२०७४ असार ३ गते ७:३२ विकासन्युज
धनगढी। थरूहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको आरोपितलाई सरकारले क्षतिपूर्ति रकम बाँढेको छ।
राज्यकाेषबाट १ कराेड ७४ लाख पाउने तर फरार अभियुत्त रेशम चाैधरी
प्रहरीको फरार सूचिमा रहेका रेशम चौधरीले सरकारले घटनाका पीडित भन्दै १ करोड ७४ लाख क्षतीपूर्ती उपलब्ध गराएको हो।
यसैगरी सासंद जनक चौधरीले पनि ५० लाख १२ हजार ८ सय पाएका छन्। मन्त्रिपरिषदले विशेष निर्णय गरेर राहात दिइएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए।
यसैगरी हाडवेयर पसल तोडफोड भएका प्रदिप चौधरीले १ करोड ३९ लाख र काठको फर्निचरको पसल तोडफोड भएका शिव नारायण चौधरीले १ करोड ५० लाख राहात पाएका छन्। रेशम चौधरीको राहात बुझ्न उनको वुवा लालबिर चौधरी आएका थिए।
नजिकको हकवाला भनेर लालबिर चौधरीकै नाममा एकाउण्ट पे चेक उपलब्ध गराएको प्रजिअ रिजालले बताए। चौधरीको फूलबारी एफएम र फूलबारी रिसोर्टमा तोडफोड भएको थियो । टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी प्रहरीको फरार सुचीमा छन्। उनी बिरुद्ध एस एस पी लगायत ९ जनाको हत्या गराएको अभियोगमा जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्दा दर्ता गराइएको छ।
इलाका प्रशासन कार्यालय टीकापुरमा पीडितलाई बोलाएर शुक्रबार राहात बितरण गरिएको हो। ८८ जना पीडित मध्ये ४० जनालाई राहात बितरण गरि सकिएको प्रजिअ रिजालले बताए। वाँकी शनिवार बितरण गरिने उनको भनाई छ।
८८ जनालाई १० करोड ७३ लाख रुपैया क्षतिपूर्ति वितरण गर्न लागिएको उनले बताए । ‘ प्रतिव्यक्ति ७ हजार २ सय देखि १ करोड ७४ लाखसम्म राहात उपलब्ध गराएका छौं’ रिजालले भने।
थरुहट आन्दोलनका क्रममा टीकापुरमा २०७२ भदौ ७ गते भएको घटनामा तत्कालिन सेती अञ्चल प्रहरी प्रमुख लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए। आन्दोलनकारीबाट प्रहरीको निर्मम हत्या भएको थियो भने नाबालकलाई गोली हानेर हत्या गरिएको थियो। नागरिक दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.