको जनाइएको छ । भाटभटेनीले ३ वर्षअघि प्याक गरेको सामान अहिले बेच्न ठीक पारेको र तिनीहरूको पनि उपभोग्य मिति गुज्रिएको भेटिएको थियो ।
विभागका महानिर्देशक गोकुल धितालले मुद्धा दायर गर्ने विषयलाई मात्र कारबाहीको संज्ञा दिन नमिल्ने बताए । उनले भने, ‘हामीले अनुगमनमा विभिन्न फार्ममा सुधार गरेपछि सिलबन्दी खोलेका छौं । विभिन्न व्यवासायीले दर्ता प्रकृया अघि बढाएका छन् । यसलाई पनि कारबाहीको रुपमा लिइदिन निवेदन गर्दछु ।’ अदालतबाट दोषी ठहर भएमा भाटभटेनी सञ्चालकमाथि ५ लाख जरिवाना वा १४ वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.