२०७३ चैत ६ गते १०:०७ विकासन्युज
उमेशलाल श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा बस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ । क्वष्ट फर्मास्यूटिकल्सका प्रबन्ध निर्देशन श्रेष्ठ नेपाल औषधि उत्पादक संघको पूर्व अध्यक्ष समेत भईसक्नु भएको छ । उहाँले महासंघको कार्यसमितिमा ६ वर्ष र बस्तुगत परिषदमा ३ वर्ष गरी महासंघमा ९ वर्ष काम गरिसक्नु भएको छ । प्रस्तुत छ नीति निर्माण तहमा महासंघको भूमिका र महासंघले गर्दै आएका विवादस्पद कार्यहरु, महासंघको आगामी निर्वाचन र उहाँको तयारी विषयमा केन्द्रीत भई विकासन्युजले उहाँसँग गरेको विकास वहस ।
नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा तपाईको तयारी कस्तो छ ?
म बस्तुगत समूहको उपाध्यक्ष पदमा उम्मेदवारी दिदै छु । निर्वाचनपछि महासंघको अध्यक्ष भवानी राणा हुने कुरा स्पष्ट छ । उहाँको समर्थनमा बरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा, बस्तुगत उपाध्यक्षमा म, एशोसिएट उपाध्यक्ष्यमा चन्द्रप्रसाद ढकाल र जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने निर्णय भईसकेको छ । हाम्रो टिम राम्रो बनेको छ ।
निर्वाचनमा तपाईको टिमको एजेण्डा के के हुन् ?
निजी क्षेत्रको हितमा काम गर्नु महासंघको उदेश्य हो । महासंघलाई बलियो बनाउनुपर्छ । महासंघको व्यवस्थापन सुदृढ बनाउनुपर्नेछ । निर्वाचित कार्यसमितिले सरकारसँग नीति निर्माणमा काम गर्ने हो । हामी सबैको एउटै उदेश्य हो–देशमा उद्योग व्यवसाय फस्टाओस्, रोजगारी सिर्जना होस्, जनता समृद्ध हुन् । हाम्रो टिमसँग निर्वाचनमा प्रतिस्पर्धा गर्ने साथीहरुको पनि उदेश्य त्यहि हो । तर कसले राम्रो गर्न सक्छ ? कसको क्षमता बढी छ ? महासंघका साथीहरुले मूल्याङ्कन गरेर भोट हाल्नुहुनेछ । हामी आ–आफ्नो क्षेत्रमा खारिएर आएका, क्षमता प्रर्दशन गरेका व्यक्तिहरु छौं । शेखरजी, दिनेशजी, चन्द्रजी, भवानीजी सबै आफ्नो क्षमता देखाईसकेका सक्षम व्यक्ति हुनुहुन्छ । म पनि शुन्यबाट औषधि क्षेत्रमा प्रवेश गरेको थिएँ र यो क्षेत्रमा सबैले देख्ने काम गरेको छु । अब हाम्रा स्ट्रेन्थ जाँच्ने महासंघका सदस्य साथीहरुले हो ।
तपाईको आफ्नै क्षमता के हो ?
मेरो क्षमता भनेको मेरो काम हो । मैले निरन्तर ९ वर्ष महासंघमा काम गरे । ६ वर्ष कार्यसमितिमा र ३ वर्ष बस्तुगत समितिमा बसेर साथीहरुको लागि काम गरेको छु । म प्रष्ट वक्ता हुँ । मलाई सहि लागेको कुरा बोल्छु । जे बोल्छु, हृदयदेखि नै बोल्छु । प्रष्ट बोल्दा कसैलाई चित्त दुख्न पनि सक्छ । हाम्रो समाजमा प्रष्ट बोल्ने मान्छेलाई अहंकारी, घमण्डी भन्छन् । मलाई कुनै घमण्ड छैन । तर मलाई साँचो लागेको कुरा बोल्छु । साँचो बोल्दा कहिले कही छुच्चो पनि भइन्छ । गाली पनि खाइन्छ । जो मसँग लामो समय संगत गर्छ, उसले मलाई नराम्रो मान्छे भन्दै भन्दैन । मसँग झगडा भयो भने पनि त्यो क्षणिक हुन्छ र म फेरी मिल्छु । मनमा लागेको बोल्छ, रिसाउँछु पनि र तर मेरो दुस्मन कोही पनि छैन ।
व्यक्तिगत रुपमा तपाईले महासंघमा रहेर गरेको उल्लेख्य काम के के हुन् ?
