२०७४ असार १५ गते १६:५४ विकासन्युज
काठमाडौं । महालक्ष्मी विकास बैंक र यती डेभलपमेन्ट बैंकबीच मर्जर (एक आपसमा गाभ्ने गाभिने) प्रक्रिया सम्पन्न भएको छ । मर्जपछि दुर्इ बैंककाे एकिकृत कारोबार असार १८ गते हुने बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टरार्इले जनाएका छन् ।
यस मर्जको लागि नेपाल राष्ट्र बैंकबाट असार १ गते अन्तिम स्वीकृति दिईसकेको छ । मर्जपछि बन्ने बैंकको नाम महालक्ष्मी विकास बैंक रहनेछ । मर्जको लागि डाटा एकिकृत गर्न शुक्रबार यस बैंकको सबै कारोबार बन्द हुने भएको छ ।
मर्जपछि महालक्ष्मी विकास बैंक सबैभन्दा ठूलो विकास बैंक बन्न पुगेको प्रमुख कार्यकारी अधिकृत भट्टराईले बताए । बैंकको चुक्ता पुँजी, निक्षेप, कर्जा, शाखा संख्या, कर्मचारी संख्या, ग्राहक संख्याको हिसावले अहिले नैं सबैभन्दा ठूलो बैंक भएको र असार मसान्तसम्म नाफाको आधारमा पनि विकास बैंक मध्ये सबैभन्दा अगाडि हुने उनले बताए ।
प्रमुख कार्यकारी अधिकृत भट्टराईका अनुसार मर्जपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ भएको छ । ‘राष्ट्र बैंकले तोकेको समय अगाडि नै २५० करोड भन्दा बढी चुक्ता पुँजी पुर्याउने महालक्ष्मी विकास बैंक पहिलो हो’ भट्टराईले भने–‘विकास बैंकबीचमा प्रतिस्पर्धामा हामी अब अरु भन्दा अगाडि जाने आधारहरु तयार भएका छन् ।’
मर्जसँगै महालक्ष्मी विकास बैंकको निक्षेप २४ अर्ब २१ करोड, कर्जा २० अर्ब २६ करोड रुपैयाँ भएको छ । बैंकको शाखा ६५ वटा र कर्मचारी ६१९ जना, ग्राहक २ लाख ६४ हजार भएका छन् ।
असार मसान्तसम्ममा सञ्चालन नाफा १०० करोड भन्दा बढी हुने र खुद नाफा ६५ देखि ७० करोड रुपैयाँ हुने अनुमान गरिएको उनले बताए । ‘सञ्चालन नाफाको आधारमा यो वर्ष नै हामी विलिनियर क्लवमा पुग्नेछौं । आगामी आर्थिक वर्षमा खुद नाफा १०० करोड भन्दा बढी आर्जन गर्ने लक्ष्य लिएका छौं’ भट्टराईले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.