२०७४ साउन २० गते १७:०९ विकासन्युज
बर्दिया। सिँचाइमन्त्री सञ्जय गौतमले बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका लगायतका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरण गर्न बबई नदी नियन्त्रणको गुरुयोजना मार्फत अघि बढ्ने बताएका छन् ।
बबई सिँचाई आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले गुलरियाको भविष्य सुरक्षित गर्न त्यस्तो गुरुयोजना अघि बढाउने जानाए ।
बबई सिँचाइ आयोजनाको सानोश्री, ढोढरी, वैदीलगायतका क्षेत्रमा स्थलगत निरीक्षण गरेका मन्त्री गौतमले बाढीको जोखिममा रहेको बर्दियामा बाढी नियन्त्रणको प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले बबई सिँचाइको सबै कुरा बुझेरमात्र काम अघि बढाइने बताउँदै आयोजनाको सूक्ष्म अध्ययनपश्चात् धेरै काम गर्ने स्पष्ट पारे। आफूले यो काम गर्छु भनेर भन्नुभन्दा पनि काम गरेर देखाउने छु, उनले भने।
आयोजनाको आरम्भकाल २०४५ सालदेखि हालसम्म ५० प्रतिशतमात्र काम सम्पन्न भएको छ । आयोजना अवधिमा १२ अर्ब ६७ करोड रूपैयाँ खर्च हुने अनुमानित लागतमध्ये हालसम्म रु ६ अरब ३ करोड रूपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.