२०७४ असार ८ गते ९:१७ विकासन्युज
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले व्यवसाय प्रवद्र्धनका लागि टेलिभिजन विज्ञापन सामाग्री सार्वजनिक गरेको छ । विज्ञापन सामाग्रीमा महजोडी कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यका साथ साथै दीपकराज गिरी र दीपाश्री निरौलाको अभिनय रहेको छ । उक्त प्रवद्र्धनात्मक भिडियोको निर्देशनतथा परिकल्पना दिनेश डीसीले गरेका हुन् । बालकलाकार अनुरोध अधिकारी, निमिशा ढकाल, शैबी ढकाल र सफल झाको प्रस्तुती रहेको विज्ञापन सामाग्री बुधबार चन्द्रागिरिमा आयोजित एक औपचारिक समारोहकाबीच चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष, संचालकहरु र कलाकारहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
उक्त कार्यक्रममा चन्द्रागिरि हिल्स एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालका ख्याती प्राप्त चार कलाकारहरुको अभिनय रहेको विज्ञापन भिडियो बनाउन पाउदा खुशी लागेको बताए । कम्पनीका संचालक मिनबहादुर गुरुङ्गले चन्द्रागिरि हिल्स लिमिटेडले पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेलेको धारणा व्यक्त गरेका छन् । संचालक हेमराज ढकालले कुलग्राहस्थ उत्पादनमा करिव ३ प्रतिशतमात्र योगदान पुर्याउँदै आएको पर्यटन क्षेत्रको योगदान बढाउन केबलकार सहित निर्माण भएको चन्द्रागिरि हिल्स परियोजनाले पनि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । संचालक अम्बिका प्रसाद पौडेलले चन्द्रागिरिको धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको विषयमा प्रकाश पारेका छन् ।
विज्ञापन भिडियोमा अभिनय गरेका कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले नेपालको प्रतिष्ठित व्यवसायिक समूहले ऐतिहासिक, धार्मिक र पर्यटकिय स्थलको प्रर्वद्धन गर्न गरेको प्रयासमा आफुहरुले अभिनय गर्न पाउदा खुसि लागेको बताए । कलाकार दिपकराज गिरि र दिपाश्री निरौलाले चन्द्रगिरि हिल्सको स्थापनाले चन्द्रागिरिको स्थानीय आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । (भिडियो हेर्न यसमा क्लिक गर्नुहोस्)
चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.