आठ प्रतिशतले मूल्य बृद्धि घट्दा पहाड सबैभन्दा महँगो

  २०७३ चैत ३ गते १८:५७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा ३.३ प्रतिशत मूल्य बृद्धि रहेको छ । गएको वर्षको सो अवधिमा यस्तो मूल्य बृद्धि ११.३ प्रतिशत थियो । क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा पहाडमा सबैभन्दा मह्गो देखिएको छ । यस वर्षको माघसम्ममा पहाडमा ५.९ प्रतिशत मूल्य वृद्धि रहेको छ । सबैभन्दा कम मूल्य बृद्धि काठमाडौंमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । समीक्षा अवधिमा काठमाडौंमा १.१ प्रतिशत मूल्य बृद्धि रहेको थियो । त्यस पछि तराई सस्तो देखिएको छ । तराईमा सो अवधिमा तीन प्रतिशत मूल्य बृद्धि रहेको छ भने हिमालमा ३.२ प्रतिशत मूल्य बृद्धि रहेको थियो ।
गएको वर्षको माघसम्ममा काठमाडौं उपत्यका सबैभन्दा मह्गो थियो भने त्यसपछि पहाड र हिमालमा उच्च मूल्य बृद्धि थियो भने तराई सबैभन्दा सस्तो थियो । गत पुसमा काठमाडौं उपत्यकामा सबैभन्दा कम १.९ प्रतिशत मूल्य बृद्धि रहेको थियो । तराईमा २.८ प्रतिशत, हिमालमा ४.२ प्रतिशत र पहाडमा ५.७ प्रतिशत मूल्य बृद्धि थियो ।

क्रेडिट क्रन्च देखिएयता एक महिनाको अवधिमा एक खर्ब ८० अर्ब निक्षेप बढेको छ । समीक्षा अवधिमा विप्रेषण आए  ५.२ प्रतिशतले बढेर ३ खर्ब ९४ अर्ब ५७ करोड पुगेको छ । पुसमा यस्तो आय तीन खर्ब ४२ अर्ब २३करोड थियो । यो अवधिमा सरकारको सञ्चिति एक खर्ब ९७ अर्ब रहेको छ भने शोधान्तर बचत ३६ अर्ब ९८ करोड रहेको छ । पुसमा सरकारको सञ्चिति दुई खर्ब एक अर्ब ६१ करोड थियो भने शोधान्तर बचत ४५ अर्ब २ करोड थियो ।

आठ प्रतिशतले घट्यो मूल्य बृद्धि

गएको माघको तुलनामा गएको वर्षको माघको तुलनामा ८ प्रतिशतले मूल्य बृद्धि घटेको छ । गत वर्ष भूकम्प तथा नाकाबन्दीका कारण वस्तु तथा सेवाको मूल्य अत्यधिक उकालो लागेको थियो  । गएको वर्षको सो अवधिमा भनदा यस वर्ष मूल्य प्रभाव, आपूर्ति व्यवस्थामा आएको सहजता तथा छिमेकी मुलुक भारतमा समेत उपभोग्य वस्तुको मूल्य घट्दा यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

तर, अहिले अवस्था सामान्य भएको छ त्यसैले मूल्य बृद्धि पनि कम हुँदै आएको राष्ट्र बैंकको माघ महिनको आर्थिक परिदृष्यले देखाएको छ । गएको पुसमा पनि ३.२ प्रतिशत रहेको मूल्य बृद्धि माघमा शुन्य दशमलव एक प्रतिशतले बढेको छ । गत वर्षको पुसमा १२.१ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा खाद्यन्नको मूल्य बृद्धि शुन्य दशमलव २ प्रतिशतले ऋणात्मक रहेको छ । गएको पुसमा खाद्यान्नको मूल्य बृद्धि शुन्य दशमलव ७ प्रतिशत  ऋणात्मक रहेको थियो । गएको वर्षको सो  अवधिमा खाद्यन्नको मूल्य बृद्धि १२.८ प्रतिशत रहेको थियो ।

उक्त समूहअन्तर्गतको घ्यू, गेडागुडी, दलहन तथा तेलको मूल्यमा ८.४ प्रतिशत, तरकारीको मूल्यमा ५.८ प्रतिशत, ऋणात्मक रहेको छ । त्यसैगरी मासु तथा माछाको मूल्यमा २.४ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा शुन्य दशमलव चार प्रतिशतले कमी आएको हो ।
समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १६.५ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १०.५ प्रतिशतले वृद्धि भएको छ ।
यस वर्षको माघसम्मको अवधिमा गैर–खाद्य मूल्य वृद्धि ६.१ प्रतिशत रहेको छ । गएको वर्षको सोही अवधिमा गैर–खाद्य वस्तुका मूल्य बृद्धि  १०.१ प्रतिशत रहेको थियो  । यस समूह अन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र शिक्षालगायतको मूल्यवृद्धि गएको वर्षको तुलनामा न्यून रहेको छ ।