नितान्त व्यक्तिगत लाभको विषय लिएर महासंघमा आउने साथीहरुलाई मैले केही पनि गरेको छैन । तर समग्र क्षेत्रको सामूहिक हितको विषय लिएर महासंघमा आउने साथीहरुलाई सक्दो सहयोग गरेको छु । जस्तो २०६९ सालमा सरकारले प्लाष्टिक उद्योग बन्द गराउने निर्णय गर्यो । त्यस क्षेत्रका साथीहरुले आफूहरु समस्यामा परेका बताउनु भयो । उहाँहरुको समस्या समाधान गर्न हामीले धेरै काम गरेका छौं । सरकारी अधिकारीहरुलाई बस्तुगत अवस्था बुझाउन, प्लाष्टिक उद्योगका राम्रा पक्ष बुझाउन सफल भयांै । औषधि उद्योगका क्षेत्रमा देखिएको गम्भिर समस्याहरुबारे मन्त्रालयमा छलफल गरेर समाधान गर्न हामी सफल भएका छौं । समग्रमा बस्तुगत संघहरुको हितमा हामीले धेरै काम गरेका छौं । उद्योग समितिको सभापतिको हैसियतमा मैले धेरै काम गर्ने मौका पाएको छु ।
महासंघमा ९९ वटा बस्तुगत संघ सदस्य छन् । उनीहरुको मत तान्न तपाईका एजेण्डा के के छन् ?
मेरो मात्र होइन, हाम्रो टिमको एजेण्डा हुन्छ । टिमले कार्यक्रम बनाउने र प्राथमिकता निर्धारण गर्ने हो । सबैभन्दा महत्वपूर्ण एजेण्डा भनेको महासंघमा प्रभावकारी थिङ्क ट्याङक चाहिन्छ । उद्योगी व्यापारीले बोल्दा हाम्रो आफ्नो स्वार्थले बोल्यो भनिन्छ । हामी भनेको अर्थशास्त्रका विज्ञ पनि होइनौ । अर्थशास्त्रीहरुको विज्ञ समूहले बोल्यो भने त्यसको ठूलो भ्यालु हुन्छ, सरकारले पनि सुन्छ ।
मलाई उद्योग चलाउन आउँछ । सिमेन्ट उद्योग चलाइरहेका साथीहरुलाई सिमेन्ट उद्योग कसरी चलाउने भन्ने आउँछ । धेरै थरी उद्योग व्यवसाय होल्ड गर्नेलाई अलि धेरै विषय थाहा हुन्छ । तर हामीलाई अर्थतन्त्र कसरी चलाउनु पर्छ भन्ने थाहा हुँदैन । नजानेको विषयमा बुज्रुक भएर बोल्नु राम्रो हुँदैन । विषय विज्ञलाई नै अगाडि सार्नुपर्छ । हामी त्यो काम गर्छौ ।
महासंघले पहिला पनि विज्ञ समूह बनाएको थियो । त्यो प्रभावकारी देखिएन । अहिले महासंघमा विज्ञ समूह नै छैन । किन यस्तो भयो ?
हो, धेरै अगाडि महासंघमा विज्ञहरुको समूह थियो । तर अहिले छैन । समस्या के भयो भने विज्ञ भनेको विज्ञ नै हो । कर्मचारी जस्तो हुँदैन । उनीहरु सल्लाहकार हुन् । सल्लाकार भनेको मान्यजन हुन् । मान्यजनलाई मानेरै राख्नुपर्छ । मेरो मान्यता त्यो हो । विज्ञलाई जागिरे जसरी राख्नु गल्ती थियो । विज्ञलाई जागिरेको रुपमा राख्ने होइन । हामीले उहाँहरुलाई समस्या भन्ने हो, उहाँहरुको सुझाव लिने हो । कन्सल्ट्यान्टको रुपमा उहाँहरुले योगदान गर्नुहुन्छ ।
महासंघको सचिवलाय बलियो बनाउने कुरा गर्नुभयो । निर्वाचन ताका सबैले यहि भन्छन् । तर महासंघमा सचिवालय चलाउने कार्यकारी प्रमुख अर्थात महानिर्देशकको पद खाली भएको १ वर्ष भयो । तपाई कार्यसमितिमा हुनुहुन्छ । एक वर्षसम्म कार्यकारी प्रमुख नियुक्त नगर्ने अनि सचिवालय बलियो बनाउने चुनावी नारा बनाउने ?
