यूनियन फाइनान्सका मालिकको सेयर आधा घट्ने, १०० कित्ता सेयर हुनेले देवः विकास बैंकको ५० कित्ता पाउने

  २०७४ असार १४ गते ९:५९     विकासन्युज

काठमाडौं । देवः विकास बैंकमा गाभिन लागेको यूनियन फाइनान्सका सेयरधनीले आफ्नो सेयर संख्यामा ५० प्रतिशत घुमाउने भएका छन् । मर्जपछि यूनियन फाइनान्सको १०० कित्ता सेयर हुनेले देवः विकास बैंकको ५० कित्ता पाउने भएका छन् ।
दुई संस्थाबीच मर्जको क्रममा सेयर मिलान अनुपान (स्वाप रेसियो) यूनियन फाइनान्सको १ कित्ता बराबर देबः विकास बैंकको शुन्य दशमलव ५० प्रतिशत निर्धारण गरिएको छ । दुबै कम्पनीको डीडीए रिपोर्टका आधारमा देवको भन्दा यूनियनको सेयर भ्यालु ५० प्रतिशत कम देखिएको हो ।

हाल देवः विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २७५ रुपैयाँ छ भने यूनियन फाइनान्सको सेयर मूल्य मर्ज प्रक्रिया शुरु हुनुपूर्व १७५ रुपैयाँका कारोबार भएको थियो ।

स्वाप रेसियो अनुमोदन, डीडीए रिपोर्ट र मर्ज सम्बन्धि सबै निर्णय र प्रक्रिया पुरा गर्ने प्रस्तावहरुसहित देव विकास बैंकले असार २९ गते विशेष साधारणसभा बोलाएको छ । बैंकले मर्जपछि १०० बराबर ४० अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि विशेष साधारणसभामा पेस गर्ने भएको छ ।

मर्ज र हकप्रद सेयर पछि चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुने बैंकले जनाएको छ । हाल देव विकास बैंकको चुक्ता पुँजी १४४ करोड रुपैयाँ छ । यूनियन फाइनान्सको चुक्ता पुँजी १७ करोड ४९ लाख रुपैयाँ छ ।

मर्जपछि देव विकास बैंकको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ हुनेछ । हकप्रद सेयरबाट बैंकले थप ६१ करोड रुपैयाँ पुँजी थप्ने भएको छ भने बोनस सेयरबाट करिव ३६ करोड रुपैयाँ पुँजी थप गर्न सक्ने देखिएको छ ।