२०७४ जेठ २८ गते १५:४२ विकासन्युज
काठमाडौं । यतिबेला नेपालमा केरुङ–काठमाडौं रेल मार्ग निर्माणको बहस उत्कर्षमा छ । रसुवागढीबाट काठमाडौं हुँदै बिरगञ्ज पुग्ने रेलबाट नेपालले भन्दा पनि अधिक लाभ भारतलाई हुने देखिएको छ । स्वंय विज्ञहरुले नै केरुङ-काठमाडौं-बिरगञ्ज रेल मार्गले भारतलाई चीन हुँदै विश्व बजारमा प्रवेश गराउने बताइरहेका छन् ।
‘केरुङबाट रसुवागढी हुँदै काठमाडौं देखि बिरगञ्ज पुग्ने रेलले नेपाललाई त फाइदा गर्छ नै त्यो भन्दा धेरै भारतलाई फाइदा पुग्छ’, पुर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले विकासन्युजसँग भने । उनले भारतको बिहार, युपी र आसाम लगायतका प्रदेशहरुको चीन हुँदै युरोपसम्म सिधा सम्बन्ध स्थापित हुने र लगानी भित्र्याउन पनि सहज हुने बताए ।
उता, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाश उपाध्यायले पनि केरुङ–काठमाडौं–बिरगञ्ज रेल मार्गको सबै भन्दा धेरै लाभ भारतले उठाउने बताए । ‘अहिले भारतले चीनको कोर शहरसम्म पुग्न ६ हजार किलोमिटर दुरी पार गर्नु पर्छ तर केरुङ–काठमाडौं–बिरगञ्ज रेलले त्यो दुरीलाई २ हजार किलोमिटरमा झारिदिन्छ’, उपाध्यायले भने ।
उनले भारतलाई युरोपसँग जोड्ने छोटो मार्ग बन्नुका साथै आयात निर्यात लागत घटाउन पनि यो रेलमार्ग उपयुक्त हुने बताए । आर्थिक रुपले केरुङ–काठमाडौं–बिरगञ्ज रेलमार्ग भारतका लागि अधिक लाभ दायक भएपनि सुरक्षाका दृष्टिकोणले भने भारत शसंकित बनेको डा. आचार्यले बताए । ‘भारत र चिनले एक पटक युद्ध समेत लडिसकेका छन्, केरुङबाट काठमाडौं हुँदै बिरगञ्ज रेल पुग्दा भारतले आफ्नो सुरक्षामा खतरा उत्पन्न हुने सम्भावना देखेको छ’, डा. आचार्यले भने ।
सरकारले चालु आर्थिक बर्षको बजेटमै रसुवागढी–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि भन्दै १० करोड बजेट विनियोजन गरिएको थियो । रेल विभागले सम्भाव्यता अध्ययनका लागि भन्दै ग्लोबल टेण्डर आव्हानको अन्तिम तयारी गरिसकेको थियो । तर एकाएक चीन सरकारले केरुङ–काठमाडौं रेलमार्ग निर्माणमा सघाउने प्रतिवद्धता व्यक्त गरेपछि विभाग पछि हटेको छ । ‘हामीले सम्भाव्यता अध्ययनको सूचना निकाल्ने तयारी गरेका थियौं तर चीन सरकारले आफैंले बनाउन तत्परता देखाएपछि हामी रोकिएका हौं’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर उपाध्यायले भने ।
विभागले काठमाडौंदेखि बिरगञ्जसम्म विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौटका लागि भने ग्लोबल टेण्डर निकालेर पनि कम्पनी छनौटको चरणमा पुगिसकेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.