२०७४ साउन २७ गते १३:४१ विकासन्युज
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले अविरल वर्षाका कारण सप्तरीको राजविराज नगरपालिका-१५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँ पस्न थालेपछि उद्धार कार्य तीव्र पार्न निर्देशन दिएका छन् । उनले आज बिहान सडक डिभिजन कार्यालय इटहरीबाट दुईवटा ठूला चेन डोजर त्यसतर्फ उद्धारका लागि पठाउन निर्देशन दिएका गृहमन्त्री शर्माका प्रेस संयोजक लक्ष्मी पुनले जानकारी दिए ।
बाढीका कारण खाडो नदीले बहाव परिवर्तन गरेपछि त्यहाँ रहेको बाँध भत्किने सम्भावना भएकाले नदीलाई पुरानै धारमा फर्काउन चेन डोजर त्यसतर्फ लागिएको हो । प्रहरी नायब उपरीक्षक यादवराज उप्रेती र नेपाली सेनाका मेजर दिपेश राना मगरको नेतृत्वमा प्रहरी, सेना र सशस्त्र प्रहरीका जवान उद्धारमा खटेका छन् । बुधबार रातिदेखिको साउने झरीले खाडो खोलामा बाढी आएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालका अनुसार बाढीका कारण एकजनाको मृत्यु भएको छ । जिल्लाकै तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेडियामा पनि डुबानको समस्या आएपछि त्यहाँ पनि उद्धार कार्य जारी रहेको उनले बताए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.