४५ करोड १९ लाख रुपैयाँको लागतमा धौलीगाड खानोपानी आयोजना निर्माण हुने

  २०७४ जेठ ३१ गते १५:१५     विकासन्युज

जुम्ला । कर्णालीकै गौरवको आयोजना मानिने “धौलीगाड खानेपानी आयोजना” निर्माण हुने भएको छ । दुई वर्षअघि ड्रिम जिओ ल्याब कन्सल्टेन्सीद्वारा तयार गरिएको डिपिआर अनुसार ४५ करोड १९ लाख ८८ हजार ९२ रुपैयाँको लागतमा बन्ने सो आयोजनाकोे लागत पनि बढ्ने भएको छ । सो कन्सल्टेन्सीले तयार गरेको प्रतिवेदन मस्यौदामा पुनः सर्भेक्षण हुन लागेकाले लागत बढने भएको जिल्ला खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयका प्रमुख टङ्कबहादुर सोडारीले जानकारी दिए ।

“अब ल्यान्डेक्स भन्ने कन्सल्टेन्सीले आयोजनाको डिपिआर गर्दैछ । यसमा लागत बढेर आउने निश्चित भएकोले आगामी आर्थिक वर्षबाट काम सुरु हुनेपक्का भएको छ,” उनले भने । मुख्य आयोजना अन्तर्गत चन्दननाथ नगरपालिका-२,३ र ८ वडाका क्रमशः भण्डारीगाउँ, ढाणथपला-१ र ढाँणथपला- २ र कोटिलागाउँ खानेपानी तथा सरसफाइ उपआयोजनाको निर्माणकार्य सञ्चालन भइरहेको कार्यालय प्रमुख सेडारीले उल्लेख गरेका छन् ।

करिब रु ५० लाखको लागतमा निर्माण भएको भण्डारीगाउँ खानेपानी उपआयोजनामा ३८ हजार लिटर क्षमताको ट्याङ्की निर्माण भएको र कोटिला उपआयोजनाको निर्माणकार्य अन्तिमचरणमा पुगेको छ । गुठीचौर गाउँपालिका- ५ बिगारे खानेपानी तथा सरसफाइ उपआयोजना सुरु हुने तयारीमा कार्यालय प्रमुख सेडारीको भनाइ छ ।

यहाँस्थित सव-डिभिजन कार्यालयका सव-इञ्जिनियर लक्ष्मीबहादुर भण्डारीले ‘एक घर, एक धारा’ बाट भण्डारीगाउँका दुई सय घरधुरी लाभान्वित हुने जनाए । निर्माणाधिन ढाँणथपलाका दुई वटा उपआयोजनाको पाइपलाइन निर्माणका लागि ४३ लाख रुपैयाँ निकासा भइसकेको र एक लाख लिटर पानी क्षमताका लागि एकसय घनमिटरको ट्याङ्की बनाउन थप ३५ लाख लाग्ने सव-इञ्जिनियर भण्डारीले बताए ।

“तातोपानी र गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिका, धौलीगाड मुख्य खानोपानी आयोजना क्षेत्रभित्र पर्दछन् र यसबाट ४३ हजार ५५५ जना लाभान्वित हुने देखिन्छ,” उनले भने । पछिल्लो समयमा उपआयोजनाबाट निर्माणकार्य सुरु गरिएकाले आयोजनाको काममा तीव्र भएको र प्रगतिपनि रामै्र देखिएको उहाँको भनाइ छ । रासस