महानिर्देशकको नियुक्ती पदाधिकारीले गर्ने हो, कार्यसमितिले होइन । यो विषयमा म यति मात्र बोल्छु कि निर्वाचनपछि अलि तगडै मान्छे नियुक्त हुन्छ । हामीभित्र पनि केही समस्या छ । राम्रो काम गर्ने सबैको चाहाना हुन्छ । राम्रो गर्न खोज्दा त्यसभित्र पनि केही सीमा हुन्छन् । तर तपाई मेरो कुरा विश्वास गर्नुहोस्, हामी सचिवलाय बलियोे बनाउँछौं, राम्रा मान्छे राख्छौ, विज्ञ समूह बनाउँछौं । सहि मान्छे भएपछि सहि काम हुन्छ । हाम्रो टिमले जितेपछि उद्योग वाणिज्य महासंघ दौडन्छ ।
हामी आयात ७७० अर्बको गर्छौ, निर्यात जम्मा ७० अर्बको छ । आज भन्दा २५ वर्षअघि हामी जीडीपीमा उद्योगको योगदान १६ प्रतिशत थियो, अहिले ५ प्रतिशतमा झरेको छ । २५ वर्षअघि हामी खाद्यन्नमा आत्मनिर्भर थियौं, अहिले २५÷३० अर्बको खाद्यन्य आयात गर्छौ । चाउचाउ र विस्कुट मात्र ७ अर्बको आयात हुन्छ । हामीले सरकारलाई बुझाउन जरुरी छ । उद्योग चलाउन शुरुमा गाह्रो पर्छ । तर पछि सबैलाई लाभ हुन्छ । रोजगारी पनि हुन्छ । राजश्व पनि हुन्छ ।
नेपालले खुला अर्थनीति लिएको तीन दशक बितिसक्यो । नेपाल उद्योग वाणिज्य महासंघ आज स्वर्ण जयन्ती मनाईरहेको छ । नेपालको अर्थतन्त्र परनिर्भर बन्नुमा निजी क्षेत्र दोषी छैन ?
जुन देशमा २६ वर्षदेखि राजनीतिक द्वन्द्व र संक्रमण चलिरहेको छ त्यो देशको आर्थिक विकास भएन भनेर निजी क्षेत्रलाई तपाई कसरी दोष लगाउनु हुन्छ ? धन्न नेपाली विर हुन् । देशभित्र र देश बाहिर गएर पनि संघर्ष गरिरहेका छन् । निजी क्षेत्रले प्रयास गरिरहेको छ । जुन देशमा ९ महिनाभन्दा लामो समय सरकार टिक्दैन, नीतिगत अस्थिरता छ, लगानीको वातावरण छैन, त्यो देशमा निजी क्षेत्रले धेरै गर्न सक्दैन ।
अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ७० प्रतिशत छ भन्ने, निजी क्षेत्रको नेतृत्व महासंघले गर्छ भन्ने तपाईहरुको तर्क छ । यति बलियो संस्थाले नीतिगत स्थायीत्व कायम गर्न किन काम गर्न सकेन ?
स्थिति अनुकुल भएन । सरकारहरु महासंघको नियन्त्रणमा हुँदैनन । ९÷९ महिनामा सरकार परिवर्तन हुन्छ भने महासंघले चाहेर मात्र नीतिगत स्थायीत्व हुँदैन । एउटा मन्त्रीले गरेको कुरा अर्को मन्त्रीलाई थाहा हुँदैन् । मन्त्रीहरुबीच समेत छलफल नै हुँदैन । महासंघको सुझाव सुनिएन । त्यसैले त हामी महासंघलाई बलियो बनाउने कुरा गर्दैछौं । हामी नेतृत्वमा पुगेपछि निजी क्षेत्रको कुरा सरकारले सुन्ने वातावरण बनाउँछौं ।
महासंघको मुख्य काम नीति निर्माणमा सरकारलाई सहयोग गर्नु हो । तर महासंघ र सरकारबीच नीतिगत द्वन्द्व हुने गरेको छ । राजश्व छलेको आशंकामा दोकानमा छापा मार्दा महासंघ त्यसको विरोध गर्दै विज्ञप्ती निकाल्छ । सुनमा मिसावट भयो, तौलमा ठगि भयो भन्ने उजुरी पछि सरकार जाँच गर्न जाँदा व्यवसायी बजार बन्द गरेर सडकमा आउँछन्, महासंघ व्यवसायीको पक्षमा हुन्छ । यस्तो किन हुन्छ ?
सरकारसँग अधिकार छ, गलत गर्नेलाई कारवाही पनि गर्नुपर्छ । तर सरकारको शैली ठिक भएन । ८÷१० वटा टेलिभिजन राखेर आक्रमण शैलीमा छापा पार्नु पनि भएन । कुनै पनि काम गर्दा भद्र तरिकाले गर्नु पर्छ । दोषी प्रमाणित हुन्छ वा हुँदैन, शुरुमै मान्छेको इज्जत प्रतिष्ठा गुम्नेगरी काम गर्नु भएन । सरकारले आफ्नो काम प्रक्रिया पुरा गरेर गर्दा हुन्छ । त्यसमा महासंघको विरोध हुँदैन । गलत गर्नेलाई सरकारले दण्ड जरिवाना गर्न सक्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.