२०७४ असार २६ गते १३:१७ विकासन्युज
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरी एकिकृत कारोबार शुरु गरेको छ । आइतबार अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संयुक्त कारोबार सञ्चालन शुभारम्भ समारोहको उद्घाटन गरेका थिए ।
यस प्राप्ती पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । साथै, कुल निक्षेप ९७ अर्ब ७० करोड रुपैयाँ र ८२ अर्व रुपैयाँ परिचालन गरेको छ । एकिकृत कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले असार मसान्तसम्ममा निक्षेप १०० अर्ब नाघ्ने, कर्जा ८३ अर्ब भन्दा बढी हुने बताए । १० वटा बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेर बनेको ग्लोबल आइएमई बैंक अव निजी क्षेत्रको बैंक मध्ये दोस्रो ठूलो बैंक भएको उनले बताए ।
ग्लोबल आइएमईले रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गरेपछि आगामी दिनमा आफ्ना समस्त ग्राहकवर्गहरुलाई अझ बिस्तारित रुपमा गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने बिश्वास एंव प्रतिबद्धता व्यक्त गरेको छ । ग्लोबल आईएमईले यसअघि आईएमई फाइनान्सियल इन्स्टिच्युसन, लर्ड बुद्ध फाईनान्स, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक, कर्मज एण्ड ट्रष्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंकसंग सफल मर्जर तथा प्राप्ती गरिसकेको छ ।
मर्जपछि बैंकको शाखा ११२ वटा भएको, ४८ जिल्लामा नेटवर्क भएको, ७ लाख भन्दा गढी ग्राहक भएको उनले बताए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ग्लोवल आइएमइ बैंकले सरकार र राष्ट्र बैंकको नीतिलाई सहयोग गरेकोमा प्रशंशा गरे । उनले आफू निजी क्षेत्रको समस्या समाधान गर्न, लगानी मैत्री वातावरण बनाउन र ७.२ प्रतिशतको आर्थिक वृद्धिदर लक्ष्य प्राप्ति गर्न प्रतिवद्ध रहेको र काम गरेर देखाउने बताए ।
गभर्नर डा चिरञ्जीवित नेपालले हिजो सार्वजनिक भएको मौद्रिक नीतिको बचाउ गर्दै मुद्रास्फिति ७ प्रतिशतको सीमामा राख्न, उत्पादन मुलक क्षेत्रमा लगानी विस्तार गर्न, निजी क्षेत्रतर्फ २० प्रतिशत कर्जा प्रवाह गर्न, नीतिगत स्थायीत्व कायम राख्न मौद्रिक नीति केन्द्रत रहेको बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले मर्ज तथा एक्विजिशन नेपालले प्राप्त गरेको सफलता विश्वको लागि नजिर बन्दै गएको र यो राष्ट्रिय अजेण्डा सफल बनाउन सबैले सकारात्मक भूमिका खेल्नु पर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताको हितलाई नविर्सन राष्ट्र बैंकलाई सुझाव दिए । ‘राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणीको मात्र हित हेरेर हुँदैन, सर्वसाधारण लगानीकर्ताको हितमा पनि काम गर्नुपर्छ’ कार्कीले भने ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले सबै प्रकारको उद्योग व्यापार र सेवाका क्षेत्रको जोखिम वहन गर्ने क्षेत्र बीमा भएकोले यो क्षेत्रको विकास र विस्तारमा सहयोग गर्न सबैलाई आग्रह गरे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.